त्यसबेलाका सीपी अहिलेका केपीजस्तै, ३८ वर्षअघि फर्केर हेर्दा....
कोही–कोही नेताका कुराको लय कस्तो भने, ३८ वर्षअघि जस्तो, अहिले पनि त्यस्तै । प्रसंग नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको हो ।
सत्तारुढ नेकपाभित्र ९ महिनादेखि चर्किंदै आएको विवादका क्रममा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग असन्तुष्ट अर्का अध्यक्ष प्रचण्डसहित झलनाथ खनाल, वामदेव गौतम, भीम रावलहरूका अनेक–अनेक अभिव्यक्ति आए ।
तर, शुरुदेखि अहिलेसम्म पनि माधव नेपालले एउटै कुरा भनिरहेका छन्, ‘प्रधानमन्त्री हटाएर हैन राखेरै, उनलाई सच्याएर जाऔँ ।’ जबकि, अरु नेताले यसबीच राजीनामाको मागदेखि अविश्वासको प्रस्ताव हुँदै संसदीय दलको नेताबाट हटाउनुपर्नेसम्मका अडान राख्दै आएका छन् । तर, माधव नेपाल भन्दै छन्, ‘हैन, विधि र पद्धति स्थापित गर्ने कुरा गरौँ ।’ उनले यही अडानका कारण फागुनमै प्रधानमन्त्रीलाई पदच्युत गर्ने विधितिर गइसकेको यो झगडा त्यो तहमा पुग्न पाएको छैन । अहिले पनि माधवको अडान त्यही नै छ । यो कुरा यतिबेला स्मरणीय हुनुको एउटा सन्दर्भ छ, ३८ वर्षअघिको ।
२०३९ सालमा सिन्धुली जिल्लाको कुनै ग्रामीण बस्तीमा तत्कालिन नेकपा मालेको सातौं केन्द्रीय कमिटी बैठक र त्यो बैठकअघिबाटै चर्किएको अन्तरसंघर्षमा माधवको भूमिका यस्तै थियो । त्यसबेला महासचिव थिए, सीपी मैनाली । मदन भण्डारी, जीवराज आश्रित, माधव नेपाल र झलनाथ पोलिटव्युरो सदस्य थिए भने अमृत बोहोरा, नेत्रलाल शर्मा (अभागी), मोदनाथ प्रश्रित (जेलमा), वामदेव गौतम, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, ईश्वर पोखरेलहरू केन्द्रीय सदस्य । ०३७ सालको जनमतसंग्रहपछि उपयोग या बहिष्कार गर्नेदेखि अनेक प्रकारका तुष बढ्दै गएपछि यीमध्ये सबै नेता उनलाई पदच्युत गर्नुपर्ने कठोर निर्णयमा पुगिसकेका थिए ।
तर, माधवचाहिँ सीपीलाई गलहत्याएर समाधान हुँदैन भन्नेमा अडिग भए । जबकि, उनी सीपी पक्षधर वा उनको बचावमा थिएनन् । उनको भनाइ थियो– ‘राजीनामा दिन्छु भन्नुभएकै छ । किन कारवाही गरेर निकाल्ने ? राजीनामा दिन्छु भनिसकेपछि पर्खौं न...!’ तर, त्यसबेलाको सीपी अहिलेको केपीजस्तै ! बैठक सामना गर्नै नचाहने । बैठक बसिहाले पनि ‘भड्याङ–भुडुङ’ गरेर कुरा अन्तै मोड्ने । माइन्युट फ्याँकेर घुर्की देखाउने ! त्यसमाथि माधवले नै ‘पर्खौँ न’ भनेपछि दृष्टिविहीनले आँखो पाएजस्तो ! तर, त्यसबेला जीवराज र मदनको अडानका कारण माधवको सदाशयता लामो समय टिक्न पाएन । त्यही बैठकमा सीपी आफूले आफैँलाई कारवाही गरेको माइन्युट तयार पारियो । सीपी आफ्नो हातबाट आफ्नै महासचिव पद सिध्याउन बाध्य भए ।
उतिबेला मदन भण्डारीको उदाउँदो सांगठानिक क्रियाशीलता र पार्टीभित्र बढ्दो प्रभावका कारण उनले भनिसकेपछि माधवले फेरि केही बोलेनन् । तर, यतिबेला माधवले ‘लौ न त लौ’ भनेर प्रचण्ड, झलनाथहरूको लयमा गए भने केपी ०३९ को सीपी बन्ने खतरा टड्कारो छ । जनआस्था साप्ताहिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण