बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ : मन्त्रालय बाँडफाँडको कुरा मिल्नासाथ मन्त्रिमण्डल विस्तार

सोमबार, २४ जेठ २०७८, १६ : ५४
सोमबार, २४ जेठ २०७८

 प्रदेश २ सरकारले जसपाको महन्थ पक्षका चार जना मन्त्रीलाई बर्खास्त गरेपछि मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको छ । त्यसका लागि जसपाको उपेन्द्र यादव पक्ष र काँग्रेसका नेताहरुबीच सोमबार छलफल भएपनि सहमति जुट्न नसकेपछि पुन: मुख्यमन्त्री राउतले नै काँग्रेस र माओवादीसँग छलफल गर्ने भएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले महन्थ पक्षका मन्त्रीलाई बर्खास्त गर्दै काँग्रेस र माओवादीलाई सरकारमा सहभागी गराएर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका हुन् । यसअघि मन्त्रालयको भागबण्डा मिलाउन मुख्यमन्त्री राउतका तर्फबाट सामाजिक विकासमन्त्री नवलकिशोर साह, उद्योग, वन पर्यटन तथा वातावरण मन्त्री रामनरेश राय र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह तथा काँग्रेसका तर्फबाट प्रमुख सचेतक उपेन्द्र कुशवाहा, सांसद शिवचन्द्र चौधरी र वीरेन्द्र सिंहबीच कुराकानी भएपनि कुरा मिल्न नसकेको बताएको छ ।

दुवै पक्षबीच भएको छलफलमा काँग्रेसले महत्वपूर्ण मन्त्रालय पाउनुपर्ने अडान राखेको बुझिएको छ ।

वार्ताका क्रममा काँग्रेसले भौतिक पूर्वाधार विकास, सामाजिक विकास मन्त्रालय लगायतका मन्त्रालय टुक्राएर भएपनि आफूहरूलाई दिनुपर्ने प्रस्ताव राखेको वार्तामा सहभागी एक सदस्यले बताए ।

काँग्रेसले आफुले मागेका मन्त्रालय नपाए सरकारमा सहभागी नहुने बरु बाहिरबाटै सहयोग गर्ने बताएपछि मुख्यमन्त्री लालबाबु राउत र काँग्रेस संसदीय दलका नेता राम सरोज यादव वीच सोमबार साँझ थप छलफल हुने भएको छ ।

मुख्यमन्त्री राउत काँग्रेसका साथै माओवादी केन्द्रलाई पनि सरकारमा सहभागी गराउने तयारीमा छन् । त्यसका लागि राउतले ३ वटा मन्त्रालय टुक्राउने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार तत्कालिन राजपाले पाएको सामाजिक विकास,उद्योग पर्यटन तथा वन र भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय समेत टुक्रयाउने तयारी छ ।

माओवादी केन्द्रलाई एक मन्त्री र एक राज्यमन्त्री दिने तथा काँग्रेसलाई दुई मन्त्री र दुई राज्यमन्त्री दिने मुख्यमन्त्री राउतको योजना छ ।

तर काँग्रेसले ३ मन्त्रालयसहित ६ जना मन्त्री र माओवादीले २ मन्त्रालयसहित ४ मन्त्री खोजेका स्रोतको भनाई छ । तर मन्त्रालय बाँडफाँडबारे औपचारिक कुराकानी नभएको  माओवादी केन्द्र प्रदेश २ का संसदीय दलका नेता भरतप्रसाद साहको भनाइ छ ।

‘हामीले अहिलेसम्म संख्या तोकेर मन्त्रालय माग गरेका छैनौँ । तर सरकारमा सहभागिताको लागि मुख्यमन्त्री लालबाबु राउतबाट प्रस्ताव आएको छ । यसमा हामी सकारात्मक पनि छौ’साहको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप