छिन्नमस्ता शक्तिपीठ पहुँचमार्ग निर्माणमा ढिलाइ, तत्काल मर्मत गर्न गाउँपालिकाको माग
सारांश
- सप्तरीको छिन्नमस्ता शक्तिपीठ जाने पहुँचमार्गको जीर्ण अवस्थाबारे गाउँपालिकाले सडक डिभिजन कार्यालय, लहानको ध्यानाकर्षण गराएको छ ।
- गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले विगत तीन दशकदेखि निर्माण प्रक्रियामा अल्झिएको सडक तत्काल मर्मत गरी स्थायी निर्माण अघि बढाउन माग गरेका छन् ।
- जीर्ण सडकका कारण दुर्घटनाको जोखिम बढेको, स्थानीय व्यापार, कृषि र सेवा प्रवाहमा असर परेको तथा वर्षायाममा आवागमन कष्टकर बनेकोले तत्काल ग्राभेलिङ र ढल निकासको व्यवस्थापन गर्न आग्रह गरिएको छ ।
सप्तरी । सप्तरीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल छिन्नमस्ता शक्तिपीठ जाने पहुँचमार्गको अवस्था जर्जर बनेको भन्दै छिन्नमस्ता गाउँपालिकाले सडक डिभिजन कार्यालय, लहानको ध्यानाकर्षण गराएको छ ।
गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले सडक डिभिजनलाई एक पत्र बुझाउँदै विगत तीन दशकदेखि निर्माण प्रक्रियामा अल्झिएको यस महत्वपूर्ण सडकलाई तत्काल मर्मत–सम्भार गरी स्थायी निर्माण कार्य अघि बढाउन माग गरेका हुन् ।
नेपाल र भारतका गरी वार्षिक २५ देखि ३० लाख श्रद्धालु भक्तजनहरू आउने यस मार्गको जीर्ण अवस्थाका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै स्थानीय व्यापार, कृषि र सेवा प्रवाहमा समेत गम्भीर नकारात्मक असर परेको पत्रमा उल्लेख छ ।
वर्षायामका कारण सडकका खाल्डाखुल्डीले आवागमन झन् कष्टकर र असुरक्षित बनेको भन्दै गाउँपालिकाले तत्काल ग्राभेलिङ र ढल निकासको व्यवस्थापन गरी सहज यात्रा सुनिश्चित गर्न आग्रह गरेको छ । अध्यक्ष चौधरीले सार्वजनिक सुरक्षा र विकास प्रशासनको विश्वसनीयता कायम राख्न प्रशासनिक तथा प्राविधिक प्रक्रिया छिटो सम्पन्न गरी नयाँ ठेक्का मार्फत स्थायी सडक निर्माण सुरु गर्न सडक डिभिजनलाई विशेष अनुरोध गरेका छन् ।


Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण