शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जसपाका मन्त्रीको जीवनी : पूर्वप्रधानपञ्चदेखि बद्री मण्डल र विजय गच्छदारका कार्यकर्तासम्म !

शनिबार, २२ जेठ २०७८, ११ : ५३
शनिबार, २२ जेठ २०७८

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारमा जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर समूहबाट शुक्रबार १० जना सामेल भएका छन् । तीमध्ये आठ मन्त्री र दुई राज्यमन्त्री छन् । सरकारमा सामेल भएकामध्ये कतिपयसँग विगतमा पटक–पटक विभिन्न मन्त्रालय सम्हालेको अनुभव छ भने केही नयाँ अनुहार, जसलाई आम मानिसहरुले खासै चिनेका छैनन् ।

ओली सरकारमा सहभागीमध्ये राजेन्द्र महतोले उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । विदेश सम्बन्धमा महत्वपूर्ण मानिने परराष्ट्र मन्त्रालयको जिम्मेवारी चाहिँ रघुवीर महासेठले पाएका छन् । प्रदीप ज्ञवालीलाई हटाएर महासेठलाई परराष्ट्रमन्त्री बनाइएको हो ।

त्यसैगरी शरतसिंह भण्डारी उर्जामन्त्री बनेका छन् । अनिल झाले खानेपानी मन्त्रालयको जिम्मा पाएका छन् । प्रम आलेलाई वम मन्त्रीबाट हटाएर उमाशंकर अरगरियालाई ल्याइएको छ ।  डा. शविमाया तुम्बाहाम्फेलाई हटाएर भूमि व्यवस्था मन्त्रीमा लक्ष्मणलाल कर्णलाई ल्याइएको छ ।

चन्दा चौधरीलाई महिला मन्त्री बनाइएको छ भने विमल श्रीवास्तवलाई श्रम तथा रोजगार मन्त्री र एकवाल मियाँलाई युवा तथा खेलकूदमन्त्री बनाइएको छ । चन्द्रकान्त चौधरी र रेनुका गुरुङ जसपाका तर्फबाट राज्यमन्त्री बनेका छन् ।   

प्रस्तुत छ, जसपाका मन्त्रीहरुको राजनीतिक पृष्ठभूमि

राजेन्द्र महतो, उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री

२०६८ सालमा डा.बाबुराम भट्टराई नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका राजेन्द्र महतो त्यसयता सरकारमा सहभागी भएका थिएनन् । निरन्तर मधेस आन्दोलनमा लागेका उनी सद्भावना पार्टीमार्फत नेपालको राजनीतिमा स्थापित भएका हुन् ।

स्व.गजेन्द्रनाराय सिंह संस्थापक रहेको नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका उनले सो पार्टी विभाजन गरेर सद्भावना पार्टी बनाएका थिए । सद्भावना पार्टीसहित ६ दल मिलेर राष्ट्रिय जनता पार्टी गठन भयो । एक वर्षअघि राजपा र समाजवादी पार्टीबीच एकीकरण भई जसपा नेपाल गठन भएपछि उनी सो पार्टीका वरिष्ठ नेता बने । जसपाका अध्यक्ष उपेन्द्र यादवले हाल उनलाई पार्टीबाट निष्काशन गरेका छन् । तर, सो सम्बन्धी विवाद निर्वाचन आयोगमा विचाराधीन छ ।

सर्लाहीको बबरगंजमा २०१५ मंसिर ४ गते जन्मिएका महतोले मानविकी संकाय र कानुन विषयबाट स्नातकोत्तर गरेका छन् । काठमाडौंमा रहेर व्यापार गरिरहेकै अवस्थामा गजेन्द्रनारायण सिंहसँगको सम्पर्कपछि उनले राजनीतिमा पाइला टेके । नेपाल सद्भावना पार्टीमा सक्रिय भएपछि उनी दुईपटक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र एकपटक स्वास्थ्य मन्त्री बने ।

