पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखियो
सारांश
- पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा हेर्न नभ्याइनेमा राखिएको छ ।
- राहदानी ठेक्का प्रकरण सम्बन्धी मुद्दाको थुनछेक बहस लम्बिएका कारण पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा पेसी सूचीमा पछि सारिएको हो ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री गुप्ताले जग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
काठमाडौँ । पोखराको लिचीबारी घुस प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासहित ७ जना विरुद्धको भ्रष्ट्राचार मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद कोइराला, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा राखिएको छ । राहदानी ठेक्का प्रकरण सम्बन्धी मुद्दाको थुनछेक बहस लम्बिएका कारण पेसी सूचीको २ नम्बरमा रहेका पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याइनेमा’ राखिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ असोज २२ मा तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री गुप्ता र पूर्वमन्त्री रन्जिता श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कार्य सुविधा प्रदान गर्नका लागि २५ लाख रुपियाँ घुस लिएको अभियोग लगाएको थियो ।
आयोगका अनुसार कुल ७८ लाख रुपैयाँको घुस र रिसवत लेनदेनसम्बन्धी अडियो प्रमाण, बैँक कारोबार विवरण र डिजिटल फरेन्सिक परीक्षण प्रतिवेदनबाट तथ्य पुष्टि भएको हो । डिजिटल फरेन्सिक ल्याबको परीक्षणमा श्रव्य, दृश्य (अडियो, भिडियो) सामग्री प्रतिवादीहरूसँग मेल खाने र छेडछाड नभएको निष्कर्ष निकालेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ असोज २२ गते मन्त्री गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । यही मुद्दामा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्व मन्त्री रञ्जिता श्रेष्ठ समेत मुछिएकी थिइन् । दुई जनाबिचको अडियो बाहिरिएपछि अख्तियारले अनुसन्धान थालेको थियो । मन्त्री गुप्तासँगको उक्त अडियो संवादमा बिचौलियाले ‘पोखराको जग्गाले तपाईंलाई टुलुटुलु हेरेर बसेको छ, अहिले २५ (लाख) राख्नुस्, काम बनेपछि माझीकुनामा माछा खाउँला ।’ भनेको सुनिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने पत्राचारमा स्ववियुकाे आपत्ति, भन्याे– विश्वविद्यालयलाई सरकारको छायाँ बनाउन खोजियाे
-
अमेरिका र इरानबिच जारी तनाव मत्थर बनाउन सहमति
-
६० वर्ष उमेर पूरा भइसकेका विद्यालय कर्मचारीहरूलाई नहटाउन आग्रह
-
नेदरल्यान्ड्सविरुद्ध मोरक्को : मैदानको भिडन्तभन्दा पर आप्रवासन र पहिचानको कथा
-
मकवानपुरका सीडीओले भनेः चिकित्सकको पर्चाबिना औषधि नबेच्नू
-
कलाकारहरूले मनाए धान दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण