बालुवाटारले बुनेको तानाबाना पेरिसडाँडाले बर्बाद बनाइदियो !
प्रधानमन्त्रीले केपी ओलीले भने– ‘कोटेश्वरतिरको तानाबाना सबै भताभुङ्ग पारिने छ !’ तर, जुन विषयको तानाबाना कोटेश्वरमा बुनियो, त्यो भताभुङ्ग भएन । बरु, बालुवाटारले बुनेको तानाबानाचाहिँ पेरिसडाँडाले बर्बाद बनाइदिएको छ ।
सन्दर्भ हो, नेपाल बार एशोसिसनको तर्फबाट न्यायपरिषद् सदस्य सिफारिस गर्ने विषय । न्यायाधीश नियुक्ति, सरुवा, बढुवा र तीविरुद्ध परेका उजुरी सुन्नेजस्ता संवेदनशील जिम्मेवारी हुने त्यहाँ सदस्य पठाउन भनेर शुरुदेखि नै बालुवाटारबाट वरिष्ठ अधिवक्ता महेश नेपालको नाममा जोड गरियो । तर, ०७२ सालमा छोटो समय न्यायपरिषद् सदस्य भएका र असोजमा संविधान जारी गरी पुनः नियुक्ति र संसदीय सुनुवाईको अत्तो थापेर पदमुक्त गराइएका रामप्रसाद श्रेष्ठ पनि प्रत्यासी रहेको स्थितिमा उनलाई नै पठाउनुपर्ने अर्को पक्षको चाहना थियो ।
प्रधानमन्त्रीले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउन माधव–प्रचण्डले कोटेश्वरमा वकिलहरूसँग बसेर तानाबाना बुनेपछि बल्ल बालुवाटारमा छलफल गर्न आएको सार्वजनिक रुपमा बताए । तर युक्त छलफलको खास कुराचाहिँ न्यायपरिषद्मा सदस्य पठाउन बारभित्रको समिकरण मिलाउने रहेछ । प्रधानमन्त्रीले ‘तानाबाना भताभुङ्ग पारिने’ भन्नुको अर्थ थियो, न्यायपरिषद्ले सबै जिल्लामा निर्वाचन गराउने न्यायाधीश र विशिष्ट श्रेणीका कर्मचारीलाई सत्य निरुपण तथा बेपत्ता छानवीन आयोगमा समेत पठाउन सक्ने प्रावधान रहेकोले यो सबै काम गर्ने मुहानमै महेश नेपाललाई पठाउने र सर्वोच्चको न्यायाधीश हुँदै केही वर्षपछि प्रधानन्यायाधीशसम्म बनाउन बाटो खोलिदिने । तर, नेपाल बारले बालुवाटारको यो ‘तानाबाना’ को ‘भ्रुणहत्या’ नै गरिदियो । र, यसका लागि पनि राष्ट्रिय राजनीतिमा झैँ बहुपक्षीय सहमति कायम गरियो ।
नेपालबारसँग न्यायपरिषद् सदस्यमात्रै हैन, वकिललाई लाइसेन्स दिने र खोस्ने बार काउन्सिलका लागि पनि दुईजना सदस्य सिफारिस गर्नुपर्ने जिम्मेवारी थियो । यसैमा भागबण्डा गरियो– न्यायपरिषद् पूर्वएमाले, बार काउन्सिलका दुईमध्ये एकमा पूर्वमाओवादी र अर्का कांग्रेससम्बद्ध वकिललाई पठाउने । त्यसअनुसार, बार काउन्सिलका लागि त समस्या भएन । तर, न्यायपरिषद्का लागि ३३ आवेदकभित्र पनि पूर्वएमालेका दुई भेट्रान प्रत्यासी थिए, जसले फरक–फरक समूहको प्रतिनिधित्व गर्थे । अनि, माधवपक्षीय पूर्वएमालेलाई जिताउन पाए बारमाथि गर्न खोजिएको सरकारी हस्तक्षेप पनि अन्त्य हुन्थ्यो भन्ने पक्षका पदाधिकारी एकजुट भए । र, मतदानको विधिबाट रामप्रसादले महेशलाई हराइदिए । बारले चाहिँ त्यही निर्णयलाई आफ्नो लेटरप्याडमा ‘सर्वसम्मत’ भनी राष्ट्रपतिसमक्ष सिफारिस पठाएको छ । बार काउन्सिलमा पूर्वमाओवादी पक्षका वरिष्ठ अधिवक्ताहरू भीम गुरुङ र कांग्रेससम्बद्ध सुनीता चौधरी सिफारिस गरिँदै छन् ।
बालुवाटारबाट जसरी पनि महेश नेपाललाई सिफारिस गराउनु भन्ने उर्दीले ओलीपक्षकै केही वकिलहरू आगो भइरहेका थिए । त्यसमाथि ओलीपक्षधरले बारमा रहेका तीनजना कांग्रेस पृष्ठभूमिका पदाधिकारी चोर्न सक्ने हिसाब निकालेकोमा त्यो पनि भताभुंग भयो । अर्को, हिसाब थियो, थर मिलेका कारण महेश नेपाल भएपछि माधव नेपाल रिजर्भ बस्लान् भन्ने । तर, माधव रामप्रसादको पक्षमा पेरिसडाँडा र कोटेश्वरतिर बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको टोलीसँग सक्रिय भएको खबर जनआस्था सप्ताहिकले छापेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण