शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सातामा दुई दिन विदाको मुद्दा फेरि उठाइने

आइतबार, ०९ फागुन २०७७, १४ : २१
आइतबार, ०९ फागुन २०७७

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सातामा दुई दिन विदाको मुद्दा फेरि उठाउने भएको छ । कोभिड–१९ का कारण शिथिल भएको मुलुकको पर्यटन व्यवसायलाई गतिशिलता दिन आन्तरिक पर्यटनको गतिविधि बढाउन दुई दिन विदाको नीति अपरिहार्य भएको भन्दै बोर्डले सो मुद्दालाई पुनः जोडतोडले उठाउने भएको हो । 

यसअघि विदा कार्यान्वयनको सम्बन्धमा अध्ययन समेत भई प्रतिवेदन तयार भइसकेको अवस्थामा मन्त्री तथा कर्मचारीको हेरफेरले मुद्दा ओझेलमा परेको बोर्डको भनाई छ ।  ‘दुई दिन विदा कार्यान्वयनको सम्बन्धमा करिबकरिब हामी अन्तिम चरणमा पुगिसेका थियौं । यसले पूर्णता पाउने पक्कापक्की जस्तै थियो । तर दुर्भाग्यवस, अकस्मात नेपाली राजनीतिक वृतमा आएको उथलपुथलले यो मुद्दा किनारा लाग्न पुगेको छ ।’ 

पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक (सिईओ) धनन्जय रेग्मीले भने, ‘तर हामी यो मुद्दालाई छाड्नेवाला छैनौं । मुलुकको पर्यटन व्यवसायको गतिशिलताका लागि हामी यो मुद्दा फेरि बोक्छौं ।  हामीलाई तपाईहरु सबैको साथ र सहयोगको खाँचो छ । अझ बढि तपाई सञ्चारकर्मी मित्रहरुको साथ र सहयोगको खाँचो छ’  सिईओ रेग्मीले भने ।

त्यसो त निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले कोभिडकै कारण प्रभावित मुलुकको पर्यटन व्यवसायलाई गतिशिलता दिनका लागि सातामा दुई दिन सार्वजनिक विदा दिने नीति अघि सारेका थिए । सो नीति कार्यान्वयनको सवालमा मन्त्री भट्टराईकै पहलमा मन्त्रालयको नेतृत्वमा अध्ययन समिति बनेर प्रतिवेदन समेत तयार भइसकेको छ । तर पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै मन्त्री भट्टराईले राजीनामा दिइसकेका छन् ।  त्यसो त नेतृत्वकर्ताको हैसियतले मुद्दा उठाउने मन्त्रीकै वहिर्गमनले अहिले सो मुद्दा के हुने अनिश्चित बन्न पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप