लगातारको वर्षाले तरकारी खेती सखाप
लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका तरकारीका बेर्ना, उम्रदै गरेका सागसब्जीका बिरुवा र लहरे तरकारी बाली लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरोलो बढेको हो ।
बारीमा रोपिएका कोभी, भाण्टा, खोर्सानी र अरु तरकारीका बेर्ना चोटिलो वर्षाको पानीले सोतर (माटोमा लडाएको) बनाएको छ ।
त्यसैगरी रायो, लट्टे (ठडिया) र अन्य सागका बिरुवा लतारिएका छन् । घिरौँला, झिमनी, लौका, चिचिण्डा, काँक्रा, परवल र करेलासहित लहरे तरकारीका बेला (लहरा) पनि लगातारको पानीले गलाएर पहेँलिएका छन् ।
भदौ निगल्दोको वर्षा र अहिले लगातार चार दिनदेखि परिरहेको पानीले यसपालि हिउँदे तरकारी खेतीबाट हातधुने अवस्था बनेको किसानको दुखेसो छ । महोत्तरीका सबैजसो भेगमा गत मङ्लबारदेखि लगातार चोटिलो पानी पर्दै आएको छ ।
“तरकारीका बेला पानीले गलाएर पहेँलिएका छन्, नयाँ रोपिएका बेर्ना चोटिलो पानीले सोतर बनाएर लडाएको छ”, जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका किसान गङ्गाराम महतो भन्छन्, “खेतबारी गिलिएर जोतखन र गोडमेल गर्न नसकिने भएको छ, चाँडै उत्पादन लिने आलु पनि अब रोप्न पाइने आस म¥यो ।”
सधैँजसो दशैँ, तिहार र छठपर्वलाई लक्षित गरी लगाइने तरकारी खेती यसपालि लगातारको वर्षाले गलाएपछि मुखमै रहेका यी पर्वमा तरकारीको हाहाकार नै हुने र मूल्य आकाशिएर सर्वसाधारण उपभोक्ताले किनेर खाने स्थिति नरहने महतोसहितका किसानको भनाइ छ ।
लगातारको वर्षाले तरकारी बाली खेतबारीमै गलाएपछि किसान पिरोलिनसँगै बजारमा तरकारीको मूल्य आकाशिएको छ । किसानका खेतबारीमा तरकारी नभएपछि बजारु उपभोक्ता पनि महङ्गाइको मारमा परेका छन् । लगातारको वर्षाले हातमुख जोर्ने काम अत्यन्त मङ्हगो भएको सर्वसाधारण उपभोक्ता बताउँछन् । महोत्तरीका १५ स्थानीय तहका कार्यालयहरुको आँकडाअनुसार जिल्लामा १० हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती लगाइँदै आइएको देखिन्छ ।
लगातारको वर्षाले जिल्लाका ग्रामीण सडक मात्र नभएर मुख्य सडक नै हिलाम्मे भएका छन् । पछिल्लो तीन दिनको वर्षाले जिल्लामा सडक स्तरोन्नति र सम्भारका भइरहेका काम पनि रोकिएको छ ।
बर्दिवास–रामगोपालपुर–जलेश्वर, सम्सी–मनरा–जलेश्वर, सम्सी–लोहारपट्टी–जनकपुर, जलेश्वर–रौजा–बर्दिवास र अन्य धेरै सडकमा हिलो जमेर साना सवारी साधन (साइकल, मोटरसाइकल, जीप, भ्यान) पनि चल्न सकेका छैनन् ।
तरकारी बाली र सडक यातायातमा असजिलो बढे पनि पछिल्लो वर्षाले पोटाउन लागेको धानबालीलाई भने अमृतकै काम गरेको किसान बताउँछन् । जिल्लामा यसपटक ४० हजार हेक्टर क्षेत्रफलमा हिउँदे धान खेती गरिएको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय महोत्तरी जलेश्वरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गर या मर’को खेलमा वर्षा खलनायक बन्ने डर
-
लाल सागरमा तेल ट्याङ्करमा मिसाइल आक्रमण
-
पुम्से सेमिनार तथा रिफ्रेसर कोर्स सम्पन्न
-
ललितपुर मेयर कप : लगातार चौथो पटक एपीएफ च्याम्पियन
-
सभामुखले प्रधानमन्त्रीलाई भने, ‘विश्वासको मतअघि संसद् सुचारु हुने वातावरण बनाउनुस्’
-
संसद्को गतिरोध अन्त्यका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षबिच छलफल