२०४८ र २०५१ सालको निर्वाचनमा सर्लाही–२ बाट उम्मेदवारी दिएका महतो दुवै पटक पराजित भए । २०५६ सालमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई पराजित गर्दै सोही निर्वाचन क्षेत्रबाट उनी प्रतिनिधिसभा सदस्य बने । त्यसपछि पहिलो संविधानसभा चुनाव जितेका राजेन्द्र महतो दोस्रो संविधानसभा चुनावमा भने पराजित भए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई पराजित गर्दै धनुषाबाट विजयी भए ।

ओली नेतृत्वको सरकारमा महतोले उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मौका पाएका छन् । विगतमा केपी ओलीको खरो आलोचक रहेका उनी यतिबेला केपी ओलीको सारथी बन्न पुगेका छन् ।

शरतसिंह भण्डारी, मन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाई

पहिलो संविधानसभाको कार्यकालमा रक्षामन्त्री बनेका शरतसिंह भण्डारी नेपाली सेनामा मधेसी समुदायलाई समूहगत प्रवेश नगराए देश विखण्डन हुने अभिव्यक्ति दिएका कारण विवादमा आएपछि राजीनामा दिन बाध्य भएका थिए । त्यतिबेला उनी विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा थिए ।

मन्त्री पदबाट राजीनामा दिएसँगै भण्डारीले आफ्नै नेतृत्वमा राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गरे । राष्ट्रिय मधेस समाजवादी पार्टीसहित ६ दल मिलेर राजपा नेपाल बनेपछि भण्डारी सो पार्टीका अध्यक्ष मण्डलका सदस्य भए । राजपा र समाजवादी पार्टीबीच एकीकरण भएर जसपा बनेपछि उनी सो पार्टीका कार्यकारिणी सदस्य भए ।

२०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा सक्रिय भएर लागेका भण्डारीको राजनीतिक पृष्ठभूमि नेपाली काँग्रेससँग जोडिएको छ । जनआन्दोलन–२ पछि बनेको अन्तरिम संसदमा नेपाली काँग्रेसबाट सांसद रहेकै बेला उनी सो पार्टी त्यागेर मधेसवादी राजनीतिमा केन्द्रित भए ।

मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका उनी विजयकुमार गच्छदारसँगै फोरमबाट बाहिरिएर मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा सामेल भए । पछि गच्छदारलाई छाडेर उनले आफ्नै नेतृत्वमा पार्टी गठन गरे । दोस्रो संविधानसभा निर्वाचनमा उनी दुईवटा निर्वाचन क्षेत्रबाट पराजित हुनुप¥यो ।

पञ्चायतकालदेखि नै पटक–पटक मन्त्री बन्दै आएका भण्डारी मधेस केन्द्रित राजनीतिमा आएपछि भने दोस्रोपटक मन्त्री बनेका हुन् । वर्तमान सरकारमा उनले ऊर्जा, जलस्रोत तथा सिँचार्ई मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

अनिल झा (मन्त्री, खानेपानी)

स्वर्गीय गजेन्द्रनाराण सिंहका अनुयायी अनिलकुमार झा नेपाल सद्भावना पार्टी गठन भएदेखि नै विद्यार्थीकालबाटै राजनीतिक यात्रामा सक्रिय थिए । २०४७ साउन २७ गते नेपाल सद्भावना विद्यार्थी मञ्च, काठमाडौं उपत्यका समितिको संयोजक भएर राजनीतिक यात्रा सुरु गरेका उनी २०५२ सालमा नेपाल सद्भावना पार्टी नेपालको केन्द्रीय सदस्य बने । त्यसपछि विभिन्न जिम्मेवारी सम्हाल्दै उनी पार्टीको महासचिवसम्म भए । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा पनि उनी महासचिव नै थिए । तर, महतोसँगको सम्बन्ध बिग्रिएपछि उनले आफ्नै नेतृत्वमा संघीय सद्भावना पार्टी गठन गरेका थिए । लगत्तै उनी उद्योग मन्त्री पनि बने ।

उनले सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टी र आफ्नो पार्टीबीच एकीकरण गराए । एकीकृत पार्टीको नाम नेपाल सद्भावना पार्टी नै रह्यो । गजेन्द्रनारायण सिंह नेतृत्वको सद्भावना पार्टीको चुनाव चिह्न पञ्जा छाप उनले नै हासिल गर्दै आएका थिए ।

मधेसवादी ६ दल मिलेर राजपा नेपाल गठन भएपछि झा सो पार्टीको अध्यक्ष मण्डलका सदस्य भए । समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भए पनि उनी त्यो एकीकरणको पक्षमा थिएनन् तर बहुमतको निर्णयलाई स्वीकार गर्दै उनी जसपा नेपालमा सामेल भए ।

उनी जसपा नेपालको कार्यकारिणी सदस्यका रुपमा क्रियाशील रहेकै अवस्थामा अध्यक्ष उपेन्द्र यादवले कारवाही गरेका छन् । यद्यपि कारवाहीसम्बन्धी विवाद निर्वाचन आयोगमा विचाराधीन छ ।

बिमल श्रीवास्तव (मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा)

विमल श्रीवास्तव पञ्चायतकालदेखि बहुदलसम्म साविकको वीरगन्ज नगरपालिकामा तीन पटक मेयर बन्न सफल भएका थिए । दुईपटक पञ्चायतकालमा र एकपटक बहुदलमा उनी मेयर बनेका थिए । उनी २०७३ सालको स्थानीय तहको चुनावमा पनि मेयरमै चुनाव लडेका थिए तर पराजित भए ।

त्यसपछि उनी संघीय समाजवादी फोम नेपालमा प्रवेश गरेर पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका सदस्यमा विजयी भए । राजनीतिक यात्राका क्रममा उनी विभिन्न कालखण्डमा विभिन्न दलमा आवद्ध रहे ।

उनको राजनीतिक यात्रा राप्रपाबाट सुरु भएको थियो । त्यसपछि उनी काँग्रेसमा प्रवेश गरे । काँग्रेसबाट एमालेमा प्रवेश गरेका उनी एमाले पनि छाडेर केही समय स्वतन्त्र समूहमा रहे । सो समूह पनि छाडेर उनी महन्थ ठाकुर नेतृत्वको तमलोपामा प्रवेश गरेका थिए । तमलोपा छाडेर उनी विजयकुमार गच्छदार नेतृतवको फोरम लोकतान्त्रिकमा प्रवेश गरे । सोही पार्टीबाट पछिल्लो स्थानीय तहमा उनी चुनावमा भाग थिए पनि पराजित भएका थिए । त्यसपछि उनी उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीमा प्रवेश गरेर प्रतिनिधिसभा चुनावमा विजयी भए ।

उनी पछिल्लो समय उपेन्द्र यादवको साथ छाडेर महन्थ ठाकुरको पक्षमा लागेका थिए । ठाकुर पक्षमै लागेका कारण उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न सफल भएका हुन् ।

उमाशंकर अरगरिया (पर्यटनमन्त्री )

नेपाली काँग्रेसको राजनीतिक पृष्ठभूमि भएका उमाशंकर अरगरिया पहिलो मधेस आन्दोलन हुँदा काँग्रेस छाडेर मधेसी जनअधिकार फोरम नेपालका प्रवेश गरेका थिए । विजयकुमार गच्छदारले फोरम नेपाल विभाजन गर्दा अरगरिया गच्छदारको साथमा थिए ।

गच्छदारको पार्टीबाट प्रदेश अध्यक्ष तथा विदेश विभाग प्रमुख भइसकेका अरगरिया गच्छदारले काँग्रेससँग पार्टी एकीकरण गरेपछि पुनः संघीय समाजवादी पार्टी नेपालमै फर्केका थिए । सोही पार्टीबाट धनुषा–२ बाट प्रतिनिधिसभा चुनाव जितेका अरगरिया उपेन्द्र यादवको पक्ष छाडेर महन्थ ठाकुरको पक्षमा लागेका हुन् । महन्थ ठाकुरको पक्षमा लागेकै कारण उनले सरकारमा सहभागी हुने मौका पाएका हुन् । वर्तमान सरकारमा उनले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

लक्ष्मणलाल कर्ण (मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण)

निवर्तमान सांसद लक्ष्मणलाल कर्ण पेसाले कानुन व्यवसायी हुन् । राजनीतिमा आउनुअघिसम्म उनी वीरगञ्जमा ल फर्म सञ्चालन गरेर बसेका थिए ।

उनको राजनीतिक पृष्ठभूमि काँग्रेससँग जोडिए पनि कहिल्यै कुनै पदमा रहेनन् । २०४२ सालमा रामजनम तिवारीले हर्क गुरुङको प्रतिवेदनप्रति संगठित रुपमा विरोध जनाउन सद्भावना परिषद् गठन गर्दा उनी सचिव भएका थिए । त्यसपछि उनले निरन्तर नेपाल सद्भावना पार्टीमा आवद्ध भएर काम गर्न थालेका थिए । नेपाल सद्भावना पार्टी गठन भएपछि कर्ण बुद्धिजीवी मञ्चका सदस्य भए । त्यसको एक वर्षपछि उनी नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य भए । २०५२ सालमा उनी पार्टीको उपाध्यक्ष भए ।

गजेन्द्रनारायण सिंहको निधनपछि पार्टीको कार्यवाहक अध्यक्ष बद्री मण्डल भए । मण्डल राजाको सक्रिय शासनमा सरकारमा समेत सामेल भए । जनआन्दोलन सुरु भएपछि बद्री मण्डलले अध्यक्ष पदबाट आफै राजीनामा दिएका थिए । बद्री मण्डलको राजीनामापछि सर्वसम्मतिबाट कर्ण कार्यवाहक अध्यक्ष भएका थिए । कर्णले नेपाल सद्भावना पार्टी र नेपाल सद्भावना पार्टी (आनन्दी देवी) बीच एकीकरण गराए । उनी पार्टीका वरिष्ठ उपाध्यक्ष भए ।

त्यसपछि नेपाल सद्भावना पार्टी विभाजन गरेर राजेन्द्र महतोले सद्भावना पार्टी बनाउँदा कर्णले साथ दिएका थिए । सद्भावना पार्टीमा रहेका बेला उनी पहिलो संविधानसभा कार्यकालमा एकपटक विनाविभागीय मन्त्री भए । त्यसपछि उनी कहिल्यै सरकारमा सामेल भएनन् । वौद्धिक नेताका रुपमा चिनिएका कर्ण जसपा नेपालका कार्यकारिणी सदस्य हुन् ।

चन्दा चौधरी (मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक)

चन्दा चौधरी एक रुपैयाँ शुल्क तिरेर २०६३ सालमा नेपाल सद्भावना पार्टीको सदस्य भएकी थिइन् । उनी राजनीतिका साथसाथ समाजसेवामा पनि सक्रिय छिन् । नेपाल सद्भावना पार्टीमा हुँदा सामाजिक कार्यक्रममा बढी समय दिन थालेपछि पार्टीमा उनको सक्रियता कम भएको थियो ।

महन्थ ठाकुरको नेतृत्वमा तमलोपा गठन भएपछि उनी सोही पार्टीमा सामेल भइन् । तमलोपाका १७ जना संस्थापकमध्ये चन्दा चौधरी पनि एक हुन् । तमलोपाको केन्द्रीय सदस्य हुँदै उनी २०६५ साउन २२ गते पार्टीको महिला संघको अध्यक्ष बनिन् ।

तमलोपाको तर्फबाट मधेस आन्दोलनमा सक्रिय रहेकी उनी पहिलो सविधानसभा चुनावपछि माधव नेपालको नेतृत्वमा बनेको सरकारमा युवा तथा खेलकुद सहायक मन्त्री बनिन् ।

जसपा नेपालकी कार्यकारिणी सदस्य समेत रहेकी उनले वर्तमान सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् ।

एकबाल मियाँ (मन्त्री, युवा तथा खेलकुद)

 

बारा घर भएका एकवाल मियाँको पारिवारिक राजनीतिक पृष्ठभूमि कम्युनिस्ट हो । अर्थात् उनी र उनका परिवारका सदस्य कम्युनिस्ट पार्टीका मतदाता थिए । यद्यपि सक्रिय राजनीतिमा भने थिएनन् ।

एकवाल मियाँ सामाजिक संस्थामा समय दिन्थे । उनलाई राजनीतिसँग खासै सरोकार थिएन । स्थानीय तहको पछिल्लो निर्वाचनको समय क्षेत्र निर्धारणका लागि आन्दोलन हुँदा विस्तारै विस्तारै उनी सडकमा देखिन थालेका थिए । २०७४ सालमा उनलाई महन्थ ठाकुरले तमलोपामा प्रवेश गराएका थिए । यद्यपि उनी राजनीतिमा सक्रिय थिएनन् । तर, प्रतिनिधिसभा चुनावमा बारा क्षेत्र नम्बर २ का उम्मेदवार जितेन्द्र सोनल प्रवेशसभाका लागि उम्मेदवार हुने भएपछि प्रतिनिधिसभातर्फ पार्टीको उम्मेदवारको अभाव खट्कियो । जितेन्द्र सोनलले नै उनलाई जवर्जस्ती उम्मेदवार बनाएर चुनाव लड्न लगाएका थिए र, उनी विजयीसमेत भए ।

एमएसम्म अध्ययन गरेका मियाँ अहिले जसपा नेपालका केन्द्रीय सदस्य हुन् । उनले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनी पहिलोपटक सरकारमा सामेल भएका हुन् ।

चन्द्रकान्त चौधरी (राज्यमन्त्री, जलस्रोत तथा सिँचाई)

७५ वर्षीय चन्द्रकान्त चौधरी २०१८ सालदेखि २०४० सालसम्म लगातार गाउँ पञ्चायतमा प्रधानपञ्च रहे । २०४६ को आन्दोलनपछि उनी काँग्रेसमा प्रवेश गरे । काँग्रेसबाट पनि उनी स्थानीय तहमै राजनीतिमा सक्रिय रहे र निर्वाचनमा विजयी हुँदै आए । पछिल्लो स्थानीय चुनावमा काँग्रेसले मेयरको टिकट नदिएपछि उनी राजपा नेपालमा प्रवेश गरेका थिए ।

उनी सप्तरी–३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भए । उनी अहिले जसपा नेपालका कार्यकारिणी सदस्य हुन् । उनले जलस्रोत तथा सिँचाई मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

रेणुका गुरुङ (राज्य मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक)

रेणुका गुरुङ पेशाले शिक्षिका तथा समाजसेवी हुन् । उनको जन्मथलो खोटाङ भए पनि कर्मक्षेत्र विराटनगर हो । विराटनगरमा सामाजिक क्षेत्रमा सक्रिय उनी सेनामा कार्यरत श्रीमानसँगै काठमाडौं आएपछि भने शिक्षिका भएर काम गर्न थालिन् । साथमा सामाजिक कामलाई पनि उनले निरन्तरता दिइन् ।

विस्तारै उनी तत्कालीन संघीय समाजवादी फोरम नेपालसँग नजिकिइन् । पार्टीको काठमाडौ जिल्ला सदस्य हुँदै उनी केन्द्रसम्म पुगिन् । पछिल्लो प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फबाट विजयी भएकी उनले सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी छन् । राज्यमन्त्री गुरुङ यसअघि स्थानीय तहको उपमेयरमा पराजित उम्मेद्वार समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप