१० विदेशीसहित ६३ सैनिक दीक्षित
काठमाडौं । शिवपुरीस्थित नेपाली सेनाको आर्मी कमाण्ड एण्ड स्टाफ कलेजबाट २६ औँ समूहमा १० विदेशीसहित ६३ ले ‘कमाण्ड एण्ड स्टाफ कोर्स’ पूरा गरी दीक्षित भएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले कलेजमा आज आयोजित समारोहमा कोर्स पूरा गर्ने प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरे ।
नेतृत्व तहमा पुग्ने सैनिक अधिकृतका लागि कमाण्ड एण्ड स्टाफ कोर्स अनिवार्य मानिन्छ । विसं २०४९ मा स्थापना भएको उक्त कलेजबाट एक हजार ५३ ले उक्त कोर्स पूरा गरेको दीक्षान्त समारोहमा जानकारी दिइयो । तीमध्ये विदेशी सैनिकको सङ्ख्या ८३ रहेको छ ।
करिब ५० साता अवधिको यस पटकको कमाण्ड एण्ड स्टाफ कोर्समा समग्र विधामा सेनानी चित्रबहादुर कार्की उत्कृष्ट घोषित भए । यस कोर्सलाई त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तरको मान्यता प्रदान गरेको छ । सो २६ औँ समूहमा नेपाली सेनाका ५०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक अधिकृत सहभागी थिए । बङ्गलादेश, चीन, भारत, लेवनान, माल्दिभ्स्, नाइजेरिया, पाकिस्तान, दक्षिण कोरिया, श्रीलङ्का र संयुक्त राज्य अमेरिकाका पनि एक–एक सैनिक अधिकृत सहभागी थिए ।
प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्दै प्रधानसेनापति थापाले व्यावसायिक सैनिक संयुक्तरुपमा परिचालन हुँदाका बखत आइपर्ने चुनौतीलाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा प्रदान गरिएको ज्ञानको समुचित प्रयोग उदाहरण प्रस्तुत गर्न निर्देशन दिए ।
उनले भने, ‘अनुशासित व्यावसायिक सैनिकको रुपमा योजना बनाउँदै अघि बढाउन कलेजबाट प्राप्त गरेका ज्ञान कोसेढुङ्गा सावित हुने छ, यहाँ प्राप्त भएको ज्ञानबाट उच्च र बहुआयामिक नेतृत्व बन्न योगदान पुग्ने छ ।’ त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक धर्मकान्त बाँस्कोटाले २१ औँ शताब्दीमा आउन सक्ने सुरक्षा चुनौतीको सामना गर्न कलेजबाट प्राप्त ज्ञानले सहज तुल्याउने विश्वास व्यक्त गरे ।
कलेजका प्रमुख एवं उपरथी ईश्वर हमालले कलेजबाट प्रदान गरिँदै आएको कोर्स र तालीमका बारे जानकारी गराए । सो अवसरका कलेजद्वारा प्रकाशित शिवपुरी जर्नलको पनि विमोचन गरियो । पछिल्लो समय उक्त कलेज विदेशी सैनिकको आकर्षणको केन्द्र बन्दै आएको छ । हरियाली वातावरण, शीतल हावापानी र मिलनसार व्यवहारका नेपाली सैनिकले विदेशी विद्यार्थीका बीचमा आर्मी कमाण्ड र स्टाफ कलेज लोकप्रिय बन्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण