शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध रुपमा भित्रिएका भारतीयले सङ्क्रमण बढाएको गुनासो

सोमबार, १२ साउन २०७७, ०६ : ३४
सोमबार, १२ साउन २०७७

वीरगञ्ज – अवैद्य तरिकाले नेपाल भित्रिरहेका भारतीय कामदारले बारा पर्सामा कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण फैलिएको गुनासो आउन थालेको छ ।

आवश्यक होशियारी र सुरक्षा मापदण्ड अपनाएर उद्योग, व्यवसाय गर्न दिने सरकारी निर्णयपश्चात् पर्सा–बारा औद्योगिक करिडोरमा रहेका उद्योगले भारतीय कामदार भित्र्याएका हुन् ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले उद्योगहरुले भारतीय मजदुर अवैद्य रुपमा ल्याएर कोरोनाको सङ्क्रमण फैलाएको व्यापक जनगुनासो आएको स्पष्ट पारे । यही गुनासोका आधारमा ती उद्योगहरुको अनुगमन सुरु गरिएको पनि बस्नेतले बताए ।

उद्योग सञ्चालन गर्न सरकारले मापदण्ड तोकेको छ । कामदारको पीसीआर परीक्षणलाई अनिवार्य गरिएको छ । कामदारलाई १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गराउनुपर्ने र उद्योग परिसरभित्रै बस्ने व्यवस्था मिलाउनुपर्छ । तर यो मापदण्डलाई पर्सा–बारा औद्योगिक करिडोरका अधिकांश उद्योगले पालना नगरेको जनगुनासो छ ।

वीरगञ्ज भिस्वाका धिरज पासवनले भारतीय कामदार सहजै भित्रिइरहेका र उद्योगले कुनै होशियारी वा सुरक्षा मापदण्ड नअपनाई ती कामदारलाई काममा लगाएकाले समुदायमै सङ्क्रमण फैलिएको आरोप लगाए । भारतीय कामदारहरु टोलटोलमा देखिने गरेको स्थानीयले बताए ।

वीरगञ्ज र पर्सा –बारा औद्योगिक करिडोरमा रहेका ट्रक÷बसको बडी बनाउने, टायर मर्मत गर्ने, सवारी साधनका मेसिनरी सामान बेच्ने र मर्मत गर्ने वर्कसपमा भारतीय कामदारहरु देखिने गरेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा दीपकप्रसाद गौतमले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप