युभेन्ट्स इटालियन कपको क्वार्टरफाइनलमा
अर्जेन्टिनी स्ट्राईकर पाउलो डिबाला चम्किएपछि इटालियन महारथि युभेन्ट्स इटालियन कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्ट्सले उडीनेजेलाई ४–० गोलले हरायो । युभेन्टसको जितमा डिवालाले दुई तथा गोन्जालो हिगुइन र डग्लस कोस्टाले एक एक गोल गरे ।
१६औं मिनेटमा नै युभेन्टसले गोन्जालो हिगुइनको गोलमा अग्रता लिएको थियो । त्यसपछि २६औं मिनेटमा डिबालाले पेनाल्टी मार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । डिबक्स भित्र उडीनेजेका गोलरक्षक निकोलसले फेडेरिको बर्नार्डेस्कीलाई लडाएपछि युभेन्ट्सले पेनाल्टी पाएको थियो ।
डिबालाले ५८औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सको अग्रता थप बलियो बनाए । उनले हिगुइनको पासमा पोस्ट् नजिकबाट गोल गरेका थिए । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिरामीका कारण खेल्न नसक्दा रोनाल्डोको भूमिका पूरै डिवालाले निभाएका थिए । युभेन्ट्सले ६१औं मिनेटमा पुनः पेनाल्टी पायो ।
उडीनेजेका रक्षक ब्राम न्युटिन्कले डिबक्स भित्र ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई डग्लस कोस्टाले सुदुपयोग गरेका थिए । क्वार्टरफाइनलमा युभेन्ट्सले एस रोमा र पार्माबीचको विजेतासँग खेल्नेछ । बुधबार राति भएको अर्को खेलमा फियोरेन्टिनाले एटलान्टालाई २–१ गोलले हरायो । एसी मिलानले एसपीएएललाई ३–० ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।