दार्चुलामा भेटिए कालाजारका बिरामी
हिमाली जिल्ला दार्चुलामा कालाजारका बिरामी भेटिएका छन् । बिहीबार दार्चुला अस्पतालमा उपचारका लागि आएका मालिकार्जुनका एक जनामा कालाजार भएको भेटिएको हो ।
लामो समयदेखि ज्वरोले सिकिस्त देखिएका ५० वर्षीय पुरुषमा कालाजार भेटिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए ।
उनलाई थप उपचारका लागि सुदूरपश्चिम प्रादेशिक अस्पताल धनगढी सिफारिस गरिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । मलेरिया, कालाजारजस्ता ज्यानै जोखिममा पार्ने रोगहरुको सङ्क्रमण हिमाली जिल्ला दार्चुलामा समेत देखापरेको हो ।
जलवायु परिवर्तनका कारण जीवजन्तु, जीवाणु र परजिवीहरुले समेत बसाइँसराइ गर्न थालेपछि पहाडमा कालाजारका बिरामी भेटिन थालेका छन् । तराईका जिल्लामा पाइने लामखुट्टे, भुसुनाजस्ता परजिवीको बिगबिगी पछिल्लो समय पहाडी जिल्लामा समेत बढ्दै गएको छ ।
दार्चुलामा विसं २०७५ मा चार जना कालाजारका बिरामी भेटिएका थिए । यसअघि कालाजारका कारण एक जनाको जिल्लामै ज्यान गएपछि क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट टोली आएर अध्ययनसमेत गरेको थियो । कालाजार रोग लागे हल्का ज्वरो आउने, तौल घट्ने, थकान महसुस हुने, खानामा रुचि नहुने, रक्तअल्पता हुने, कलेजो तथा फियोको आकारमा वृद्धि हुने, छालाको रङ गाढा हुँदै जानेजस्ता लक्षणहरु देखापर्ने जिल्ला अस्पतालका चिकित्सक डा गजेन्द्र दुवाल बताउँछन् ।
कालाजार एक प्रकारको भुसुना (स्यान्डफ्लाइ) ले टोकेर हुने सरुवा रोग हो । रोगीलाई टोकेको भुसुनाले स्वस्थ व्यक्तिमा टोके यो रोग सार्ने गर्छ । लिस्मानियाबाट सङ्क्रमित पोथी भुसुनाद्वारा मान्छेमा सर्ने रोग कालाजार हो । यसको लक्षण भुसुनाले टोकेको एकदेखि चार महिनाभित्र देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।
यो रोगबाट बच्न घर छेउछाउ सफा राख्ने, सुत्दा झुल प्रयोग गर्ने, साँझपख घरबाहिर बस्दा हातखुट्टा छोपिने लुगा लगाउनेजस्ता उपाय उपयोगी हुने चिकित्सकको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण