केन्द्रीय संस्करण

कथा : सँगै हुन नलेखिएका दुई पात्र

person explore access_timeअसार ४, २०७८ chat_bubble_outline0

मध्यमवर्गीय परिवार, गाउँले परिवेशमा जन्म भएको एक पात्र हो हर्के । पढाइमा सानैदेखि मेहनती, असल, लज्जालु साथै झट्ट रिसाउने स्वभावको । आज, भोलि, पर्सि गर्दै समयको लहरसँगै गाउँको एक स्कुलबाट राम्रो नतिजाको साथमा एसएलसी पास भयो ।

एसएलसी पास भएसँगै स्कुले जीवनलाई बिदा गर्दै गाउँघरलाई छोडी शहरको राम्रो क्याम्पस र राम्रो विषय पढ्न त सपना मात्रै थियो । खुसीको साथ सँगै हर्केको मनमा ज्वालामुखीरुपी आगो लागिरहेको थियो । किनकि, थपिँदै गएको काँधको जिम्मेवारी, अनि बाबुआमालाई एक्लै छोडी शहर पस्नुपर्ने बाध्यता । उसलाई शहर बस्नुबाहेक कुनै विकल्प थिएन । या त पढाइ नै बिट मार्नुपर्ने बाध्यता थियो ।

समय बित्दै जाँदा भोलि हर्के सहर जाने दिन पनि आयो । रातमा आमाले हर्केको झोलामा खानेकुराका प्लाष्टिकका कुटुराहरु मिलाइन् । साथमा बाबुले हर्केलाई सहरको परिवेश, साथीभाइको संगत र पढाइको महत्वका विषयमा सम्झाए ।

भोलि बिहानको उज्यालो नभइदिए हुन्थ्यो भन्ने कल्पना गर्दै हर्के खाटमा पल्टियो । उसलाई त्यो रात जिन्दगीको कठोर घडीजस्तै भयो ।

आमाले खाटमा छट्पटिएको हर्केलाई बिहान सबेरै उठ् बाबु भन्द कराउन सुरु गर्नुभयो । ऊ शहरका लागि हिँड्यो ।

शहरमा धेरै घरहरु । झिलिमिली बत्ति । गाडीका लाइन । यी दृश्यले शुरुमा केही आनन्द त दियो । तर, मन भने गाउँमै थियो ।

जसरी सहरका घरहरु जोडिएका हुन्छन्, मानिसको त कुरै नगरौँ । कति निर्दयी, कति कठोर, कति निष्ठुुरी । कसलाई सुनाउनु मनका भावना ?

हर्केले जेनतेन एउटा कलेजमा भर्ना भई अध्ययनलाई अगाडि बढाउन थाल्यो ।

 कलेजमा विभिन्न वर्ग र समाजबाट आएका साथीसँग चिनजान त भयो । तर, उसले साथित्वलाई खासै वास्ता गरेन । सरकारी स्कुलमा पढेर अंग्रेजीमा कमजोर हर्केलाई कक्षामा अंग्रेजी बोल्न र पढ्न अस्पष्ट हुँदा खिसी गर्ने साथीहरुकै कारण राम्रो नतिजाका साथ कलेज पास गर्ने प्रेरणा मिल्यो ।

हर्के कलेजको पढाइलाई बिट मार्दै बुटवलको बसाइबाट काठमाडौं पस्यो, जहाँ आमाबाबुको सल्लाह र आफ्नै इच्छा अनुसार लोकसेवा पास गरेर सरकारी सेवामा जोडिनु थियो ।

स्वयम्भूका दुुई आँखाले हेरिरहेको शहर । अगरबत्ति र दागबत्तिको धुवाँले घेरिएको पशुपतिनाथ मन्दिर । काठैकाठको मन्दिर भएको सहरमा हर्केको बसाइ सुुरु भयो । यत्ति ठूलो सहर, ठुला घर, देशमा यति धेरै बेरोजगार युवायुवती सायद पहिलोचोटि आँखाले देख्दै थियो उसले ।

लोकसेवा तयारी कक्षा सकेर गेट बाहिर निस्किँदा आमाबाबुले कसरी खर्च पुर्याएका होलान् भनी एउटा नमिठो दृश्य उसको दिमागभरि नाच्न थाल्यो । अर्कोतर्फ वैदेशिक रोजगारीमा जाने युवायुवतीको ताँती देख्दा मन अमिलो हुन्थ्यो ।

त्यस समयसम्म हर्केले सानो मोबाइल किनिसकेको थियो । उसले मार्क जुकर्बरले सञ्चालनमा ल्याएको फेसबुक अकाउन्ट दर्ता गरी चलाउन थालिसकेको थियो । त्यही फेसबुकमा गाउँबाट सहर पढ्न आएकी हुर्की नामकी एउटी केटीसँग उसको कुरा हुन थाल्यो  ।

सम्वाद हर्केबाट नै सुरु भयो । कुुरा हुँदै जाँदा उनीहरु चिने त जानेका थिए, तर देखेका भने थिएनन् । दिन बित्दै जाँदा हर्के र हुर्की आफ्नैजस्ता भए । सुख–दुःखका कुराहरु साटासाट भए ।

हर्केको परीक्षा नजिक आउन लाग्यो । हुर्कीले सम्झाउथी । शान्त्वना दिन्थी । नआत्तिनु, नाम निस्किन्छ भन्थी ।

नभन्दै नाम निस्कियो । तर, मौखिक परीक्षाअगावै हर्के धेरै बिरामी पर्यो । त्यो अवस्थामा सबैभन्दा दुःखी हुर्की थिई भने अर्कोतर्फ आमाबुबा ।

असफलता नै सफलताको प्रतीक हो । हर्केले नमिठो खबर हुर्कीलाई दिन चाहेन । किनकि, ऊ हुर्कीको खुसी मात्रै चाहान्थ्यो ।  तर, अलि चलाख हुर्कीले संवादबाटै यो सब बुझेकी हुन्थी । उसले सान्त्वना दिई । हर्केको जीवनमा आफ्नै नभएपनि आफ्नोपनको आभास दिने एकमात्र पात्र थिई हुर्की ।

संवादको करिब दुई बर्षपछि बस छुट्ने अन्तिम घडीमा देख्नकै लागि दुवैजनाको भेट भयो । भेट त भयो । तर, समयले सँगै बसेर दुःख, सुख सेयर गर्ने अवसर दिएन ।

समय बित्दै जाँदा हुर्कीको बाध्यता भनौं वा विवशता, हरेक दुःख–सुख साटासाट गर्ने हुर्की हर्केलाई आफ्नो एउटा कुरा लुकाउन भने बाध्य थिई । त्यो सधैँ हुर्कीले लुकाइ नै रही ।

सायद उसको मौनता उसको घमण्ड होइन, ऊ कुनै परिस्थितिको अगाडि हर्केसँग निःशब्द भएकी थिई । समयसँगै उनीहरुको संवाद हुँदै गइरहेकै थियो ।

अहिले हर्के आफ्नै गाउँ ठाउँमा एउटा सानो पेशामा आवद्ध छ । हुर्की पनि आफ्नै पेशामा आवद्ध छे । यो दुवैका लागि खुसीको कुरा थियो । हर्के र हुर्की आजका दिन करिब पाँच वर्षसम्म पनि आफ्नोपनको आभासमा छन् । संवाद पनि जीवित नै छ । दुबै, दुबैको मन मष्तिष्कमा बसेका छन् ।

तर, समय र परिस्थितिले कतै हर्के र हुर्की जीवनमा नलेखिएका पात्र पो हुन् कि ? समयको छाल कहाँ कसरी अगाडि बढ्ने हो, त्यो भने समयले बताउला । तर, जुट्न नसकेको सम्बन्ध र बोलेका शब्दहरू बगेको खोलाजस्तै कहिल्यै फर्किएर नआउने रहेछन् ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.