शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रेस रिभ्यू : अस्पतालको शैय्यामा प्रम ओलीको ठट्टा, डाक्टरहरु भन्छन्, ‘युवाको जस्तै मनोबल'

नेपाली अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका सबै १० जनाको शल्यक्रिया सफल
बुधबार, २१ फागुन २०७६, ०७ : ५९
बुधबार, २१ फागुन २०७६

आज फागुन २१ गते बुधबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो मिर्गौला प्रत्यारोपणसम्बन्धी समाचारले प्राथमिकता पाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्न सबै तयारी पूरा भएको कान्तिपुर दैनिकमा समाचार छ । उनको मंगलबार ‘डायलसिस’ गरिएको छ भने प्रत्यारोपणपछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको छ । शल्यक्रिया अघि आवश्यक सबै परीक्षण गरिएको छ । यसअघि मुटुलगायतका परीक्षण भइसकेका उनको फोक्सोको स्थितिसमेत राम्रो देखिएको चिकित्सकले बताएका छन् । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रत्यारोपणका लागि आवश्यक सबै तयारी गरिएको छ । ओलीको स्वास्थ्य अवस्था अहिले जस्तै सामान्य रहे बुधबार बिहान ९ बजे शल्यक्रिया सुरु हुने जानकारी उनले दिए । ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा.डा. उत्तम शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमारसमेत हुनेछन् ।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि दिन सुरु गरिएको बताए। प्रत्यारोपण गर्नूपूर्व विशेषज्ञ चिकित्सकबाट आवश्यक स्वास्थ्य परीक्षण गरिएको बताउँदै उनले मिर्गौला प्रत्यारोपणका लागि कुनै समस्या नरहेको स्पष्ट पारेको नागरिक दैनिकमा समाचार छ । ‘अहिलेसम्म प्रधानमन्त्रीको स्वास्थ्यस्थिति राम्रो अवस्थामा छ, बुधबार मिर्गौला प्रत्यारोपण गर्ने कार्यतालिका रहेकाले विशेषज्ञ चिकित्सकको निगरानीमा राखिएको छ’, खड्काले भने। प्रधानमन्त्रीको स्वास्थ्यस्थितिको विषयमा नियमित रुपमा विज्ञप्ति निकालेर सञ्चारमाध्यमलाई जानकारी गराइने उनको भनाइ छ। त्रिवि शिक्षण अस्पताल सोमबार भर्ना भएका प्रधानमन्त्री ओलीलाई ६ सय १ नम्बरभिभिआइपी क्याबिनमा राखिएको छ। मिर्गौला प्रत्यारोपण गरेको एक साताभित्र क्याबिनेटको बैठक सञ्चालन गर्ने भन्दै ओलीले ठट्यौली गरेको उनको निगरानीमाखटिएका वरिष्ठ चिकित्सक अरुण सायमीले सुनाए। ‘हामी अलिकति चिन्तित छौं’, डा. सायामीले भने, ‘प्रधानमन्त्री ओलीले कुनै चिन्ता गर्नुपर्दैन, एकहप्तापछि क्याबिनेट बोलाउँछु भनेर उच्च मनोबलसाथ कुरा गर्नुभएको छ।’

यसअघि नेपाली अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका सबै १० जनाको शल्यक्रिया सफल भएको नयाँ पत्रिका दैनिकमा समाचार छ । नेपालमा ८ अगस्ट २००८ मा पहिलोपटक त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण थालिएको हो । ६ माघ ०६९ देखि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पनि मिर्गौला प्रत्यारोपण सेवा दिन थाल्यो । ०६८ मा केन्द्रको स्थापना भएको थियो । देशभर हालसम्म एक हजार पाँच सयको मिर्गौला प्रत्यारोपण गरिएको छ । त्यसमध्ये करिब सात सयको प्रत्यारोपण शिक्षण अस्पतालमा भएको युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले बताए । त्यसको सफल दर ९८ प्रतिशत छ । नेपालमै १० जनामा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ । ती सबै सफल भएका छन् । डा. ज्ञवालीका अनुसार शिक्षण अस्पतालमा मात्रै आठजनाको दोस्रोपटक प्रत्यारोपण भएको छ भने दुईजनाको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गरिएको छ । ‘प्रधानमन्त्री केपी ओली ११औँ नम्बरमा पर्नुभएको छ,’ उनले भने । यसअघि प्रत्यारोपण गरिएका सबै सामान्य ढंगले जीवनयापन गरिरहेको उनले बताए । चिकित्सकहरूका अनुसार प्रधानमन्त्रीमा उच्च मनोबल छ । ‘प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणका लागि पूर्ण तयार हुनुहुन्छ, उहाँको मनोबल युवाहरूको जस्तो छ । प्रत्यारोपणका लागि उहाँको स्वास्थ्य एकदम ठीक छ,’ डा. ज्ञवालीले भने । स्वदेशमै प्रत्यारोपण गर्ने प्रधानमन्त्रीको निर्णयले सबै चिकित्सकमा ऊर्जा थपिएको उनले बताए । 

कोरोना भाइरस संक्रमणका कारण अत्यावश्यक औषधि अभाव हुने अवस्था आएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । नेपालमा उत्पादन नहुने औषधिको मौज्दात घटिरहेको व्यवसायीले बताएका छन्। ‘आकस्मिक र अत्यावश्यक औषधिका हकमा सरकारले बेलैमा बुद्धि पुर्‍याउनुपर्छ,’ नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले भने, ‘नभइनहुने औषधिको मौज्दात बढाउन कदम चाल्ने बेला आएको छ।’ उनले निजी क्षेत्रसँग मिलेर सरकारले काम थालिहाल्नुपर्ने बताए। व्यवसायीका अनुसार औषधिको कच्चापदार्थ आयात झन्डै एक महिनादेखि ठप्प छ। औषधि व्यवस्था विभागमा तीन सय ८४ वटा औषधि उद्योग दर्ता छन्। तर यी कुनै पनि एलोपेथिक औषधि उत्पादकका लागि नेपालमा कच्चापदार्थ उत्पादन हुँदैन। औषधिको रसायन र ब्याक्टेरिया उत्पादन चिनियाँ कम्पनीले गर्ने गरेका छन्। पछिल्लो प्रतिवेदनअनुसार संसारभरका ६३ प्रतिशतजति औषधि उत्पादक कम्पनी कच्चापदार्थका लागि चीनसँग आश्रत छन्। ब्याक्टेरियाका हकमा चीनको हिस्सा अझ मजबुत छ। नेपालमा झन्डै ८० प्रतिशत कच्चापदार्थ चीनबाट आयात हुने गरेको व्यवसायी बताउँछन्। ‘औषधि बनाउने कच्चापदार्थ र इन्टरमिडियट (कच्चापदार्थ उत्पादन गर्ने प्राथमिक रसायन) लगायतका धेरैजसो केमिकल चीनमा उत्पादन हुन्छ,’ देउराली जनता फर्मास्युटिकलका कार्यकारी निर्देशकसमेत रहेका शर्मा भन्छन्, ‘जुन क्षेत्रमा कोरोना फैलिएको छ, त्यही क्षेत्रमा यस्ता उद्योग धेरै छन्।’ कच्चापदार्थको उत्पादन गर्ने धेरैजसो चिनियाँ कम्पनी रहेका सांघाई, छेचियाङ, युहाङलगायतका क्षेत्र कोरोनाबाट बढी प्रभावित छन्। यसले गर्दा कच्चापदार्थको आपूर्तिमा अवरोध भएको छ।

काठमाडौँ उपत्यकासहितका आठ जिल्लामा दैनिक सरदर पाँच सय सातवटा गाडी थपिन्छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ । चालू आर्थिक वर्ष ०७६/७७ का ६ महिनाको अवधिमा ९१ हजार तीन सय ३७ सवारीसाधन दर्ता भएका छन् । यस आधारमा अहिले दैनिक पाँच सय सातवटा गाडी थपिने तथ्यांक छ । यातायात व्यवस्था विभागका अनुसार आव ०६४/६५ मा दैनिक एक सय १७ वटा अर्थात् ४२ हजार आठ सय ८५ सवारी दर्ता भएका थिए । तर, आव ०७०/७१ पछि भने गाडी थपिने दर झन्डै दोब्बरले बढेको छ । आव ०७०/७१ मा ६७ हजार चार सय ४९ सवारीसाधन दर्ता भए । त्यतिवेला दैनिक सवारी दर्ता दर एक सय ८४ थियो । तर, त्यसको पाँच वर्षपछि यो संख्या झन्डै दोब्बरले वृद्धि भएर दैनिक  तीन सय ५४ पुगेको छ । विभागका निर्देशक तीर्थराज खनालका अनुसार आव ०७४/७५ मा एक लाख २९ हजार पाँच सय ५७ वटा गाडी दर्ता भएका थिए । विभागले ०४६ सालमा सवारी दर्ता सुरु गर्दा एकै वर्ष ३४ हजार ६ सय ६ वटा सवारी दर्ता भएका थिए । तर, ०४७/४८ मा सवारी दर्ता संख्या पाँच हजार पाँच सय २७ मा झ-यो । त्यसपछिको करिब ३० वर्षमा सवारी दर्ता संख्या कहिल्यै ओरालो लागेको छैन । दर्ता भएकामध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् । बागमती अञ्चलका आठ जिल्लामा दर्ता भएका १३ लाख ४९ हजारमध्ये मोटरसाइकल मात्रै १० लाख ७२ हजार आठ सय ६९ छन् । 

सवारीसाधनमा राख्ने इम्बोस्ड नम्बर प्लेट खरिदका लागि भएको सम्झौतामा सरकार तल पर्ने प्रावधान राखिएका कारण काम नभए पनि राज्यले करिब पाँच अर्ब रुपैयाँ भुक्तानी दिनुपर्ने अवस्था आएको नागरिक दैनिकमा समाचार छ । सन् २०१६ मा यातायात व्यवस्था विभाग र बंगलादेशी कम्पनी डेकाटुर इन्डस्ट्रिज इन्कर्पोरेटबीच २५ लाख सवारीसाधनका लागि इम्बोस्ड नम्बर प्लेट आपूर्ति गर्ने ठेक्का सम्झौता भएको थियो। सम्झौताको बुँदा नम्बर १५.१ मा सरकारी पक्षको कमजोरीका कारण तोकिएको समयमै काम हुन नसके पनि इम्बोस्ड नम्बर प्लेट उपलब्ध गराउने कम्पनीलाई ठेक्का रकमको ९५ प्रतिशत भुक्तानी दिनुपर्ने सर्त राखिएको छ। सम्झौताको समय सकिन एक वर्ष बाँकी छ। अहिलेसम्म एक प्रतिशत पनि काम भएको छैन। बाँकी एक वर्षमा २० प्रतिशत पनि काम हुन सक्ने अवस्था छैन। यही प्रावधानका कारण तोकिएको समयभित्र काम सम्पन्न नभए पनि आपूर्तिकर्ता कम्पनीलाई करिब पाँच अर्ब रुपैयाँ सरकारले बुझाउनुपर्ने अवस्था देखिएको हो। विभाग र बंगलादेशी कम्पनी डेकाटुरबीच पाँच वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको हो।

फेसबुक र युट्युबलगायत सामाजिक सञ्जालमा विज्ञापन गरेपछिको भुक्तानी अनौपचारिक माध्यमबाट गरे कारबाहीको चेतावनी दिएको राष्ट्र बैंकले एक महिना बितिसक्दासमेत नियमन कार्यविधि बनाउन नसकेको कान्तिपुर दैनिकमा समाचार छ । गत माघ १७ गते औपचारिक माध्यमबाट भुक्तानी नगरे कारबाही गर्ने र यसका लागि कार्यविधि १०/१५ दिनमै जारी हुने दाबी गरेको थियो । ‘सुरुमा क्यान, एडभरटाइजिङ एजेन्सी, मनी चेञ्जरलगायत सरोकारवालासँग छलफल भएको थियो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘क्यानलगायत एजेन्सीलाई लिखित सुझाव पठाउन भनिएको थियो, आजसम्म पनि सुझाव आएन ।’ हालका गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल सकिन लागेको अवस्थामा राष्ट्र बैंकले आन्तरिक तयारी नै नगरेकाले कार्यविधि जारी गर्न अझै केही समय लाग्ने ती अधिकारीको दाबी छ । राष्ट्र बैंकको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सामाजिक सञ्जाल र अनलाइनमार्फत हुने विज्ञापनबापत विदेशी मुद्रामा हुने भुक्तानी तथा प्राप्तिको व्यवस्थापन गर्न आवश्यक नीति तर्जुमा गरी कार्यान्वयन गरिने उल्लेख थियो । तर सात महिनासम्म पनि कार्यविधि बनेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप