इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
सारांश
- नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिबिच ऊर्जा व्यापार र सहकार्यबारे छलफल भएको छ ।
- भेटमा इप्पानले नेपाललाई भारतको ग्रीन डे अहेड मार्केटमा पहुँच दिन र प्रसारण लाइन शुल्कमा देखिएका समस्या समाधान गर्न माग गरेको छ ।
- दुई पक्षले आगामी दिनमा ऊर्जा व्यापारमा देखिएका नीतिगत र प्राविधिक कठिनाइहरूलाई आपसी समझदारीमा हल गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिबिच भेटवार्ता भएको छ । भारतीय दूतावासमा भएको उक्त भेटमा दुई देशबिचको ऊर्जा व्यापार र सहकार्यका विषयमा छलफल भएको दूतावासले जनाएको छ ।
भेटका क्रममा इप्पानको प्रतिनिधिमण्डलले नेपाल र भारतबिच बढ्दो सीमापार विद्युत् व्यापार र आयात तथा विद्युत् क्षेत्रमा देखिएको समस्याका विषयमा छलफल भएको छ । हाल दुई देशबिच भइरहेको विद्युत् निर्यातमा नेपालका निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूको मुख्य योगदान रहेको इप्पानले जनाएको छ ।
भेटमा राजदूत श्रीवास्तवले सन् २०२४ मा दुई देशबिच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौता र सहकार्यले निरन्तरता पाउने बताए । यो सम्झौताले जलविद्युत् क्षेत्रमा सहकार्यको ठूलो सम्भावनाको ढोका खुला रहेको उनको भनाइ छ । उक्त सम्झौताअनुसार आगामी १० वर्ष अर्थात् सन् २०३४ सम्ममा भारतले नेपालबाट १० हजार मेगावाट विद्युत् आयात गर्ने लक्ष्य राखेको छ ।
राजदूत श्रीवास्तवले नेपालको जलविद्युत् विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । १० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्य पूरा गर्न निजी क्षेत्रको सक्रियता र लगानी आवश्यक रहेकोमा जोड दिएको इप्पानले जनाएको छ ।
इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम लामाले नयाँ कार्यसमिति र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबिच ऊर्जा व्यापार र जलविद्युत क्षेत्रमा देखिएका अड्चनहरूका विषयमा द्विपक्षीय छलफल भएको बताए । उनले नेपाल र भारतबिचको ऊर्जा व्यापारलाई थप सहज बनाउने लगायतका विषयको प्रस्ताव राजदूतसँग राखेको बताए ।
इप्पानले मुख्यगरी नेपाललाई भारतको ग्रीन डे अहेड मार्केटमा पहुँच दिन माग गरेको थियो । हाल नेपाल डे अहेड मार्केटमा मात्र सहभागी छ । जहाँ कोइलाजन्य ऊर्जासँग प्रतिस्पर्धा गर्नुपर्दा प्रति युनिट ७५ पैसादेखि १ रुपैयाँसम्म कम मूल्य पाइरहेकाले त्यसलाई सहजीकरण गर्नु पर्ने माग इप्पानले गरेको लामाले बताए ।
यस्तै, इप्पानले प्रसारण लाइन शुल्कमा देखिएका समस्याहरू समाधान गर्न पनि आग्रह गरेको छ । हाल निजी क्षेत्रले विद्युत् निर्यात गर्दा डोमेस्टिक, क्रसबोर्डर र इन्टर–स्टेट ट्रान्समिसनगरी तीन तहको शुल्क तिर्नुपर्ने बाध्यता छ ।
भारतीय लगानीका आयोजनाहरूलाई भारतभर ट्रान्समिसन शुल्क फ्री गरिएको जस्तै नेपालबाट हुने आयातमा पनि सहुलियत दिन माग गरेको बताए ।
छलफलका क्रममा जलविद्युत आयोजनाका लागि आवश्यक विस्फोटक पदार्थको नो अब्जेक्सन लेटर नवीकरणमा देखिएको झन्झट र चिनियाँ लगानीकर्ताका आयोजनाहरूले भोगिरहेका समस्याबारे पनि कुरा उठेको थियो ।
हालै भारतले थप १६०० मेगावाट विद्युत् निर्यातका लागि देखाएको तत्परताप्रति इप्पानले भारतीय दूतावासलाई धन्यवाद समेत ज्ञापन गरेको उनको भनाई छ ।
उनका अनुसार इप्पानको मागका विषयमा भारतीय राजदूत श्रीवास्तवले नेपालमा भारतीय लगानीका आयोजनाहरू सञ्चालन गर्दा विभिन्न सरकारी निकायबाट हुने ढिलासुस्तीप्रति चासो व्यक्त गरेका थिए ।
विशेषगरी वन मन्त्रालयको क्लियरेन्समा हुने ढिलाइ, सर्वोच्च अदालतले विभिन्न आयोजनामा लगाउने रोक र नेपाल सरकारले माग गर्ने २१ प्रतिशत निःशुल्क ऊर्जाको प्रावधानले गर्दा आयोजनाहरू आर्थिक रूपमा कम व्यावहारिक भइरहेको राजदूतको गुनासो थियो ।
दुवै पक्षबिच आगामी दिनमा ऊर्जा व्यापारमा देखिएका नीतिगत र प्राविधिक कठिनाइहरूलाई आपसी समझदारीमा हल गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण