आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कृषिमा युवाको सहभागिता जरुरी छ : मुख्यमन्त्री पोखरेल

बुधबार, २८ फागुन २०७६, २१ : ३०
बुधबार, २८ फागुन २०७६

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले कृषि क्षेत्रमा युवाको सहभागितामार्फत नै मुलुकमा अपेक्षाकृत परिवर्तन सम्भव भएको बताएका छन् ।

प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयको आयोजना तथा जिल्ला युवा समिति रुपन्देहीको समन्वयमा आज भैरहवामा आयोजित  मुख्यमन्त्रीसँग युवा कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने, “कृषि क्षेत्रमा बदलाव नगरेसम्म नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सकिँदैन । त्यसका लागि युवा जनशक्तिलाई कृषि क्षेत्रमा जोड्नुपर्दछ । सरकार त्यसतर्फ योजना बनाउँदैछ ।”

उनले सिर्जनशील र परिश्रमी युवा विदेशिने परिस्थितिको अन्त्य गर्न सरकार लागिपरेको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले पछिल्लो समय युवापुस्तामा गलत मनोविज्ञान हावी भएको भन्दै चिन्तासमेत व्यक्त गरे । उनले भने, “आफ्नो देशमा पाएको काम नगर्ने तर अन्यत्र गएर त्यही काम गर्ने समाजको मनोविज्ञान छ, यहाँ भएका काम विदेशबाट आएर युवाले गरेका छन्, त्यसैले मनोविज्ञानमा बदलाव जरुरी छ ।”

मुख्यमन्त्री पोखरेलले काम सानो ठूलो नहुने उल्लेख गर्दै आफ्नो परिवारमै बसेर गर्न सकिने असङ्ख्य काम भएको र मुलुकभित्र थुप्रै काम भए पनि त्यो काम नगरिँदा बेरोजगारी देखिएकोसमेत बताए । 

उनले भने, “आफ्नो गाउँघरमा कामै नगर्ने तर विदेशमा मरीमरी काम गर्ने विभाजनकारी मानसिकताले युवा खाडीमुलुक जाने गरेका छन् । यो तत्काल परिवर्तन गर्नु जरुरी छ ।”

प्रदेश सरकारले युवाका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नेतर्फ अगाडि बढेको उनले बताए। कार्यक्रममा प्रदेश ५ सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेशका युवालाई रचनात्मक काममा लैजान प्रदेश सरकारले ठोस कार्यक्रम अगाडि बढाउने बताए ।

 उनले गुणस्तरीय शिक्षाका लागि प्रदेश सरकारका कार्यक्रम अगाडि बढेको बताए । उनले युवाका सपना र आवश्यकतालाई सम्बोधन गर्न सरकारले प्रयत्न गरिरहेको बताए ।

जिल्ला युवा समिति रुपन्देहीका अध्यक्ष वसन्त ढकालले युवालाई विदेशिनबाट रोक्दै स्वदेशमा उद्यमशील बनाउन अभियान चालिएको बताए ।

कार्यक्रममा सहभागी विभिन्न सङ्घसंस्था तथा क्लबमा आबद्ध युवाले प्रदेश युवा परिषद् गठन गर्नुपर्ने, युवालाई सरकारले प्रोत्साहन गर्नुपर्ने, लैङ्गिकमैत्री वातावरण हुनुपर्ने, सङ्घसंस्था स्थानीय तहमै दर्ता र नवीकरण हुनुपर्ने, युवालाई रोजगार दिनेतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप