सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउन असर – एउटै फार्ममा एक करोडको माछा अलपत्र

बिहीबार, २५ वैशाख २०७७, १३ : ०१
बिहीबार, २५ वैशाख २०७७

करिब दस वर्ष अगाडि कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा स्थापना भएको गण्डकी रेन्बो ट्राउट फार्ममा यतिबेला करिब १० टन जति माछा बजार अभावका कारण पोखरीमा थन्किरहेका छन् । यही अवस्था कायम रहे फार्ममा रहेका करिब एक करोड रुपियाँ बराबरका माछा अलपत्र पर्ने फार्मका सञ्चालक लक्षिन गुरुङले बताए । 

 रोजीरोटीका लागि विदेशमा काम गरिरहेका घान्द्रुकका लक्षिन गुरुङ र रिवानका अमृत गुरुङले करिब ६ करोड बराबरको लगानी गरेर दुई ठाउँमा ७५  रोपनी जग्गा लिएर गण्डकी प्रदेशमा नै पहिलो पटक ट्राउट माछापालनको सुरुवात गरेका थिए  । 

पोखरीमा खेलिरहेका माछा हेर्दै अमृत गुरुङ भन्छन्– ‘हामीले भूकम्प पनि बेहो¥यौँ, नाकाबन्दी पनि भोग्यौँ तर अहिले जतिको सङ्कट कहिल्यै बेहोर्नु परेन । हामीसँग २८ जना काम गर्ने मजदुरहरु हुनुहुन्छ । अहिले सिजनको समय हो, हामीले यो तीन महिनामा कम्तीमा पनि ७० लाख बराबरको बिजनेस त यही गथ्र्यौँ । त्यसका अलवा पनि पोखराका राम्रा होटलहरुमा माछा पठाउनुका साथै विदेशमा समेत माछा सप्लाई गथ्र्यौं । अहिले आम्दानीको कुरा त आकाशको फल भएको छ । उल्टै खर्च धान्न पनि धौँ धौँ भएको छ ।’

‘लकडाउन छ भनेर कर्मचारीलाई तलब नदिने कुरा भएन, माछा विकेन भनेर माछालाई दाना नहाल्ने कुरा पनि भएन । कर्मचारी तलब र दानामा मात्र मासिक १३ लाख खर्च हुन्छ । हामीले सरकारले भन्दा एक दिन अगाडिदेखि यहाँ लकडाउनको घोषणा गरेका हौँ । ल्याएको दाना पनि अब केही समयलाई मात्र धान्छ । त्यसपछि के गर्ने हो थाह छैन । ट्राउट माछाको स्ट्यान्डर साइज भनेको दुई सयदेखि तीन सय ग्राम मात्र हो । अहिले लकडाउनका कारण माछाको साइज बढेर एक किलोभन्दा बढीको भइसकेका छन् । यो जातको माछा बढीमा पन्ध्र सय ग्राम मात्र हुन्छ । त्यसपछि जति दाना खुवाए पनि बढ्दैन । अनि त अहिलेसम्मको लगानी चौपट हुन्छ । हाम्रो त यो सिजनको समय हो हामी त चौपट हुने भयौँ,’ लक्षिन गुरुङले बताए ।

अहिले गण्डकी रेन्बो ट्राउट फार्ममा करिब दस हजार किलो माछा छन् । लकडाउन खोल्ने वित्तिकै पनि माछाले बजार पाउने अवस्था नरहेको सञ्चालकहरु बताउँछन् । 

करिब दस वर्ष अगाडि देशमा नै केही गरौँ भनेर व्यवसाय सुरु गरेका व्यवसायीहरु अहिले माछा खेर जाने पीडाले चिन्तित अवस्थामा रहेका छन् । ‘यो लकडाउन नभएको भए हामीले माछासँगै तरकारी खेतीलाई पनि अगाडि बढाउने सोच बनाएका थियौँ । थप दुई सय रोपनी जग्गा लिएर नेपालकै उत्कृष्ट फार्मको रूपमा अगाडि बढाउने सोचमा थियौँ । हामी दानाको कच्चा पदार्थ मात्र खरिद गरेर यहीँ दाना बनाउनेहरुको हालत त यस्तो छ भने दाना किनेर माछा पाल्नेहरुको अवस्था कस्तो होला ? अहिलेकै अवस्थामा हामी करिब ३० लाख घाटामा छौँ । माछाको स्ट्यान्डर साइज क्रस भएका कारण अझै घाटा बढ्छ । तत्काल लकडाउन खोले पनि यो माछा बिक्ने अवस्था छैन । अबको हाम्रो आशा भनेको त भगवान भरोसा मात्र हो ।’

नेपालकै ठूलो ट्राउट फार्मका सञ्चालकहरुको दैनिकी आजकाल मोबाइलमा लकडाउन खुल्ने दिनको समाचार कुरेर बस्नु मात्र भएको छ । उक्त फार्मले माछाका भुरा उत्पादन गर्ने, उत्पादित माछालाई रेस्टुरेन्टमा बेच्ने र विदेशमा समेत पु¥याउँदै आएको छ ।

ट्राउट माछाको बजार मूल्य प्रतिकेजी १२ सय पर्दै आएको छ । यसरी लकडाउन बढ्दै गएको अवस्थामा सरकारले नयाँ पोलिसी नबनाउने हो भने करिब एक करोडभन्दा बढी माछा खेर जाने अनुमान गरिएको सञ्चालकहरु बताउँछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सौगात पोखरेल
सौगात पोखरेल
लेखकबाट थप