१२ दिन बित्यो तर भेटिएन कर्णाली नदीमा बेपत्ता गाडी र सहचालक, खोजी टोली फर्कियो
सारांश
- कर्णाली नदीमा १२ दिनअघि दुर्घटना भएको फोर्स गाडी र एक सहचालक अझै फेला परेका छैनन् ।
- सुरक्षा निकायले विभिन्न टोलीबाट खोजी कार्य गरे पनि गाडी र सहचालकबारे कुनै विवरण फेला पार्न सकेको छैन ।
- पानी परिरहेको र नदीको बहाव बढिरहेकाले खोजी कार्यमा खटिएको जनशक्ति फर्किएको छ ।
सुर्खेत । दुर्घटना भएको १२ दिन बितिसक्दा पनि कर्णाली नदीमा बेपत्ता भएको फोर्स गाडी र उक्त गाडीका सहचालकको अवस्था अझै अज्ञात छ ।
सुरक्षा निकायले विभिन्न प्राविधिक टोलीबाट खोजी कार्य गरे पनि गाडी र सहचालकबारे कुनै विवरण फेला पार्न सकेको छैन ।
असार १८ गते बिहान ११:३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा दुर्घटना भएको थियो ।
गाडी राजमार्गबाट करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेको थियो । त्यसपछि गाडी नदीमा डुबेको थियो भने सवार ५ मध्ये ४ जना गाडीसँगै नदीमा बेपत्ता भएका थिए ।
कालिकोटको पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवा भने भीरमा अड्किएको अवस्थामा फेला परेका थिए ।
दुल्लु अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । त्यस्तै, गाडीसँगै नदीमा बेपत्ता भएका कालिकोटको पचालझरना गाउँपालिका–९ का मेगे तिरुवाको शव अघिल्लो सोमबार कैलालीको सुङ्गरखाला क्षेत्रमा भेटिएको थियो ।
त्यस्तै, कालिकोटको रास्कोट नगरपालिका–२ की १८ वर्षीया सिर्जनाको शव गत मङ्गलबार पश्चिम सुर्खेतको चौकुने गाउँपालिका—४ मा पर्ने डङ्डगे क्षेत्रमा भेटिएको थियो ।
तुलाराम सुवेदीको शव ९ दिनपछि अछामको तुर्माखाँद गाउँपालिका–२ जमगडास्थित कर्णाली नदीको किनारमा भेटिएको हो ।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँ निवासी चालक सुवेदीको शव भेटिए पनि उनका भाइ तथा सहचालक रामप्रसाद सुवेदीको अवस्था भने अझै अज्ञात छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले पानी परिरहेको र नदीको बहाव बढिरहेकाले खोजी कार्यमा खटिएको जनशक्ति पनि फर्किएको रातोपाटीलाई बताए ।
उनका अनुसार, अहिले केही सशस्त्र र केही नेपाल प्रहरीबाहेक बाँकी प्राविधिक टोली, नेपाली सेना तथा प्रहरी जनशक्ति फर्किएको छ ।
खोजी कार्यका लागि सशस्त्र प्रहरीको सुर्खेत बाहिनीबाट ६ जनाको गोताखोर टोली र ड्रोन क्यामरासहितको टोली घटना भएकै दिनबाट खटिएको थियो ।
त्यसपछि विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट सहायक प्रहरी निरीक्षकको कमान्डमा ५ जनाको टोली अत्याधुनिक उपकरण (सोनार क्यामरा, म्याग्नेट) सहित परिचालन गरिएको थियो ।
यद्यपि अहिले उक्त टोली फर्किएको प्रमुख जिल्ला अधिकारी सारुले बताए । ‘धमिलो पानीमा सोनार क्यामराले खासै काम नगर्ने रहेछ,’ उनले थपे, ‘उहाँहरू फर्किनुभयो ।’
त्यहाँ नेपाली सेनाको हेलिकप्टरद्वारा समेत खोजतलास गर्ने काम भए पनि केही विवरण पत्ता लागेन ।
हालसम्म पत्ता लागेका शव पनि खोजी कार्यमा सक्रिय सुरक्षाकर्मी तथा प्राविधिक टोलीले पत्ता लगाएका होइनन् । नदी किनारका स्थानीयले देखेपछि प्रहरीकहाँ खबर गरेका थिए ।
‘नदीमा पानीको बहाव झन्–झन् बढिरहेको छ, खोजी कार्य गर्न कठिन भयो,’ सारुले भने, ‘जसका कारण धेरैजसो जनशक्ति फर्किएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण