शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रमा विकसित राजनीतिक घटनाक्रमले प्रदेश २ सरकारमा हलचल

काँग्रेस र माओवादी केन्द्रलाई सत्ता साझेदार बनाउन पहल
आइतबार, २३ जेठ २०७८, ०८ : ०७
आइतबार, २३ जेठ २०७८

जनकपुर । संघीय सरकारमा सत्ता साझेदारीको विषयलाई लिएर जसपा नेपालभित्र बढेको राजनीतिक द्वन्द्वको बाछिटा प्रदेश २ सरकारमा पनि पर्ने सम्भावना बढेको छ । केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा जसपाको महन्थ–राजेन्द्र पक्ष सामेल भएको छ भने उपेन्द्र यादव पक्षले सरकारमा सामेल हुने निर्णय पार्टीगत रुपमा नभएको बताउँदै कारवाहीको डन्डा चलाउन थालेको छ ।

पार्टीभित्रको द्वन्द्व यसरी नै बढेको खण्डमा जसपा नेतृत्वको प्रदेश २ सरकार परिवर्तन हुन सक्ने आँकलन गरिएको छ ।  यिनै अड्कलवाजीबीच जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आएर पार्टीका नेताहरुसँग छलफल गरेसँगै प्रदेश २ मा पनि राजनीतिक तरङ्ग बढेको छ । गत वर्ष तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरणपछि जनता समाजवादी पार्टी गठन भएको थियो ।

प्रदेश २ मा जसपाले पूर्ण बहुमतको सरकार सञ्चालन गर्दै आएको छ । तर केन्द्रमा विकसित राजनीतिक घटनाक्रमले प्रदेश २ सरकारको स्थायित्वमा प्रश्न खडा गर्न थालेको छ । स्रोतका अनुसार जसपा अध्यक्ष यादव प्रदेश २ सरकार पुनर्गठन गर्ने गृहकार्यका लागि जनकपुरधाम आएका हुन् ।

जसपा केन्द्रीय कार्यकारिणी समितिमा बहुमत रहेका कारण पार्टीको आधिकारिकता आफूले नै पाउने यादव पक्षको विश्वास छ । सोही आधारमा प्रदेश २ सरकारबाट महन्थ–राजेन्द्र पक्षलाई हटाएर यादवले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई सरकारमा ल्याउन कसरत थालेको स्रोत बताउँछ । यद्यपि प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र कुमार साह तत्काल सरकार पुनर्गठनभन्दा पनि वार्षिक नीति तथा कार्यक्रमतर्फ आफूहरु केन्द्रित रहेको बताउँछन् ।

उनका अनुसार जेठ २४ गते प्रदेश सरकारले प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम पेस गर्ने भएकाले त्यसको तयारी जोडतोडले भइरहेको छ । उनले तत्कालै सरकार पुनर्गठन नहुने दावीसमेत गरे । उपेन्द्र यादव पक्षका उनले जसपाको बहुमत कार्यकारिणी सदस्य आफूहरुसँग रहेका कारण पनि पार्टीको आधिकारिकताका बारेमा कुनै संशय नरहेको बताए । उनले पार्टी अनुशासन उल्लंघन गर्नेहरुमाथि कारवाही गरिने पनि प्रस्ट पारे ।

पार्टी अध्यक्ष यादवको जनकपुर आगमनलाई अनौठो मानिरहन नपर्ने मन्त्री साहको भनाइ छ । उनले भने, ‘विगत झैँ अध्यक्षज्यू यस वर्ष पनि प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रम एवं बजेटको विषयमा सरकारलाई सल्लाह तथा सुझाव दिन आउनुभएको हो, उहाँलाई विशेषज्ञको रुपमा आमन्त्रित गरिएको हो ।’

यद्यपि पार्टी स्रोत भने जसपा अध्यक्ष यादवले काठमाडौँमा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिसँग भेट गरी प्रदेश २ सरकारमा सत्ता साझेदारीबारे छलफल गरेको दावी गर्छ ।


मन्त्री साह पनि प्रदेश २ सरकार पुनर्गठन भएमा आश्चर्य मानिरहन नपर्ने बताउँछन् । तर त्यो अवस्थामा पनि सरकारको नेतृत्व भने जसपाले नै लिने र मुख्यमन्त्री लालबाबु राउत नै रहने उनको भनाइ छ ।

प्रदेश २ मा सरकार पुनर्गठन भएमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्षको गठबन्धन सामेल हुन सक्ने समाजवादी युवा संघका केन्द्रीय अध्यक्षसमेत रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले बताए ।

