शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

उखु किसानको नियति : हातभरी चलान, खल्ती सधैँ रित्तो

पैसा आयो कि भन्दै हरेक दुई दिनमा बैङ्कको चक्कर लगाउँदै
सोमबार, २० पुस २०७७, १२ : ४३
सोमबार, २० पुस २०७७

सर्लाही । धनकौल गाउँपालिका, छोटौलका किसान रामानन्द राय यादव दुई/तीन दिन बिराएर बैङ्कमा पुग्ने गर्दछन् । आर्थिक कारोबारका लागि होइन, उनी अन्नपूर्ण सुगर मिलका तर्फबाट पाउनुपर्ने उखुको भुक्तानी आफ्नो बैङ्क खातामा आयो कि भनेर बुझ्न सातामै दुई÷तीन पटक बैङ्क पुग्ने गरेका हुन् ।

गत साता सरकार र उखु किसानबीच भएको चार बुँदे सहमतिअनुसार २१ दिनभित्र चिनी उद्योगले किसानको बक्यौता रकम भुक्तानी गर्ने सहमति भएसँगै उनी बैङ्कमा धाउन थालेका हुन् । भन्छन्– कर्जा तिर्नुछ, बैङ्कमा पैसा आउनेबित्तिकै त्यो निकालेर ऋण तिरिदिन पाए आनन्दले बस्न पाइन्थ्यो ।

रामानन्दमात्र होइन, छोटौलका करिब ८० किसानले अन्नपूर्ण सुगर मिलबाट चार वर्ष अघिकै उखुको भुक्तानी पाउन बाँकी छ ।

धिरजा राय यादव, महेन्द्र राय यादव, मेघु राय यादव, रामशंकर राय यादव, नागेन्द्र राय यादव, हृदय नारायण राय यादव, रामनरेन्द्र राय यादव, लालबाबु राय यादव प्रतिनिधिपात्र मात्र हुन् । उनीहरुजस्ता कयौं किसानले उक्त चिनी मिलबाट २०७४ साल कै उखुको भुक्तानी पाएका छैनन् ।


छोटौंल त्यही गाउँ हो जहाँका अधिकांश किसान चिनी मिलबाट पीडित छन् । एक साताअघि सरकार र उखु किसानका प्रतिनिधिबीच भएको सहमति लगत्तै हृदयाघात भइ मृत्युवरण गरेका नारायण राय यादवको गाउँ हो छोटौल ।

यहाँका किसानले ०७४ सालमा आफ्नो खेतमा लगाएको सबै उखु अन्नपूर्ण चिनी मिललाई बेचेका थिए । नगदे बालीका रुपमा चिनिने उखु ती किसानले उधारोमै चिनी मिललाई सुम्पिएका थिए । चिनी उत्पादन गरेर बेचेपछि भुक्तानी दिने भन्दै चिनी मिलले उनीहरुसँग उखु त लियो तर चार वर्षसम्म पनि भुक्तानी गरेन ।

अन्नपूर्ण चिनी मिललाई उखु बुझाउँदा प्राप्त गरेको चलान देखाउँदै शम्भु राय यादव भन्छन्, ‘हेर्नुस्, चलान नै राख्दा राख्दै च्यातिने अवस्थामा पुगिसकेको छ, तर पैसा अझै हात लाग्न सकेको छैन ।’

आफूले अन्नपूर्ण चिनी मिलबाट पाँच लाख रुपैयाँभन्दा बढी लिन बाँकी रहेको उनले सुनाए । ‘त्यो पैसा बैङ्कमै मात्र राख्न पाएको भए पनि अहिलेसम्म कति ब्याज खाइसकिन्थ्यो,’ उनले भने, ‘हाम्रो पैसा चिनी मिलले रोकेर राखिदियो, यता हामीले ऋण काढेर आफ्नो घरबार चलाउनु परेको छ । समयमा पैसा पाएको भए हामीले ऋण काढ्नु त परै जावस्, आफ्नै पैसाले राम्रोसँग गुजारा चलाएर पनि केही बचत गरेका हुन्थ्यौं ।’

पीडित किसान रामशंकरका अनुसार चार–चार वर्षसम्म चिनी मिलले उखुको भुक्तानी नगर्दा किसानहरुले धेरै ठुलो संकटको सामना गर्नु परेको छ । ‘उखु लगाउँदा त्यही एउटा बालीले दुई वर्ष जमिन ओगट्छ, त्यसमा पनि बल्लतल्ल बेच्न पाएको उखु चार वर्षसम्म उधारोमै सुम्पिनु पर्दा उखु खेती गरेको दुई वर्षसम्मका लागि घर खर्च चलाउनै ऋण खोज्नुपर्ने बाध्यता हुन्छ,’ उनले भने, ‘दुई÷तीन वर्षसम्म चिनी मिलले पैसा नदिँदा उखु काटिसकेपछि अरु खेती गर्न, अन्नपातका लागि पनि ऋण नै खोज्नुपर्ने हुन्छ ।’

यसरी लिइएको ऋणको ब्याज तिर्दा तिर्दै किसानको आर्थिक अवस्था जर्जर भइसक्ने उनले बताए ।

किसान हृदयनारायणका अनुसार केही वर्ष अघि गाउँमा उखु लगाउने किसानलाई ‘सम्पन्न परिवार’ मानिन्थ्यो । वर्षमा एकमुष्ट रकम आउने भएकाले पनि त्यस्ता किसानलाई गाउँमा ‘पैसावाल’ भन्ने प्रचलन रहेको उनले सुनाए । ‘तर केही वर्षदेखि हाम्रो त्यो पहिचान नै फेरिएको छ,’ उनले भने, ‘अब पनि साहुले पनि हामीलाई पत्याउँदैनन्, चिनी मिलले पैसा दिने टुंगो नै नहुने भएपछि गाउँघरमा सरसापटी लिन पनि गाह्रो हुन थालेको छ ।’

आफ्नो हातमा रहेको चलान देखाउँदै अर्का किसान धिरजा राय यादव भन्छन्, ‘उखु बुझाएको चलान यत्तिका छन्, तर चलानले के गर्नु ?’ उनले भने, ‘आफूलाई खाँचो परेको बेलामा ऋण खोज्न भौंतारिनुपर्छ । खल्तीमा एक रुपैयाँ हुँदैन ।’

अन्नपूर्ण सुगर मिलबाट भुक्तानी पाउनुपर्ने हरेकजसो किसानले आफ्नो घर खर्च र परिवारको आवश्यकता पूरा गर्नका लागि कहीँ न कहीँबाट ऋण लिएका पाइन्छन् । ‘के गर्नु हजुर, घर खर्च त जसरी पनि जुटाउनै पर्छ,’ मेघु राय यादव भन्छन्, ‘चिनी मिलले पैसा दिएको छैन भनेर परिवारलाई भोकै राख्न पनि मिलेन, छोराछोरीलाई पढाउनै पर्छ ।’

चिनी मिलबाट पाउनु पर्ने भुक्तानीको तुलनामा ५० प्रतिशत कमको हाराहारीमा ऋण लिएका ती किसानले यतिबेला चिनी मिलबाट आउने भुक्तानीको सम्पूर्ण रकम तिर्दा पनि ऋण चुक्ता हुने अवस्था नरहेको अर्का किसान राम शंकरको भनाइ छ ।

सरकारले किसानमैत्री नीति नबनाएका कारण आफूहरुको यो अवस्था भएको अधिकांश किसानको गुनासो छ ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य

आचार्य रातोपाटीका वरिष्ठ उपसम्पादक हुन् ।

लेखकबाट थप