बेलायतको रश्मोर बरो काउन्सिल र गोरखा नगरपालिकाबीच भगिनी सम्बन्ध कायम

लण्डन । दुई सय वर्ष भन्दा पनि पूरानो ब्रिटेन नेपालको सम्बन्ध स्थानीय क्षेत्रमा पनि विस्तार हुँदै गैरहेको छ ।
बेलायतमा सबैभन्दा धेरै नेपालीहरुको बसोवास रहेको रश्मोर बरो काउन्सिल र नेपालको गोर्खा नगरपालिकाबीचमा भगिनी सम्बन्धका लागि सम्झौतापत्र आदानप्रदान गरिएको छ ।
बेलायतस्थित नेपाली दूतावासको पहल र स्थानीय काउन्सिलसंगको सहकार्यमा गोरखा नगरपालिकाको मेयर राजनराज पन्त र रश्मोर काउन्सिलका मेयर सु कार्टरद्वारा गत बिहीबार रसमोर काउन्सिल भवनमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
उक्त सम्झौतापत्रमा सांस्कृतिक, प्रजातान्त्रिक, प्राविधिक र शैक्षिक अवसरहरु एकअर्काबीच आदानप्रदान गर्ने सहमति भएको छ । यसैगरि दुवै निकायबीचमा भ्रमण, सामाजिक आर्थिक विकासमा हातेमालो, संयुक्त अनुसन्धान, विभिन्न परियोजना सञ्चालन, भौतिक पूर्वाधार निर्माण र सुशासनमा समेत सहयोग गर्दै अघि बढ्ने उल्लेख गरिएको छ ।
मेयर पन्तका साथमा नेपालबाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठ र नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा पनि बेलायत आएका छन् ।
यस ऐतिहासिक सम्बन्धले दुई देशबीचको सम्बन्ध अझ बढि दरिलो भएको खुशियालीमा शुक्रबार साँझ लन्डनस्थित नेपाली दूतावासले एक विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा रश्मुर बरोका काउन्सिलर डेभिड क्लिफोर्ड, गोर्खा नगरपालिकाका मेयर राजनराज पन्त, उप मेयर फ्र्यांक रोस्ट लगायतका स्वदेशी एवं विदेशी विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
र्यक्रममा बोल्दै बेलायतका लागी नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले दुवै पक्षका मेयरलाई बधाई दिँदै यस ऐतिहासिक सम्बन्धले दुवै पक्षबीच सांस्कृतिक, पर्यटन, शिक्षा तथा व्यापारका क्षेत्रमा थप सहयोग पुग्ने आशा व्यक्त गरे । नेपालमा सर्वोच्च शिखर सगरमाथा, बुद्धको जन्मस्थल लुम्बिनी लगायतका थुप्रै आकर्षक स्थलहरु छन् जुन विश्वमा कहि पनि पाउन नसकिने राजदूत सुवेदीले बताए । नेपाल देश गरिब भएपनि प्रकृति र संस्कृति जस्ता कुरामा विश्वकै धनी देश भएको भन्दै नेपाल पर्वतारोहण, ट्रेकिङ लगायत पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएकाले नेपाल भ्रमण गर्न सबैलाई आग्रह गरेका थिए ।
गोर्खा नगरपालिकाका मेयर राजनराज पन्तले भगिनी सम्बन्धबारे प्रष्ट पार्दै नेपाल भ्रमण वर्ष २०२० को अभियानलाई सफल पार्न आफूहरुले शुरु गरेको ‘गोर्खा भिजिट’ को बारेमा उल्लेख गरेका थिए । यस सम्बन्धले नगर क्षेत्रको आर्थिक, भौतिक, साँस्कृतिक तथा सामाजिक विकासमा टेवा पुग्नुका साथै नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न समेत थप सहयोग पुग्ने मेयर राजनराज पन्तले बताए । भ्रमणको लागि गोर्खा अत्यन्त रमणीय भएकोले एकपटक गोर्खा घुम्नको लागि सबैमा अनुरोध गरेका थिए ।
कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठले गोरखा जिल्लाको भौगोलिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा पर्यटकीय सौन्दर्यबारे वृत्तचित्र प्रस्तुत पार्दै गोरखामा क्रिश्चियनहरुको चर्च र मुस्लिमहरुको मस्जिद समेत रहेको जानकारी गराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो
-
गगन, बाबुराम, कुलमानसहित करिब एक हजारले हेरे ‘बारपाक फोटो प्रदर्शनी’
-
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
-
‘वार रुम’ स्थापनादेखि ‘पर्फर्मेन्स एन्ड पेमेन्ट अटोमेसन’ : यस्ता छन् योगेशका २४ बुँदे सुझाव
-
चार जना मृत अवस्थामा फेला
-
पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर मृत्यु