उनले केन्द्रमा महन्थ-राजेन्द्र पक्ष अलग्गिए पनि प्रदेश २ प्रदेशसभामा तत्कालीन राजपा नेपालबाट ८ जना सांसद जसपामै रहने दावीसमेत गरे । प्रदेशसभामा एमालेका संसदीय दलका नेता शत्रुधन महतो भने प्रदेश सरकार पुनर्गठन सम्बन्धी घटनाक्रममा आफूहरुलाई चासो नभएको बताउँछन् । महतोले सत्ता समीकरण अनुसार एमालेले आफ्नो भूमिका तय गर्ने स्पष्ट पारे ।

 


जसपाको उपेन्द्र पक्षले काँग्रेस र माओवादीलाई सत्ता साझेदार बनाएमा प्रदेशसभामा आवश्यक बहुमत जुट्छ । अहिले प्रदेश २ सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलसहित २ जना राज्यमन्त्री महन्थ–राजेन्द्र समूहमा छन् । जसपाले काँग्रेस र माओवादी केन्द्रसँग सत्ता साझेदार गरेको खण्डमा मुख्यमन्त्री लालबाबु राउतकै नेतृत्वमा मन्त्रिपरिषद् पुनर्गठन हुने नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले बताए ।

तत्कालीन समाजवादी र राजपाबीच एकतासँगै भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका अतिरिक्त ३ राज्यमन्त्रीसहित तत्कालीन राजपाबाट प्रदेश सरकारमा ६ जना सामेल भएका थिए । तर सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री रामनरेश राय पछिल्लो समय उपेन्द्र षदप पक्षमा खुलेर लागेका छन् भने अन्य मन्त्री तथा राज्यमन्त्रीहरु खुलेका छैनन् ।

मन्त्रीद्वय साह र रायले कार्यकारिणी समितिको बैठकमा जसपाका अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई कारबाही गर्ने निर्णयमा हस्ताक्षरसमेत गरेका छन् । त्यसैले पनि ती दुवैजनालाई सरकारमा यथावत राखेर महन्थ पक्षका मन्त्री सोनलसहित ३ राज्यमन्त्रीलाई हटाउने आन्तरिक तयारीमा उपेन्द्र पक्ष लागेको स्रोतको भनाइ छ ।

मुख्यमन्त्रीमा काँग्रेसको दावी

काँग्रेसका प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सरकार परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । उनले सरकार परिवर्तन भएमा काँग्रेसले मुख्यमन्त्री बन्न पाउनुपर्ने दावी गर्दै आएका छन् । यद्यपि यस विषयमा दलहरुबीच खुला छलफल हुनुपर्ने उनको भनाइ छ । माओवादी केन्द्रले भने मुख्यमन्त्रीमा लालबाबु राउतलाई नै निरन्तरता दिनुपर्ने बताउँदै आएको छ ।

माओवादीका संसदीय दलका नेता भरतप्रसाद साहले प्रदेशमा सरकार परिवर्तन भएको अवस्थामा पनि मुख्यमन्त्रीमा लालबाबु राउत नै रहने स्पष्ट पारे ।

महन्थ–राजेन्द्र पक्ष ‘पर्ख र हेर’ को अवस्थामा 

जसपाको महन्थ–राजेन्द्र पक्ष संघीय सरकारमा सामेल भए पनि प्रदेश २ को सवालमा भने सो पक्षले आफ्नो रणनीति खुलाएको छैन । प्रदेश सरकारमा सामेल सो पक्षका केही मन्त्री कतिबेला आफूहरुको पद खोसिने हो भन्नेमा चिन्तित छन् । जसपाका सचेतकसमेत रहेका परमेश्वर साहले प्रदेश सरकारले के गर्छ भनेर आफूहरु प्रतिक्षा गरिरहेको बताए । 

प्रदेशसभामा यस्तो छ अंकगणित

प्रदेश २ मा सत्तारुढ जसपाभित्र तत्कालीन समाजवादी पार्टीका ३०, तत्कालीन राजपा नेपालका २५, एमालेका २१, काँग्रेसका १९ र माओवादी केन्द्रका ८ र स्वतन्त्र १ सांसद छन् । प्रदेश सभाको कुल सदस्य संख्या १०७ भए पनि माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका आफ्ना ४ जना प्रदेशसभा सदस्यलाई गरेपछि प्रदेशसभाको अंकगणित १०४ जनामा सीमित भएको छ ।

प्रदेश २ मा सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्नेछ । तत्कालीन समाजवादी पार्टीका ३०, काँग्रेसका १९ र माओवादी केन्द्रका ८ सांसद मिलेमा प्रदेशसभामा बहुमत जुट्ने देखिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप