बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

छोरी घर बिदाइ

बुधबार, ०३ वैशाख २०७७, १४ : ५४
बुधबार, ०३ वैशाख २०७७

-गोविन्दप्रसाद काफ्ले 

कहिलेदेखि चल्यो चलन जगतमा छोरी पराई घर दिने ।
त्यस्तै नै गरी फेरि पराई घरकी अपनाई आफू लिने ।।
कन्यादान गरी दिँदैछु अहिले छोरी पराय घर ।
नानी छिन् अवला अनुभवविहीन ईश्वर छ तिम्रै भर ।।

सासु छिन ससुराजी छन् घरमाहा कस्तो होला चाल चलन् ।
स्वभाव कस्तो होला त्यहाँ मान्य जनको कस्ता होलान् मान्य जन ।।
जस्लाई छोरी दिएँ ती मुख्य जनको कस्तो छ बोली वचन ।
जड्याहा फटाहा ती छन् कि अथवा साधु स्वभावका ती छन् ।।

बिदा गर्न पनि भयो मकनता साह्रै कठिन यस घडी ।
छोरी विह्वल छिन् यहाँ थरीथरी नाना बिलौना गरी ।।
जाऊ छोरी तिमी पराय घरमा अपनाइ लेऊ गरी ।
सेवा आदरले सहित गर्नु स्वामी समीपमा रही ।।

रुखा वचन केही नबोल्नु कहिल्यै कस्तै परेता पनी ।
मौका भन्न नदेऊ कदापी तिमीले यस्ती खराब छे भनी ।।
जेठाजु देठानी ती नन्द र देवर देउरानी वैनी अरू ।
आमाजू अनि भाञ्जा भाञ्जीहरु फेर छोरा भतिजाहरु ।।

विचार सब जनले त गर्छन त्यहाँ कस्तो छ बानी भनी ।
वर्ताव गर्नु छ त्यहाँ सदैव तिमीले अत्यन्त नमृत बनी ।।
भरपेट खान पनि छ छैन घरमा पानी पनेरो कता ।
साथी सङ्गती त्यहाँ कस्ता छन् अहिले छैन यहाँ केही पता ।।

खेतीपाती र घर गोठ अनि फेर कति होलान् वस्तु भाउ ।
सीधा स्वाभावका ती छन् कि अथवा गर्छन कि ती हान्ने दाउँ ।।
तिन्को गर्नै पर्ने स्याहार तिमीले आफ्नो यिनै हुन भनी । 
सिङ्ग लात्को पनि खुब विचार गरनु हान्छन् ती क्रोधित बनी ।।

बिदा गर्न कठिन हुने बहुतै नै मुटु चुडायै सरी ।
गृहस्थीहरुलाई हुने जगतमा खप्नै कठिन त्यस घडी ।
दिनै पर्छ खुसी गराई मनमा कर्तव्यै यै हो भनी ।
लक्षिणकी दिपीका थियौ तर पनि जाऊ पराय बनी ।।

बोल्नु मिठो गरी तिमी हरघडी झर्को नमान्नु कवै ।
रूखो व्यवहार गर्यो यदि भने दुस्मन हुनेछन् सबै ।।
उठ्नु ब्रह्म मुहुर्तमा र हरिको गर्नु छ दर्शन पनी ।
गर्नु दर्शन फेर ती मान्य जनको कर्तव्य यहि हो भनी ।।

जाऊ छोरी तिमी प्रशन्न मनले त्यही कर्म को हो घर ।
आफ्नो सद्गुणको गरीकन विकास सुवास् सदैव छर ।। 
खानु सुत्नु डराउनु र अनि फेर सन्तान उत्पादन ।
पशुहरु पनि सबै किसिमका यी चार काम गर्छन् ।।

हामी मानव हौँ भनेर बुझी यो सब धर्म कर्मै पनी ।
गर्नु पर्दछ नानी छोरी तिमीले ज्ञानी बहुतै बनी ।।
देव पितृ तथा अतिथि जनमा सद्भाव राखीकन ।
गुरू जनहरुको सदैव गरनु पूजन लगाई मन ।

दया, दान, परोपकार गरनु सफा रही सब घरी । 
सबको मन तिमीले जितेर रहनु सधर्म पालन गरी ।।
बत्तिस लक्षण हुन्छ नारीहरुमा भन्छन् यी शास्त्रादी ले 
यसको गरनु विकास बुझेर तिमीले यथोक्त सब विधिले ।

हाम्रो आशिष छ सदैव तिमीमा त्यस्तै प्रभुको पनी ।
आशिष प्राप्त सदैव भैकन रहोस् विन्ती छ नम्रित भनी ।। 
सीता भृकुटीकै सरी गरीकनै सुवाष सदैव छ र ।
जानु पर्दछ छोरीले खुसी भई  मन्दिर रूपी घर ।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप