मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अदालत

संविधानसभाका तीन सदस्यलाई जेल सजाय

मङ्गलबार, ३० असार २०८३, १६ : ०६
मङ्गलबार, ३० असार २०८३

सारांश

  • उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागज मुद्दामा संविधानसभाका तीन सदस्यलाई जेल सजाय र जरिवाना हुने फैसला सुनाएको छ।
  • फैसलामा संविधानसभा सदस्य गायत्री साह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय यादवलाई राहदानी ऐन विपरीतको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतको फैसला सदर गरिएको छ।
  • उनीहरूले संविधानसभा सदस्यको हैसियतमा पाएको राहदानी बिचौलियालाई बिक्री गरेको प्रहरीको आरोप थियो।

काठमाडौँ । उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागजसम्बन्धी मुद्दामा संविधानसभाका तीन सदस्यलाई जेल सजाय र जरिवाना हुने फैसला सुनाएको छ । काठमाडौँ जिल्ला अदालतको फैसलालाई उच्च अदालत पाटनले सदर हुने फैसला सुनाएको हो।

गत असार २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको संयुक्त इजलासबाट संविधानसभा सदस्य गायत्री साह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय यादव राहदानी ऐन विपरीतको कसुरमा दोषी ठहर हुने जिल्लाको फैसला सदर गरेको छ । फैसलाको पूर्ण पाठ भने आउन बाँकी छ ।

काठमाडौँ जिल्ला अदालतले ०७१ साल जेठ २१ गते तत्कालीन संविधानसभा सदस्य गायत्री साह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय यादवलाई  जनही पाँच महिना कैद र ५०० रुपैयाँ जरिबानाको फैसला सुनाइएको थियो ।

यो मुद्दामा बिचौलियाको अभियोग लगाइएका डिलबहादुर घर्ती, गोपाल बानियाँँ, मनोजकुमार कार्की, देवेन्द्र पौडेल र सन्तोषराज उप्रेतीलाई पनि कीर्ते कागज कसुरमा दोषी ठहर गरिएको छ । उनीहरूलाई जनही एक वर्ष कैद र पाँच लाख ५४ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

जिल्ला अदालतले नक्कली राहदानी प्रयोग गरी अस्ट्रेलिया जान खोजेका म्याग्दीका पृथ्वी छन्त्याललाई एक वर्ष कैद र ५०० रुपैयाँ जरिबानाको सजाय सुनाएको थियो । 

गायत्री, विश्वनाथप्रसाद र शिवपुजनले संविधानसभा सदस्यको हैसियतमा प्रदान गरिएको विशिष्ट कूटनीतिक राहदानी आर्थिक लाभका निम्ति बिचौलियालाई बिक्री गरेको प्रहरीको आरोप थियो । उनीहरू ०६४ सालको संविधानसभा सदस्य हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप