गाडीको कालो सिसा हटाउने विषयमा ट्राफिक प्रहरी र नाडाबिच यस्तो भयो सहमति
सारांश
- काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा प्रयोग गरिने कालो सिसा हटाउन थालेको छ।
- नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल र ट्राफिक प्रहरीबीच कालो सिसा हटाउने प्रक्रियामा सहकार्य गर्ने सहमति भएको छ।
- ट्राफिक प्रहरीले अबदेखि कालो सिसा भएका गाडी आयात नगर्न र खरिदकर्तालाई यसबारे जानकारी गराउन व्यवसायीहरूलाई निर्देशन दिएको छ।
काठमाडौँ । सवारी साधनमा प्रयोग गरिने कालो सिसा (ब्ल्याक फिल्म) का कारण आपराधिक क्रियाकलाप बढेको भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसलाई कडाइका साथ हटाउन थालेको छ। यसै सन्दर्भमा आज नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल र ट्राफिक प्रहरीबीच विस्तृत छलफल भएको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी कालो सिसा हटाउने प्रक्रियामा सहकार्य गर्ने प्रतिबद्धता जनाएको हो। छलफलका क्रममा ट्राफिक प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासमा समेत नभएको कालो सिसाको प्रयोगले सुरक्षा चुनौती थपेको बताए ।
सवारी व्यवस्थापन ऐन २०४९ को प्रावधान अनुसार गाडीको अगाडिको सिसामा कुनै पनि प्रकारको स्टिकर वा कालो रङ प्रयोग गर्न नपाइने स्पष्ट पार्दै उनले सवारी पैठारीकर्ताहरूलाई अबदेखि कालो सिसा भएका गाडी आयात नगर्न आग्रह गरे ।
विशेष परिस्थितिमा कालो सिसा प्रयोग गर्नुपर्ने भएमा सरकारको अनिवार्य अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको जानकारी दिँदै काफ्लेले अबका दिनमा गाडी खरिदकर्तालाई समेत यसबारे पहिल्यै जानकारी गराउन व्यवसायीहरूलाई निर्देशन दिए ।
छलफलमा नाडाका अध्यक्ष उप्रेतीले गाडीमा बाहिरबाट टाँसिएका कालो स्टिकर वा फिल्म हटाउन प्राविधिक रूपमा सहज रहेकाले सर्वप्रथम त्यस्ता फिल्म हटाउने प्रक्रियाबाट काम सुरु गर्न सुझाव दिए ।
यस्तै, नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले कम्पनीबाटै (मेनुफ्याक्चरिङ) सिसा कालो भएर आएका सवारी साधनको संख्या निकै कम रहेको र तिनीहरूलाई अर्को चरणमा पहिचान गरी व्यवस्थापन गर्न सकिने बताए ।
ट्राफिक प्रहरी कार्यालयको लिखित अनुरोधमा भएको उक्त छलफलमा नाडाका उपाध्यक्ष अभीक ज्योति लगायतको उपस्थिति थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण