बारम्बार किन बिरामी परिरहन्छन् बालबालिका ?
सारांश
- बालबालिकामा प्रतिरक्षा प्रणालीमा कमी (इम्युन कमी) र बाथरोगको समस्या सचेतनाको कमीले गर्दा समयमा पत्ता लाग्न नसक्दा अंगभंग वा ज्यानसमेत जोखिममा पर्ने गरेको छ ।
- एलर्जी, बारम्बार संक्रमण हुनु, जोर्नी दुख्नु जस्ता लक्षण देखिएमा त्यसको मूल कारण प्रतिरक्षा प्रणालीको असन्तुलन वा कमी हुन सक्छ, जसको उचित निदान र उपचार आवश्यक छ ।
- नेपालमा बाल प्रतिरक्षा प्रणालीसम्बन्धी रोगहरू (इम्युनोलोजी) बारे जनचेतना र विशेषज्ञताको कमीले गर्दा लाक्षणिक उपचार मात्र हुने र मूल रोग पत्ता नलाग्ने समस्या छ ।
बालबालिकामा थाहै नपाइने गरी इम्युन कमी समस्या र बाथरोग झाँगिने गर्छ । तर हामीकहाँ सचेतना कमीले गर्दा अझै पनि यी रोग जनस्तरमा र चिकित्सक क्षेत्रमा नसोचिने, सबै समस्यालाई ‘भिटामिन डी कमी’ वा ‘युरिक एसिड ज्यादा’ जस्ता असान्दर्भिक कारण सोचेर दिग्भ्रमित दिशा समाउनाले अंगभंग हुन पुगेको पाइन्छ ।
इम्युन कमी रोग अधिकांश हुने भनेकै बालबालिका, किशोरकिशोरी र केही अंशमा कम उमेरका वयस्कमा हो । बाथरोगको कुरा गर्नुपर्दा नवजात शिशुदेखि कुनै पनि उमेरका बालबालिकामा पनि बाथ रोग हुन्छ र वयस्कमा भन्दा झनै गम्भीर र सघन उपचार चाहिने प्रकृतिको हुन्छ । समयमै उपचार गर्ने हो भने वृद्धि विकासमा प्रतिकूल प्रभाव पर्नबाट बचाउन र पूर्ण नियन्त्रणमा ल्याउन सकिने हुन्छ । विकसित देशमा यसबारे धेरै जनचेतना फैलिइसके पनि अविकसित र विकासोन्मुख देशमा भने यो रोग नै नसोचिने र पत्ता नलाग्ने समस्या छ, जसका कारण बालबालिकाको अंगभंग हुने र ज्यानै जानेसम्मको जोखिम हुन्छ ।
बालबालिकाहरू जन्मजात बाथ रोगबाट पनि पीडित हुन सक्छन् । हाम्रो समाजमा बाथ रोग भन्नेबित्तिक बुढेसकालको बिमार या जोर्नी सुन्निने मात्रको रोग तथा युरिक एसिड बढ्ने रोगमात्रै हो भनेर बुझिने दुःखद भ्रम छ । तर, वास्तविकतामा बाथरोग कुनै पनि अंग प्रभावित पार्ने खालको हुन्छ र अझ बच्चामा त जोर्नी प्रभाव नै नपार्ने बाथ बढी हुन्छन् । यतिमात्र होइन, बाल बाथरोग विविध प्रकारको गम्भीरता लिएर आउन सक्ने र कहिलेकाहीँ सघन या लामो समय रहने जटिलता लिएर आउन सक्ने रोगहरूको समूह हो ।
प्रतिरक्षा विज्ञान (इम्युनोलोजी अर्थात् इम्युनिटीसम्बन्धी साङ्गोपाँगो विज्ञान) भनेको एक विशाल विज्ञान हो । प्रतिरक्षा प्रणाली सञ्चालन गर्नका निम्ति शरीरमा विभिन्न कोष, अवयव, तीसम्बन्धी कण, परमाणु हुन्छन् । तिनीहरूले शरीरलाई बाह्य तथा आन्तरिक आक्रमणबाट बचाउन भूमिका खेल्छन् । यही प्रणालीमा आउने गडबडी नै इम्युनो रोग हुन् । यी अत्यधिक इम्युन प्रतिक्रियाबाट जन्मिने एलर्जी रोग या कम प्रतिक्रिया शक्ति बन्ने इम्युन कमी या असन्तुलित प्रतिक्रिया जनाउने बाथरोग आदि कुनै पनि हुन सक्छन् ।
प्रतिरक्षा प्रणालीले चाहिनेभन्दा बढी प्रतिक्रिया जनायो भने एलर्जीजस्ता समस्या देखिन्छन् । यस्तै, अर्को इम्युनो डेफिसियन्सी अर्थात् प्रतिरक्षा प्रणालीमा कमीका धेरैजसो रोगहरू जन्मजात हुने हुँदा यिनलाई ‘इन्बर्न एरर अफ इम्युनिटी’ या सामान्यतया इम्युनोडिफिसियान्सी भनिन्छ । अर्को बाथ रोग हो । प्रतिरक्षा प्रणालीमा आउने गम्भीर असन्तुलनले सिर्जना हुने विभिन्न आङ्गिक या प्रणालीगत रोगहरूको समूह नै बाथ हो ।
हामीलाई लाग्छ एलर्जी हुँदा छालामामात्र समस्या हुन्छ । तर, एलर्जी शरीरका विभिन्न अंगमा पनि हुन सक्छ । आँखामा हुने भर्नल कन्जक्टिभाइटिस, नाकमा हुने एलर्जीक राइनाइटिस, छातीमा हुने दम, छालामा हुने विभिन्न दाग, डर्माटाइटिस आदि एलर्जीकै रोग हुन् । देख्दा एलर्जी देखिएका रोगका पनि मूल कारण बाथ हुन् सक्छ या इम्युन कमीका इन्बर्न इरर अफ इम्युनिटी पनि हुन सक्छन् ।
एलर्जीसँगै अरू विभिन्न समस्या हुन सक्छन् । जस्तो कोष तथा छालामा गाँठागुँठीलगायतका समस्यासँग पनि एलर्जीको समस्या जोडिएर आउँछन् ।
तर कुनै पनि समस्या बारम्बार दोहोरिइरहन्छ र लामो समयसम्म रहिरहन्छ, या कुनै बच्चालाई पटक–पटक कान पाक्ने, निमोनिया या पिनास (साइनुसाइटिस) हुने, छाला या आन्तरिक अंगमा व्याक्टेरिया, भाइरस या ढुसी (फङ्गस) सङ्क्रमण, एलर्जी, गाँठागुठी हुने, कलेजो, फियो सुन्निने, प्लेटलेटको सङ्ख्या घट्ने या बढ्ने, राता या सेतो रक्तकोष घट्ने या बढ्ने या पटक–पटक कुनै अंगमा समस्या भइरहेको छ कारण थाहा छैन भने इम्युन रोगका कारण यस्तो भएको हुन सक्छ । यसका कारण ज्याने जाने जोखिम पनि हुन्छ ।
यस्तै, इम्युन असन्तुलनले जन्मिने र्युमाटोलोजीको समस्याका कारण जोर्नी सुन्निने, गाँठा आउने, कपाल झर्ने, मुखमा घाउ आउने, घाममा जाँदा रंग परिवर्तन हुने, औँलाका टुप्पाको छाला जाने, मुखभित्र अल्सर हुने, कलेजो, फोक्सो तथा फियोको आकार परिवर्तन हुने, सुन्निने, छारे रोगसँगै अन्य अंगका समस्या भेटिने, उठबस गाह्रो हुने, छालामा अनौठा घाउ देखिने, सन्चो नहुने दाग हुने, मिर्गौलामा विभिन्न प्रकारका समस्या जस्तो कि प्रोटिन बग्ने, प्रोटिनको कमी भएर सुन्निने, पिसाबमा रगत देखिनेजस्ता समस्या हुन सक्छन् ।
यस्तै, बच्चालाई पटक–पटक ज्वरो आउने ३–४ हप्तामा ज्वरो आउने, मासुमा गह्रोपन आउने, जिउ दुख्ने, कपाल कोर्न नसक्ने, हात उचाल्न नसक्ने, जस्ता समस्या बाथ रोग हुन् ।
हाम्रो समाजमा बच्चाले आफ्ना जिउ दुख्ने समस्या राख्दा उनीहरूलाई मनोविज्ञकहाँ पुर्याएर औषधी खुवाइएका उदाहरण पनि छन्, जुन सधैं सही नहुन सक्छ । दुई या दुईभन्दा बढी आङ्गिक या प्रणालीगत समस्या छ भने इम्युनोलोजिस्टकहाँ लैजानु पर्छ ।
यदि बच्चालाई लुपस छ भने कपाल झर्ने, मुखमा घाउ आउने, फोक्सोबाहिर पानी जम्ने, मिर्गौलामा समस्या आउन सक्नेजस्ता हुन सक्छ । यस्तोमा एक अंग विशेषको विज्ञ डाक्टरकहाँ जानु भयो र पुरै अंगको हिस्ट्री अर्थात इतिहास भनिएन भने भने त्यसबाहेकका समस्या समाधान नहुने त छ नै जरो कारण पत्ता पनि लाग्दैन र उपचार पनि हुन्न । समग्र उपचार अर्थात् वास्तविक समस्याको जरैदेखि समाधान गर्न युनोलोजिस्टकहाँ जानुपर्छ ।
सचेतना कम
इम्युनोलोजी चिकित्साविज्ञानको एक नवीन आयाम हो । हाम्रोजस्तो देशमा यसबारे सर्वसाधारण र चिकित्सकसमेतलाई पर्याप्त सचेतना छैन । पाठ्यक्रममै कुनै खास चासो छैन र यसको विकास तबसम्म हुँदैन, जबसम्म यसबारे सचेतना हुँदैन ।
यस्ता रोगको मूल कारण पत्ता नलगाएसम्म पूर्ण रूपमा उपचार हुँदैन । जस्तो ‘सीटीएलए–४ डिफिसियन्सी’ को समस्या हुँदा आँखाको युभिया सुन्निन सक्छ, हेपाटाइटिस हुन सक्छ, कोषको सङ्ख्यामा गडबडी हुन सक्छ, बच्चा बारम्बार बिरामी हुन सक्छ । तर उसमा सिर्फ युभियाको लागि ड्रपमात्रै दिइयो भने उसको उपचार हुन्न र हेपाटाईटिस अर्थात् कलेजो सुजनको मात्रै ध्यान दिइयो भने पनि पूर्ण चिकित्सा हुन्न र बच्चाको वास्तविक समस्या पत्ता लागेपछि मात्र सुधार सम्भव छ ।
त्यसैले लाक्षणिक उपचार गरेर इम्युन रोग निको हुँदैन । केही समयका लागि ढाडस दिनेमात्रै हो । ‘एआरपिसी–१बि डिफिसियन्सी’ कारण फोक्सो छाला, रक्तनली तथा कतिपय अन्य आन्तरिक अंगको सङ्क्रमण हुन्छ । एन्टिबायोटिक दिँदा तत्कालका लागि त्यो प्रत्यक्ष सङ्क्रमण त सन्चो हुन्छ, तर आधा एक या दुई महिनापछि फेरि समस्या आउँछ । कोषको सङ्ख्या असन्तुलित हुन्छ । त्यसलाई बढाउन केही समय स्टेरोइड दिइँदा केही राहत मिल्ला । तर, कारण पत्ता नलगाई दिइएको कुनै पनि औषधीले दीर्घकालीन रूपमा कहीँ गन्तव्यमा पुर्याउँदैन र फलतः उसको शारीरिक स्थिति फेरि बिग्रँदै जान्छ र समस्या पूर्ण रूपमा देखिन्छ । त्यसकारण कारण पत्ता नलगाएसम्म त्यो रोग पूर्ण रूपमा नियन्त्रण गर्न सकिन्न । सिबिसी, रक्त्कोष सङ्ख्या मापन तथा लिभर किड्नी फंक्सन टेस्टमात्र गरी बसेमा धेरै रोगको निदान हुनेछैन ।
उदाहरणका रूपमा एक बच्चामा जोर्नी सुन्निने समस्या थियो । त्यसका लागि उनलाई यति धेरै स्टेरोइड दिइएको थियो कि अनुहार फुलेर ठुलो भएको थियो । तौल पनि दोब्बर भएको थियो । हड्डी खोक्रिएका थिए र छालाका घाउहरूमा डर्माटाइटिसमा मलमहहरु प्रयोग गर्दा पनि सन्चो नभएको अवस्था थियो । उनलाई परीक्षण गर्दा ‘ब्लाउ सिन्ड्रोम’ भएको पत्ता लाग्यो । यसलाई सामान्य बायोलोजिक्स दिएर निको पार्न सकिन्छ । र, थोरै महँगो छ । तर जबसम्म यो समस्या भएको थाहा पाउन सक्नुहुन्न, सम्बन्धित बायोलोजिक औषधि चलाउन सक्नुहुन्न र औषधि नदिएसम्म पूर्णतया उपचार हुँदैन । रोग पालेर बस्नेछ बच्चा ।
यस्ता रोगमा कतिपय अवस्थामा बोनम्यारो प्रत्यारोपण गर्नुपर्छ । नत्रभने अंगभग हुने, आङ्गिक समस्या आउने या ज्यान जाने सम्मका समस्या आउँछन् । धेरैजसो बाथ रोगले अंगभंंग गराउँछन् ।
इम्युन रोग वंशाणुगत हुन् ?
इम्युन कमीका ८० प्रतिशत समस्या जन्मजात हुन्छन्, जसलाई ‘इन्बर्न इरर अफ इम्युनिटी’ भनिन्छ । २० प्रतिशतचाहिँ अन्य कारणले हुन्छन् । कुपोषण, भाइरल इन्फेक्सन, वातावरणीय प्रभाव, क्यान्सर, छारेरोगजस्ता बिमारका औषधीजन्य कारणले प्रतिरक्षा प्रणालीमा असर पर्छ ।
बच्चाका बाथ रोग भने अधिकांशचाहिँ जन्मपश्चात्का वातावरणीय या स्वप्रतिरक्षित या स्वसुजन आदि कारणबाट हुन्छन् भने २० प्रतिशतमात्रै जन्मजात जिनका कुप्रभाव कारणले हुन्छन्, बाँकीमा जिनको केही झुकाव भए पनि वातावरणीय प्रभाव, जीवनशैली, शारीरिक विचलन, विभिन्न प्रकारका सङ्क्रमण प्रमुख कारक मानिन्छन् ।
एलर्जी प्रतिक्रियात्मक गडबडीले हुने गर्छ जो वातावरणीय या वंशाणुगत गडबडी तथा दिग्भ्रमित संवेदनशीलताले हुने गर्छ र परिवारका कसैमा दम, राइनाइटिस छ भने छोराछोरीमा पनि हुने सम्भावना रहन्छ तर यो मात्र कारण भने होइन ।
हामीकहाँ अर्को भ्रम छ वंशाणुगत समस्या भनेको हजुरबा, हजुरआमा, छोरा, नाति नातिना, पनाति सबै साखासन्तानमा हुने होला भन्ने । यस्तो बिल्कुल होइन र एउटै रोगको प्रस्तुति फरक शरीरमा फरक हुन सक्छ । अतः उही डिफेक्ट फरक व्यक्तिमा फरक हुन् सक्छ । अर्को कुरा आमा र बुबामा आधा आधा कुप्रभाव छ भने उनीहरूमा केही नहुने र बच्चामा २५ प्रतिशतचाहिँ पूर्ण कुप्रभाव हुने हुनसक्छ र अझ बुझ्नुपर्ने त यो छ कि संयोगवश पितामाता, पुर्खामा कहीँ नभएको डिफेक्ट पहिलोचोटी बच्चामा सिर्जेको पनि हुन सक्छ किनभने जीन डिफेक्ट कुनै पनि भ्रुणमा पहिलोपटक (डी नोभो) हुन पनि सक्छ र त्यसकारण आफूलाई जेनेटिक रोग छैन भन्दैमा बच्चालाई वंशाणुगत रोग हुन्न भन्ने सोचिनु महाभूल हुनेछ र इम्युन कमीका अधिकांश रोग यिनै वंशाणुगत रोग हुन् । तर हामीकहाँ यसबारे न सचेतना छ न यी रोग होलान् भनेर सोचिने चलन । जसले गर्दा १ सय पटक बच्चा भर्ना हुँदा पनि न बिमार गहिराइमा के होला भनेर सोचिन्छ न आधारभूत टेस्टभन्दा माथि गएर अरू केही गर्ने प्रयास गरिन्छ । एन्टीबायोटिक र स्टेरोइडको अन्धाधुन्ध प्रयोगले मूल कारण सिर्फ झाँगिने मात्रै मौका पाउँछ । अतः जटिल तथा दीर्घरोगमा गहिराइको कारण खोजी नगरी नहुने कुरा हो ।
(डा. भट्टराई नर्भिक अस्पतालका पेडियाट्रिक इम्युनोलोजिस्ट एलार्जिष्ट एवं पेडियाट्रिक र्युमाटोलोजिष्ट हुन्)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी खरिद प्रकरणमा जर्मन सरकारले ‘कटुतापूर्ण’ प्रतिक्रिया दिएको छैन : परराष्ट्रमन्त्री
-
‘माइकल’ बन्यो इतिहासकै सर्वाधिक कमाउने बायोपिक
-
विधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य छुट्याउन जरुरी : अध्यक्ष दाहाल
-
‘मन विनाको धन २’मा विपिनको इन्ट्री
-
दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
‘सरकारले गरिब नागरिकलाई पीडा मात्रै दियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण