जनकपुरको चुनाव : जेलमा रहेका संजय ‘टकला’ यसरी बन्न सक्छन् निर्णायक

जनकपुर । तेस्रो चरणमा असोज २ गते स्थानीय तहको चुनाव हुँदैछ । दुई नम्बर प्रदेशको आठवटा जिल्लामा हुने चुनावमा प्रमुख ठूला दल तथा मधेसवादी दलहरू प्रतिस्पर्धामा देखिएका छन् ।
मतदाता तान्नका लागि दलहरू प्रचार प्रसार गर्नुको साथै विभिन्न रणनीति बनाउनमा व्यस्त देखिन्छ । विभिन्न क्लस्टर तथा समूह र समुदायमा रहेका मत आफूतिर कसरी तान्न सकिन्छ, त्यसका लागि कार्यकर्ताहरू दौडधुपमा लागेको देखिन्छ ।
सबैतिर चुनावको माहोल अर्कै छ भने जनकपुर उपमहानगरपालिकाको चुनाव अनौठो देखिन्छ । २५ वटा रहेको सो उपमहानगरपालिकामा प्रमुख दलले मेयरको उम्मेदवार साह थरका नै बनाएका छन् । साहु महाजनको बाहुल्य रहेको सो उपमहानगरपालिमा यसअघि पनि साहु महाजनकै वर्चस्व रहन्थ्यो ।
काङ्ग्रेसले मनोज साहलाई उठाएको छ भने एमालेले लक्ष्मीनारायण साह र माओवादी केन्द्रले चन्द्रशेखर साहलाई मैदानमा उतारेको छ । राष्ट्रिय जनता पार्टी नेपालले लालकिशोर साह, सङ्घीय समाजवादी फोरम नेपालले विष्णुदेव साह र नेपाल लोकतान्त्रिक फोरम नेपालले हंसराज साहलाई मेयरमा उठाएको छ । यी साहहरूमध्ये एकजना कोही मेयरमा जित्नेछन् । यद्यपि त्यहाँ अरू पनि मेयरमा उम्मेदवार छन् । तर, शक्तिशाली छैनन् ।
साहु महाजनलाई यसपालि कुनै एउटा साहमा मतदान गर्ने विकल्प छैन । जब कि यसअघि उठ्ने कुनै एकजना साह थरका उम्मेदवारलाई सबै मत जान्थ्यो र ऊ जित्थ्यो । यसपालि एउटै पदमा छजना साहले उम्मेदवारी दिएका कारण सबभन्दा बढी मत कसले तान्न सक्छ त्यसले नै जित्छ । त्यसमा एउटा मुख्य फ्याक्टर संजय साह ‘टकला’ भएका छन् ।
जनकपुर बम काण्ड र अरुण सिङ्घानियाको हत्या काण्डमा जेलमा रहेका साहको मत कता जान्छ ? चासोका साथ हेरिएको छ । संजय साहले यहाँबाट दुई पटक चुनाव जितेका हुन् । पहिलो संविधानसभा र दोस्रो संविधानसभा गरी दुई पटक चुनाव जितेका संजय साहको जातीय मत अहिले पनि कही गएको छैन । उनले पहिलादेखि पाउँदै आएको मत जहाँ खसाल्न भन्छज्, त्यही खस्छ र त्यो नै विजय हुन सक्छ ।
संजय साहको मत जनकपुर महानगरपालिकामा निर्णायक भएपछि माओवादी केन्द्र, एमाले, सङ्घीय समाजवादी फोरम नेपाल, लोकतान्त्रिक फोरमलगायतका दलहरूले सो मत तान्ने प्रयास गरेका छन् । माओवादी केन्द्रले त संजयका श्रीमती रङ्गीलालाई मेयरमा उठाउने निर्णय पनि गरिसकेको थियो । अन्य दलहरू विभिन्न प्रलोभन दिइरहेका थिए ।
तर, जसले जति प्रयास गरे पनि संजय साहको मत राजपा नेपाललाई नै जाने सम्भावना देखिएको छ । संजय साहको राजपा नेपालले निर्वाचन गर्ने निर्णय गरेको छ । जब कि संजय साह जेल परेपछि राजपा नेपालमा रहेका सद्भावना पार्टीले उनलाई कारवाही गरेर निकालको थियो । जेलमा परेपछि उनलाई छोडाउनका लागि तत्कालीन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले कुनै सहयोग नगरेको भन्दै संजयका श्रीमतीले पनि सो पार्टीबाट राजीनामा दिएको घोषणा गरेकी थिइन् ।
