शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सीके राउतको अवतरण : मधेसमा राजपा र फोरमलाई यस्तो छ चुनौती

बुधबार, २९ फागुन २०७५, १४ : ३३
बुधबार, २९ फागुन २०७५

काठमाडौँ । सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनसँग सरकारले सहमति गरेपछि सबभन्दा बढी चुनौती मधेस केन्द्रित दलका लागि भएको विश्लेषण भइरहेका छन् । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउतलाई  महत्त्व दिएको देखे । यस कार्यलाई धेरैले सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई तह लगाउन रणनीति तय गरिएको हो भन्न थालेका छन् ।

चियागफ र फेसबुकमार्फत आएका यस्ता विश्लेषणको आधार कति वास्तविक हो त ? जनकपुरका प्रध्यापक एवम् राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभ भन्छन्, ‘सीके राउतको सङ्गठन मधेसका लागि वैकल्पिक शक्तिको रूपमा आउनसक्छ तर त्यसलाई अगाडि बढाउने त्यसमा भर पर्छ ।’

सीके राउत मूलधारको राजनीतिमा आउँदा मधेसको मुद्दा र एजेन्डा झन् बलियो भएको प्रध्यापक लालको विश्लेषण छ । पहिला मधेसवादी दलहरूले नै मधेसको अधिकार, पहिचान र स्वायत्तताको कुरा गर्थे, अब त्यही मुद्दा र एजेन्डामा काम गर्न सीके राउतको पनि सङ्गठन थपिएको छ, त्यसले झन सजिलो भएको छ । 

छुट्टै मधेसको माग गरी सीके राउतले आन्दोलन गर्दा पूरै मधेस शङ्काको घेरामा थियो । कताकता मधेसवादी दलको मुद्दा र एजेन्डा पनि कमजोर भइरहेको थियो । तर मधेसवादी दलले गर्ने गतिविधिमाथि पनि शङ्का भइरहेको थियो । अब त्यो अवस्था रहेन, रातोपाटीसँग कुरा गर्दै लालले भने, मधेसवादी दलले उठाउँदै आएको मुद्दा र एजेन्डा बलियो भएको छ । तर अर्कोतिर ती दलको प्रतिस्पर्धी पनि भएको छ ।’

मधेसमा वैकल्पिक शक्तिको खोजी भइरहेको थियो । मधेसवादी दलले मधेसको माग सम्बोधन गराउन सकेनन् । पटक पटक सत्तामा गएको भन्दै त्यहाँ वैकल्पिक शक्तिको खोजी भइरहेको थियो । सीके राउतको सङ्गठन पनि एउटा वैकल्पिक शक्तिका रूपमा थियो तर त्यसको मिसन गलत भएको कारणले धेरै मान्छे सो सङ्गठनसँग टाढै बसेको थियो । मूलधारको राजनीतिमा आयो भने धेरैले साथ दिने कुरा सीके राउत समक्ष पनि पुगेको थियो । तर त्यतिबेला राउत स्वतन्त्र मधेसका लागि सङ्घर्ष गर्ने अडानमा थिए ।

राजनीतिक विश्लेषक एवम् प्रध्यापक डा. रामकेवल साह भन्छन्, सीके राउतको क्षमता र बौद्धिकताले गर्दा थुप्रै मान्छे उनीसँग जोड चाहन्थे तर उनको उद्देश्य र मिसन गलत भएको कारण हच्किए । अब मूलधारमा आएपछि धेरैका लागि  सजिलो भएको छ ।’ आफूले यसअघि सीके राउतलाई थुप्रै पटक मूलधारको राजनीतिमा आउन सल्लाह दिएको बताउँदै प्रध्यापक साहले त्यतिबेला कसैको कुरा नसुनी आफ्नो मिसनमा लागेका थिए तर आज ती मिसन गलत रहेको, स्वतन्त्र मधेस सम्भव छैन भनी बुझेर मूलधारमा आएको बताए ।

मधेसवादी दलबाट मधेसी जनता आशा भरोसा छाडिसकेका छन् । उनी आन्दोलनको आडमा पटक पटक सत्तामा गएको तर मधेसको अवस्था जस्ताको तस्तै रहेको कुरा मधेसी जनता राम्रोसँग बुझेका छन् । त्यही भएर मधेस वैकल्पिक शक्तिको खोजीमा थियो, त्यो वैकल्पिक शक्तिको नेतृत्व सीके राउतले गर्ने कुरामा आफूलाई विश्वास लागेको बताए । 

सम्झौतापछि मधेसमा उनका कार्यकर्ताले जे गरे त्यो गलत हो, तत्कालै नियन्त्रण गर्न नसक्नु राउतको कमजोरी हो । तर जे सहमति भएको छ त्यहीअनुसार मधेसको मूलधार राजनीतिमा आए भने सीके राउतको भविष्य राम्रो रहेको साहको टिप्पणी छ । मधेसवादी दलबाट मधेसी जनता ‘फ्रस्टेड’ भइसकेको कुरा अर्का प्राध्यापक लाभ पनि बताउँछन् । त्यो ‘फ्रस्टेसन’को फाइदा राउतलाई हुने कुरामा आफू विश्वस्त रहेको प्राध्यापक लाभ बताउँछन् । 

सीके राउत सहमतिमा नआउँदा पनि मधेसवादी दलको प्रतिस्पर्धामा थिए । उनले गर्ने कार्यक्रममा मधेसवादी दलको कार्यक्रमभन्दा बढी जनताको उपस्थिति हुन्थ्यो । त्यसले गर्दा ती दलहरू सीके राउतबाट खतरा महशुस गरिरहेका थिए । सीके राउतका कार्यकर्ताहरूले फोरम नेपाल र राजपा नेपालको निकै आलोचना गर्थे । 

