सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

रातो मच्छिन्द्रनाथ पुनःनिर्माण अब उपभोक्ता समितिमार्फत

सोमबार, १४ पुस २०७६, २२ : ३८
सोमबार, १४ पुस २०७६

ललितपुर । ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत गराउने भएको छ ।  सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, सांसद पम्फा भुसाल, प्रदेशसभा सदस्य जीवन खडका, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, पुरातत्व विभागका प्रतिनिधि, मन्दिर रहेको वडाका अध्यक्षलगायत सहभागी रहेका थिए ।

यसअघि श्रीलङ्का सरकारको आर्थिक सहयोगमा निर्माण व्यवसायीमार्फत रातो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माण अघि बढाइएको थियो । पूर्वयोजनाअनुसार मन्दिर पुनःनिर्माण अघि नबढेपछि ठेक्का तोडिएको हो । स्थानीयवासीले ठेक्का लगाउनु अघिदेखि नै उपभोक्ता समितिमार्फत काम हुनुपर्ने माग गर्दै आएका थिए ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण प्राधिकरणको विशेष प्राथमिकतामा परेकाले रानीपोखरीको नमूनाअनुसार उपभोक्ता समितिमार्फत काम गरिने निर्णय भएको जानकारी दिए । मन्दिर पुनःनिर्माणको अनुगमनका लागि प्राधिकरणको नेतृत्वमा सरोकार भएका निकायका अधिकारी सदस्य रहेको समिति पनि गठन गरिने भएको छ । 

सांसद भुसालले उपभोक्ता समिति मार्फत पुनःनिर्माण गरिने हुँदा रातो मच्छिन्द्रनाथ मन्दिरको काम अब तोकिएकै समयमा पूरा हुने आशा बढेको बताए ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले समयतालिका बनाएर रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण गरिनु पर्नेमा जोड दिँदै यसमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । 

बैठकमा बुङ्गमतीको सार्वजनिक पूर्वाधार एवं सम्पदा पुनःनिर्माणका लागि तयार गरिएको अन्य गुरुयोजनाबारे पनि छलफल भएको जनाइएको छ ।

सांसद भुसालले गुरुयोजनालाई स्वीकार गरी त्यसअनुसार पुनःनिर्माण अघि बढाउन उपयुक्त हुने धारणा राखे । उनले त्यसका लागि निर्वाचन क्षेत्र पूर्वाधार कोषबाट अधिकतम बजेट राख्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

नगर प्रमुख महर्जनले महानगरपालिकाका तर्फबाट पनि गुरुयोजनाको स्वामित्व लिने र त्यसका केही मुख्य भाग पुनःनिर्माण गर्न सहयोग गर्ने आश्वासन दिए । बैठकमा गुरुयोजनाबारे थप छलफल गरेर अन्तिम रुप दिने समझदारी समेत बनेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप