सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको उपचार गर्ने सरकारी अस्पताल, सरकारको मोह भने निजीतिर

शनिबार, ०६ असार २०७७, १२ : ४९
शनिबार, ०६ असार २०७७

पोखरा । गण्डकी प्रदेश सरकारले तीन निजी अस्पाताललाई कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्ने भन्दै आइसोलेसन बेड तयार पारिएको भन्दै आए पनि अहिलेसम्म सरकारी अस्पतालले मात्र संक्रमितको रेखदेख तथा उपचार गर्नु परेको छ ।

प्रदेश सरकारले मणिपाल, गण्डकी मेडिकल कलेज र चरक मेमोरियल अस्पतालमा पनि आइसोलेसन बेड राखेर कोरोना संक्रमितको उपचार गर्ने बताउँदै आएको थियो । यी तीनै अस्पतालको ब्राण्डिङको भूमिका निर्वाह गर्दै प्रदेश सरकारले बारम्बार नाम लिए पनि अहिलेसम्म यी तीनै अस्पतालमा कोरोना संक्रमितहरुलाई भर्ना गरिएको छैन ।

सर्वसाधारणको पहुँच भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले कोरोना परीक्षणदेखि संक्रमितहरुको व्यबस्थापन एक्लै गरिरहेको छ । कोरोना उपचारका लागि आइसोलेसन बेड बनाएको भनेर दावा गर्ने निजी अस्पतालहरुले सामान्य ज्वरो आएका बिरामीलाई पनि रेफर गर्दै आएका छन् ।

पश्चिमाञ्चल अस्पताललाई कोरोना अस्पतालका रुपमा विकास गर्दा कयौं सर्वसाधारणले दुःख पाईरहेका छन् । अन्य रोगका बिरामीहरुको चाप पनि बढेको र कोरोना संक्रमितको पनि उपचार एक्लैले गर्नुपर्दा क्षेत्रीय अस्पतालमा बिरामीको चाप धानिनसक्नु भएको छ । 

कोरोना संक्रमितलाई अन्य निजी अस्पतालमा पठाउने दिशामा पहल नभएकै कारण पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले आफ््नो मेडिकल वार्डको ३० बेडलाई पनि आइसोलेसन बेडको रुपमा विकास गरेको छ ।
मेडिकल वार्डलाई आइसोलेसन बनाउँदा अन्य बिरामीलाई असर परेन र ? भन्ने प्रश्नमा क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्य भन्छन्, ‘हामीले तर सरकारको आदेशलाई मान्ने हो । प्रदेश सरकारले त्यसै गर्नु भनेका कारण हामीले गरेका हौँ । केहि असर त स्वाभाविक हिसावले पर्छ नै, तर असर कम पर्नेगरी काम गरिरहेका छौँ ।’

केही समय अगाडि सडक दुर्घटनामा घाइते भइ मणिपाल अस्पताल भर्ना भएका बिरामीलाई कोरोना संक्रमण देखिएपछि राताराात पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याईएको थियो । गम्भीर प्रकृतिको शल्यक्रिया भएको बिरामीलाई स्थानान्तरण गर्नु स्वास्थ्य नियम विपरित रहने विज्ञहरु बताउँछन् । मणिपालमै संक्रमितहरु राख्ने वार्ड भएको भनिए पनि कोरोना संक्रमितलाई सरकारी अस्पतालमा रेफर गर्नु अनौठो मानिएको छ ।
पश्चिमाञ्चल अस्पतालमा बिरामीको चाप बढिरहँदा प्रदेश सरकारले भने निजी अस्पतालहरुसँग समन्वय नै गरेको छैन । गण्डकी प्रदेशको कोरोना प्रयोगशालादेखि आइसोलेसन बेडसम्म क्षेत्रीय अस्पतालमै भएका कारण अन्य बिरामीलाई पनि समस्या पर्न थालेको छ ।

स्याङ्जाका हरि ढकाल उपचारका लागि विगत तीन दिनदेखि क्षेत्रीय अस्पतालमै छन् । अस्पतालमा देखिने भिडले आफूमा त्रास पैदा गरिरहेको उनी बताउँछन् । उनी भन्छन् ‘अस्पतालबाटै कोरोना सर्छ कि भन्ने डर लाग्छ कहिलेकाहीँ । अस्पतालमा ओपिडीको टिकट लिनेदेखि उपचार गराउनेसम्मको भिड उस्तै छ ।’

सरकारी अस्पतालाई कामको यति चाप परिरहँदा प्रदेश सरकारले प्रचार गर्दै आएको तीन निजी अस्पतालले भने ज्वरोका बिरामीलाई समेत गेटबाटै फर्काउन थालेका छन् । कोरोना उपचारमा काम नै नगर्ने तर आइसोसन वार्ड बनाएको भनेर प्रदेश सरकारले नै बारम्बार सार्वजनिक कार्यक्रममा नाम लिएर ती निजी अस्पतालको प्रचार गर्ने काम किन गरियो भन्नेबारे बुझ्न नसकिएको क्षेत्रीय अस्पतालका एक चिकित्सकले भने । 

काम गर्नेचाहीँ सरकारी अस्पताल तर प्रदेश सरकारले निजी अस्पतालको प्रचार गरेबाट काम गर्ने कालु मकै खाने भालु भन्ने उखान चरितार्थ भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सौगात पोखरेल
सौगात पोखरेल
लेखकबाट थप