घोषणा मात्र होइन, उनले जारी गरेको विज्ञप्तिमा त संजय साहलाई राजेन्द्र महतोले नै फँसाएको आरोपसमेत लगाएकी थिइन् ।
त्यतिबेला नै उनी माओवादी केन्द्रमा जाने पनि चर्चा भएको थियो । उनी माओवादी केन्द्रमा गइनन् । राजपा नेपालसँग कुनै सम्पर्क नरहेका संजय साहले जेलबाटै चुनावको समयमा एकाएक सो दललाई सहयोग गर्नुलाई जनकपुरमा चासोका साथ हेरिएको छ ।
उनी निकट एक नेताले भने– ‘राजपा नेपाललाई संजय साहले समर्थन गर्नुको बाध्यता रहेको छ । यदि राजपा नेपाललाई समर्थन गरिएन भने काङ्ग्रेसको जित सुनिश्चित हुन्छ । त्यसैले बाध्य भएर राजपा नेपाललाई समर्थन गरेका हुन् ।’
काङ्ग्रेसका नेता विमलेन्द्र निधिका कारण संजय साह जेल गएको आम बुझाइ देखिन्छ र यो कुरा सञ्जय साहका सहयोगीे खुल्ला रूपमा भन्दै आएका छन् । विमलेन्द्र निधि र संजय साहबीच शक्ति सङ्घर्षको विवाद रहेको छ । धनुषा जिल्लामा शक्तिशाली देखाउनका लागि यी दुई नेताबीच द्वन्द्व थियो । अहिले पनि विमलेन्द्र उपमहानगरपालिकामा काङ्ग्रेसका उम्मेदवार मनोज साहलाई जिताउनका लागि पूरै शक्ति लगाइसकेका छन् ।
विमलेन्द्र निधि आफ्ना पार्टीका उम्मेदवारलाई जिताउनका लागि पूरै शक्ति लगाइसकेपछि जेलमा रहेका संजय साहले पनि आफ्ना सहयोगी र कार्यकर्तालाई राजपा नेपालका तर्फबाट मेयरका उम्मेदवार लालकिशोर साहलाई सहयोग गर्न भनेका छन् । अहिले संजयका साहका सहयोगीहरू लालकिशोरको साथमा २४ घण्टा हुन्छन् । सुरक्षा दिने काम पनि संजय साहको सहयोगीबाट भइरहेको स्रोतले जनाएको छ ।
संजय साह पहिलो सविधानसभा चुनावमा तत्कालिन मधेसी जनअधिकार फोरम नेपालबाट चुनाव जितेका थिए । पहिलो संविधानसभाकै बेलामा उनी फोरम नेपाल छाडेर विजयकुमार गच्छदारको तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) मा प्रवेश गरेका थिए । त्यो दलमा केही दिनपछि उनले मधेस क्रान्ति भनेर छुट्टै सङ्गठन बनाएका थिए । दोस्रो संविधानसभामा उनले तत्कालीन सद्भावना पार्टीबाट चुनाव लडेका थिए ।
हत्याकण्डका आरोपी संजय साह हाल सिरहा जेलमा रहेका छन् । जनकपुर उपमहानगरपालिकामा साहु महाजनको जनसङ्ख्या २२ हजारभन्दा बढी रहेका छन् । साहमा पनि विभिन्न जात छन् । तेली, कलवार, सुडी, नुनिया, कलाल, हलुवाई, रौनियार रहेका छन् । यी सबै मिलाएर उनीहरूले साहको मात मानिन्छ ।
ऐतिहासिक र धार्मिक नगरी जनकपु अस्तव्यस्त सडक, फोहोर र अव्यस्थित छ । तर, चुनावमा यी एजेन्डामा भन्दा पनि शक्ति, जातीय समूह र पुरानो भोट बैङ्कको बलमा चुनाव जित्ने कोसिस भइरहेको छ । यस्तोका संजय जस्ता नेता हार जितका फ्याक्टर बन्न सक्छन् ।