प्रतिनिधिसभाका चुनावमा कोठली बाहरको अभियान चलाएक थिए उनले । त्यो मधेसवादी दल लक्षित थियो । जति पनि कोठली बाहर मत परे । ती मत मधेसवादी दलको मतबाट कटिएको हो । मधेसवादी दलमा पर्ने मत नै सीके राउतले काटेका छन् । त्यसले मधेसवादी दललाई घाटा भए पनि गैरमधेसी ठूला दलहरूलाई फाइदा भएको थियो । 

सीके राउतले आफ्नो फेसबुक, ट्विटर तथा अभिव्यक्तिहरूमा ती दलहरूको खुलेर आलोचना गर्दै आइरहेका थिए । तर उनको उद्देश्य फरक भएकाले मधेसमा खुलेर उनले साथ पाइरहेका थिएनन् । अब उनी मूलधारमा आइसकेपछि वैकल्पिक शक्तिका रूपमा साथ दिने धेरैले विश्वास गरेका छन् । 

तर सीके राउतमाथि धेरैले आशङ्का पनि गरेका छन् । सरकारसँग भएको सहमति कायम रहन्छ कि रहँदैन भन्ने कुरामा आशङ्का गर्ने थुप्रै ठाउँ रहेको बताउँछन्, बीबीसीका पत्रकार वृजकुमार यादव । उनी भन्छन्, ‘सरकारले जति सहमति सम्झौता गरेका छन्, ती कार्यान्वयन भएको छैनन् । त्यही भएर यो सहमति कार्यान्वय हुनेमा आशङ्का छ । सरकारबाट पनि उल्लङ्घन हुनसक्छ र सीके राउतबाट पनि उल्लङ्घन हुनसक्छ ।’ 

यद्यपि राजपा नेपाल अध्यक्षमण्डलका सदस्य अनिलकुमार झा भन्छन्, सीके राउत मूलधारको राजनीतिमा आउँदा हामीलाई कुनै घाटा लागेको छैन, बरु फाइदा नै भएको छ ।’ सीके राउतले स्वतन्त्र मधेसको मिसन चलाउँदा मधेसको मुद्दा कमजोर भइरहेको थियो । विभिन्न आशङ्काका दृष्टिले हेर्ने गरिन्थ्यो । अब त्यो अवस्था समाप्त भएको अध्यक्षमण्डलका सदस्य झाको दाबी छ । 

गजेन्द्रनारायण सिंहले उठाउँदै आएको मुद्दा र एजेन्डा झन् बलियो भएको बताउँदै उनले मधेसमा जुन भ्रम थियो, त्यो समाप्त भएको बताए । सीके राउत जहाँबाट परिचालित थिए, त्यहीँ गएर आत्मसमर्पण गरेका छन् । अब मधेसमा उनले केही पनि गर्न सक्दैनन् भन्दै उनले सीके राउत गलत थिए भने कुरा स्पष्ट भएको बताए । मधेसी जनताले अब उनलाई नपत्याउने पनि दाबी गरे ।

यसअघि पनि राज्यले मधेसवादी दलका विभिन्न नेतालाई यसरी नै प्रयोग गरेर मधेसमा पठाएको थियो तर कोही सफल भएनन् । पुनः आआफ्ना पार्टीमा नै फर्केर आएको स्मरण गर्दै उनले सीके राउत पनि राज्यबाट प्रयोग भएका हुन् । मधेसमा उनीमाथि विश्वास नगर्ने अवस्था रहेको बताए । 

फोरम नेपालका कोषाध्यक्ष एवं प्रदेश २ का आर्थिक मामिला मन्त्री विजय यादवले पनि सीके राउत मूलधारको राजनीतिमा आएर आफ्नो दललाई कुनै असर नपर्ने दाबी गरे । उनले भने, सीके राउत मूलधारमा आएको कारणले आफूहरूको मुद्दा र एजेन्डा झन् बलियो भएको छ । सीके राउतले समातेको बाटो गलत थियो । फोरम नेपालले समातेको बाटो सही छ भने कुरा सरकार र सीके राउतले पुष्टि गरेका छन् । त्यही भएर मधेसमा राउतलाई पत्याउन गाह्रो हुन्छ ।’

मधेसी, आदिवासी जनजाति, शिल्पी, मुस्लिमको हकहितका लागि फोरम नेपाल निरन्तर लड्दै आएको पार्टी हो । हालसम्म मधेसले जेजति प्राप्त गरेको छ, ती फोरम नेपालकै कारणले प्राप्त गरेको छ । त्यसैले मधेसमा मात्र होइन, देशमै फोरम नेपालको विकल्प अरू कोही हुन नसक्ने मन्त्री यादवको दाबी छ । 

सीके राउत यत्रो लामो आन्दोलन गरे तर त्यसबाट मधेसले के पाए, त्यसको कुनै हिसाब किताब छ ? सीके राउतले ६, ७ वर्षदेखि आन्दोलन गरे । विभिन्न नाममा जनता उचाले, सभा सम्मेलन गरे तर अन्त्यमा राज्यसँग सहमति गरेर मूलधारको राजनीतिमा आए । त्यसले कसलाई फाइदा भयो भन्ने प्रश्न उठेको भन्दै उनले सीके राउतको भ्रमबाट मधेसी जनता मुक्त भइसकेको दाबी गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप