शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओलीसँग फरक छुट्याउने प्रयास !

बिहीबार, १० असार २०७८, २१ : २२
बिहीबार, १० असार २०७८

नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा विहीबार दिउँसो विपक्षी गठबन्धनमा सहभागी नेपाली काँग्रेस, माओवादी केन्द्र, एमाले (माधव समूह), जसपा उपेन्द्र (यादव समूह) र राष्ट्रिय जनमोर्चाका नेताहरुले सम्पादकसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा सम्पादकहरूबाट नेताहरुले धारावाहिक आलोचना र प्रश्नको सामना गर्नुपर्यो ।

अन्तरक्रियामा सहभागी अधिकांश सम्पादकले काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवको आलोचना गरे । ‘सरकारमा पुगेपछि तपाईहरु पनि केपी ओलीजस्तै हो’ भन्दै सम्पादकहरूले विपक्षी गठबन्धनका नेताको आलोचना गरे ।

​गठबन्धनका तर्फबाट सम्पादकका प्रश्नको एकमुष्ट जवाफ दिएका माओवादी अध्यक्ष प्रचण्डले पत्रकारहरूबाट आफूहरुमाथि प्रहार हुने कुरा पूर्वअपेक्षित नै रहेको बताउँदै त्यसलाई आत्मसात गर्ने र आगामी दिनमा  विगतका कमी कमजोरीहरु दोहोरिन नदिने प्रतिवद्धता जनाए ।

साथै, प्रचण्डले आफूहरुलाई केपी ओलीसँग फरक छुट्याउन आग्रह गरे । आफूहरु केपी ओली जस्तै नभएको भन्दै प्रचण्डले त्यसलाई पुष्टि गर्न लामो फेहरिस्त प्रस्तुत गरे ।

कार्यक्रममा उठेका विभिन्न प्रश्नहरुमाथि गठबन्धनका तर्फबाट प्रचण्डले दिएको जवाफको सम्पादित अंश उनकै शब्दमा –

सम्पादकको गाली खाइन्छ भन्ने थाहा थियो

हिजो पाँच दलको बैठकमा कुरा उठेको थियो, पक्कै पनि सम्पादक साथीहरुले हामीलाई राम्रो मात्रै भन्नुहुन्न, मूल विषयमा त तपाईंहरुका कुरा ठीकै छन्, तर तपाईंहरुका पनि कमजोरी छन् भनेर पक्कै आलोचना गर्ने, टिप्पणी गर्ने, चिमोट्ने, घोच्ने काम हुन्छ होला, हामीले त्यसलाई आत्मसात गर्ने कोशिस गर्नुपर्ने हुन्छ भनेर भनिएको थियो । नभन्दै, पाँच दलको बैठकमा भन्याजस्तै तपाईहरुले जति प्रश्न, आलोचनाहरू गर्नुभयो, त्यस्तै नै हामीले हिजो फोरकास्ट गरेको हो । मोटामोटी जे होला भनेर सोचिएको थियो, त्यस्तो नै भयो ।

म पाँच दलका तर्फबाट सम्पादक साथीहरुलाई धन्यवाद भन्न चाहन्छु । हामीले तपाईहरुलाई अन्तरक्रियामा बोलाएको हामीलाई प्रशंसा गरिदिनुस्, हामीलाई समर्थन मात्रै गरिदिनुस् भन्नका लागि होइन । हाम्रा कमीकमजोरी पनि तपाईहरुले देखाइदिनोस्, के गर्नुपर्छ भन्ने सुझाव पनि दिनुस्, हरेक आन्दोलनहरूमा तपाईहरु चौथो अंगको भूमिका धेरै नै महत्वपूर्ण रहँदै आएको छ । अहिले पनि संविधानमाथि, लोकतन्त्रमाथि, राष्ट्रिय मुद्दाहरुमाथि जसरी हमला भएको छ, समग्र मिडियाले त्यसमा चिन्ता व्यक्त गरेको मात्रै होइन, त्यसका विरुद्ध आवाज मुखरित गर्ने काम पनि तपाईहरुले गरिराख्नुभएको छ । त्यसका लागि पनि म पाँच दलका तर्फबाट तपाईहरु सबैलाई धन्यवाद नै भन्न चाहन्छु । चौथो अंग भन्दाभन्दै पनि खबरदारी गर्ने अंग नै हो । खबरदारीका रुपमा भूमिका नेपाली इतिहासमा पछिल्लो चरणमा निकै सकारात्मक र उत्साहवर्द्धक नै छ ।

यहाँ उठेका कैयौं कुराहरुमा डिबेट त गर्न सकिन्छ तर म अहिले डिबेट गर्नेतिर भन्दा पनि तपाईहरुले उठाएका चिन्तन गर्न लायक कुराहरु छन्, मनन गर्न लायक कुरा छन् । नेतृत्वले आफूलाई जनभावना अनुकुल, राष्ट्रिय हित अनुकूल ढाल्नका लागि सविचार गर्नैपर्ने कुराहरु छन् । ती कुराहरुलाई आत्मसाथ गर्नेतिर नै हाम्रो ध्यान हुन्छ, जोड हुन्छ । म यो कुरा पनि शुरुमै प्रष्ट भन्न चाहन्छु ।

हामीले धेरै हण्डर–ठक्कर खाइएकै छ । तपाईहरुले पनि नजिकबाट हेरिराख्नुभएको छ । नेतृत्व पंक्तिमा हुनुको नाताले हामीले कम पीडा र कम अप्ठ्याराहरूको सामना गरेको स्थिति होइन ।

त्यसकारण तपाईंहरुको कुरालाई खण्डन मण्डन गर्नेतिर भन्दा आत्मसाथ गर्नेतिर जानु आजको राष्ट्र र इतिहासको आवश्यकता हो भन्ने हामी महसुस गर्दछौं । त्यही महसुस गरेरै तपाईहरुलाई यो अन्तरक्रिया कार्यक्रममा बोलाइएको हो । नसोचिकन, सकारात्मक मात्रै अपेक्षा गरेर बोलाइएको होइन । आलोचना होस्, टिप्पणी होस्, अलिअलि घोच्ने काम पनि होस्, ता कि हामीले आफूलाई समीक्षा गर्ने अवसर मिलोस्  र अगाडि जानका लागि एउटा सकारात्मक वातावरण बनोस् भन्ने उद्देश्य नै हो । त्यसकारण, तपाईहरुले उठाएका सकारात्मक, रचनात्मक कुराहरुलाई हामीले आत्मसात गर्ने कुरा हो र त्यसलाई व्यवहारमा अगाडि बढाउने कुरा हो ।

पाँच दलीय गठबन्धनको सैद्धान्तिक आधार के हो ?

हामीले यो पाँच दलीय गठबन्धन बनाउँदै गर्दा यो पाँच दलीय गठबन्धन पछिसम्म जान्छ भन्ने कुराको आधार के भन्नेबारे हामीले छलफल गरेका छौं । विना छलफल (गठबन्धन) भएको चाहिँ होइन । हामीले महिनौंसम्म, पटक–पटक दुईपक्षीय, बहुपक्षीय, सामुहिक धेरै छलफल गरेका छौं । यसको सैद्धान्तिक आधार के ? यो पाँच दलीय गठबन्धनले देशलाई ठीक ढंगले अगाडि लैजान सक्छ, यो दिगो हुन सक्छ र यो धेरै परसम्म जान सक्छ भन्ने कुराको सैद्धान्तिक आधार के ? राजनीतिक आधार के ? भावनात्मक र संवेदनाको आधार के भन्नेबारेमा हामीले छलफल गरेका छौं ।

पहिलो, प्रिन्सिपलको हिसाबले भन्दा हामीले के भनेका छौं भने यो संविधान, जो सात दशकभन्दा बढी लामो समयको नेपाली जनताको संघर्ष र बलिदानपछि प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान हो । यो संविधानको रक्षा गर्ने र यो संविधानलाई समयानुकुल परिमार्जन गर्दै लैजाने उद्देश्यमा आधारित भएर यो गठबन्धन बनाइनुपर्छ । यतिभन्दा यसभित्र धेरै कुरा समेटिन्छ । संविधानसभाबाट बनेको संविधानलाई रक्षा गर्ने र समयानुकुल यसलाई परिष्कृत र परिमार्जित गर्दै लैजाने उद्देश्यमा केन्द्रित भएर यो गठबन्धन पर्दैछ भन्ने एउटा प्रिन्सिपल हो ।

दोस्रो, हामीले सामान्यतः संविधानमा अंगिकार गरिएका र सामान्य हाम्रा परम्परा र मान्यताभित्र पनि अभिव्यक्त भएका, हामीले निर्वाचनका बेलामा जनतामा भन्ने गरेका लोकतन्त्रका आधारभूत मान्यताहरुको रक्षा । लोकतन्त्रभन्दा बाहिर निरंकुशता र सामन्तीतन्त्रतिर वा कुनै किसिमको दलालीतिर यो देश जान नपाओस् । लोकतन्त्रका आधारभूत तत्त्वहरूको हामीले रक्षा गर्नेछौं र गर्नैपर्दछ भन्ने दोस्रो प्रिन्सिपल हामीले यसलाई बनायौं ।

तेस्रो, राष्ट्रियताको रक्षा । किनभने, नेपालको भूराजनीतिक अवस्थितिको कारणले यसका यसका आफ्नै जटिलता छन् । आफ्नै संवेदनशीलता छन् । मलाई लाग्छ, यो हामी सबैले बुझेका छौं । तर, नेपाल सधैं नै एउटा स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रिय स्वाभिमानयुक्त देशका रुपमा छ । यसलाई सुदृढ गर्दै लैजानुपर्छ । बेलाबेलामा यसमाथि विभिन्न खालका चलखेलहरू विभिन्न काल क्रममा इतिहासमा भएका छन् । सुघौली सन्धीका बेलादेखि अहिलेसम्मका घटनाक्रम र मोडहरुलाई हेर्ने हो भने धेरै किसिमका संघर्ष, जटिलता र चुनौतिहरुको सामना गरेर अहिले नेपाल यहाँनेर छ । त्यसकारण नेपाल राष्ट्रको स्वतन्त्रता र स्वाधीनताको रक्षा गर्ने कुरा हाम्रो (गठबन्धनको) अर्को सैद्धान्तिक हुन्छ, जसले यो गठबन्धनलाई अलि परसम्म लैजान सक्छ । त्यसकारण, हामी यी मूलभूत सिद्धान्तमा सहमत हौं सिक होइनौं ? यसमा सहमत हौं भने अलि परसम्म जान सकिन्छ । यसमा सहमत भइएन भने यो मोर्चा पनि फेरि ट्याक्टिकल मोर्चा होला कि भन्ने चिन्ताका साथ नै यसको फिलोसोफिकल आधार, यसको थ्यौरिटिकल आधार र यसको पोलिटिकल आधार र यसको नेशनल फिलिङको आधारलाई हामीले समेटेर जानुपर्छ भन्ने निश्कर्षका साथ यो गठबन्धन अगाडि गएको छ ।

म बडो प्रष्टसाथ भन्न चाहन्छु, यो (गठबन्धन) अकारण वा एउटा प्रधानमन्त्री हटाउने र अर्को बनाउने खेलमात्र जस्तो गरी आएको होइन । प्रधानमन्त्रीका निम्ति यो संघर्ष होइन, यो संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको लडाइँ हो । यो सिस्टम बचाउने या नबचाउने भन्ने बीचको लडाइँ हो । र, हामीले यसलाई त्यहीरुपमा बुझ्नुपर्छ भन्ने हामी पाँचै दलको बीचमा राम्रो समझदारी भएपछि हामी अगाडि बढेका हौं ।

पाँच दलको एकताको ऐतिहासिक आधार पनि छ

हुन त पाँच दलको सबैको स्थिति एउटै छैन । तपाईहरुले देखिराख्नुभएको छ, हामी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) थियौं । अहिले त्यो नेकपा भण्डै डिफ्याक्टो तीनवटा पार्टीजस्तो भएको छ । हामी चाहन्थ्यौं नेकपा नै रहोस् । र, त्यहीँबाट निरंकुश प्रवृत्तिका विरुद्ध संघर्ष सुरु गरेर त्यो प्रवृत्तिलाई परास्त गर्ने कोशिस गरिएको थियो । विभिन्न चिजहरु भए, म त्यतापट्टि अहिले लामो व्याख्खा गर्नेतिर जान चाहन्नँ । तर, डिफ्याक्टो हामी अहिले तीनवटा छौं ।

यसरी हेर्दा पाँच पार्टीमध्ये नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाजी, रामचन्द्रजी सबै नेताहरु यहाँ हुनुहुन्छ, उहाँहरुलाई अहिले केही पार्टीगत समस्या छैन । पार्टी भएपछि अलिअलि आन्तरिक हुने कुरा स्वाभाविक हो । म जुन माओवादी केन्द्रको नेतृत्व गरिराखेको छु, हाम्रोमा पनि त्यस्तो कुनै खास समस्या छैन । राष्ट्रिय जनमोर्चामा पनि कुनै समस्या छैन ।

तर, नेकपा एमालेभित्र चलिराखेको संघर्षका कारणले माधव नेपालजीले जसरी विधिविधान र लोकतान्त्रिक मूल्य मान्यता, गणतन्त्र, संघीयता सबैको निम्ति संघर्षको झण्डा उठाइराख्नुभएको छ । एउटै पार्टी भएको हुनाले केपीसँगको संघर्ष अलि पेचिलो र अलि जटिल बनेको छ । कहिले कानूनी झमेला, कहिले निर्वाचन आयोग, यस्ता भएर आइराख्या छन् । हामीले माधवजीलाई परेका अप्ठ्याराहरुमा सकारात्मक ढंगले सोच्नुपर्छ र हामीले मुद्दाका आधारमा अगाडि बढ्ने कोसिस गर्नुपर्छ ।

यही कुरा उपेन्द्र यादवजीले नेतृत्व गरेको जनता समाजवादी पार्टीको हकमा पनि छ । त्यहाँभित्र पनि निकै चुनौतीपूर्ण अन्नतरसंघर्ष चलिराखेकै छ  । र, अहिले पनि सरकारको गठन, पुनर्गठन बडो असंवैधानिक एवं लोकतान्त्रिक मूल्यमान्यताविहीन ढंगले आयो, यस्ताचे बेलामा उहाँ (उपेन्द्र यादव) ले जसरी संघर्षको झण्डा उठाइराख्नुभएको छ, त्यसमा उपेन्द्रजी लगायतको टिमले जसरी संघर्ष गरेको  छ, उहाँहरुलाई पनि हामीले सबैले सामुहिक ढंगले नै सहयोग गर्नुपर्छ भन्ने मान्यता पनि बनाएका छौं ।

त्यसकारण यो गठबन्धन कति समय जाला भन्दा यसलाई हामीले यहाँ चर्चा गरेको मान्यता र सिद्धान्तभित्र रहेर दिगो रुपमा लिएर जानुपर्छ । एउटा चुनावका लागि वा प्रधानमन्त्री केपी ओलीलाई हटाउनका लागि मात्रै हुनुहुँदैन । संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका निम्ति धेरै परसम्म जाने हामीले कोसिस गर्नुपर्छ ।

नेपाली काँग्रेस भनेको लोकतान्त्रिक गणतन्त्रको आन्दोलनमा मुख्यतः नेतृत्व गरेको पार्टी हो । अहिले गिरिजाबाबु हुनुहुन्न्न, शेरबहादुरजी नेृतत्वमा हुनुहुन्छ, तर गणतन्त्रका लागि संघर्ष गरेकै पार्टी हो । शान्ति सम्झौतामा हस्ताक्षर गरेको पार्टी हो ।  त्यसकारण यो पार्टीले संविधानको रक्षा, गणतन्त्रको रक्षा र यो परिवर्तनको रक्षामा भूमिका खेलेको ऐतिहासिक आधार छ ।

कमरेड माधव कुमार नेपाल त्यतिबेला नै गणतन्त्रको निम्ति आन्दोलन गर्नेमध्येको एकजना नेता हो । १२ बुँदे समझदारी ड्राफ्ट गर्ने मध्येको एकजना नेता हो । बुटवलबाट शुरु गरेर राजतन्त्रविरोधी आन्दोलनको शंखघोष गर्ने नेता पनि हो उहाँ । केपी ओलीजी त्यतिबेला के गर्दैहुनुहुन्थ्यो भन्ने सबैलाई थाहा छ ।

यो परिवर्तनमा भुमिका खेल्नुभएका उपेन्द्र यादवजीसँग हिजो त हामी आन्दोलनमा पनि सँगै थियौं, पछि मधेस आन्दोलनको नेताका रुपमा उहाँले सबैखाले दबाव र हस्तक्षेपहरुको सामना गरेर आउनुभएको छ । त्यसकारण उहाँसँग पनि हाम्रो गठबन्धनको ऐतिहासिक आधार छ ।

राष्ट्रिय जनमोर्चा पनि निरन्तर आफ्नो मान्यताभित्र रहेर संघर्ष गर्दै आएको पार्टी हो । त्यसकारण, अहिले संविधान रक्षाको मात्रै कुरा होइन, यो एकताको ऐतिहासिक आधार पनि छ ।

केपी ओली र हामी उस्तै-उस्तै हो  त ​?

तपाईहरुले हामीलाई यिनीहरु पनि उस्तै त हुन् नि भन्नुभयो । तर, हामी उस्तै होइनौं । म भन्छु उस्तै होइनन् । केपी ओलीले बयलगाडाको सिद्धान्त प्रतिपादन गर्दैगर्दा माधव नेपाल गणतन्त्रका निम्ति झण्डा उठाएर हिँड्ने उस्तै–उस्तै हो ?

प्रधानमन्त्रीका बारेमा थोरै प्रश्न उठ्नेवित्तिकै प्रधानमन्त्री त्याग्ने प्रचण्ड र प्रधानमन्त्री त्याग्नुभन्दा देशै डुबाइदिन्छु भन्ने केपी ओली उस्तै–उस्तै हो ? तपाईहरुले पक्कै सोच्नुभएको होला ।

शेरबहादुर देउवा र प्रचण्डहरुका वीचमा सहमति हुँदा सजिलै सहमति पालना गरेर (प्रधानमन्त्री) छोड्ने, अर्कोले पनि छोड्ने उस्तै–उस्तै हो ? तपाईहरु विचार गर्नोस्, कसरी उस्तै–उस्तै हुन्छ भन्या ।

​सजिलै, थोरै प्रश्न उठिसकेपछि छोडेर निकास दिनु उचित हुन्छ भनेर छाडेर निकास दिने र छाड्नुभन्दा लोकतन्त्र भाँडमा जाओस्, संविधान ध्वस्त होस्, दलालहरुलाई मन्त्रिमण्डलमा ल्याएर राखेर भए पनि चलाउँछु भन्ने उस्तै–उस्तै हो ?

संविधान बनाउने बेलामा अनेक खाले दबाव र धम्कीहरु आएका थिए । त्यतिबेला म विपक्षी दलको नेता थिएँ । सबैभन्दा बढी दबाव ममाथि थियो । त्यसलाई सामना गरेर हामी सबै मिलेर संविधान घोषणा गरियो । अनि त्यो संविधान बनाएर घोषणा गर्ने प्रवृत्ति र यो संविधान सिध्याउने प्रवृत्तिका पात्रहरु उस्तै–उस्तै हुन्छन् त  ? यो पनि त्यस्तै, त्यो पनि त्यस्तै भन्दिन मिल्छ ?

दोस्रोचोटि संविधान घोषणा गरेपछि हामीले यो संविधान कार्यान्वयन गर्नका लागि चुनावतिर जानैपर्छ र हामीले लोकतान्त्रिक ढंगले निर्वाचन सम्पन्न गरेनौं भने संविधान घोषणाले मात्रै सबै कुरा हुँदैन, त्यसकारण निर्वाचन हुनैपर्छ भन्यौं । हामीले त्यतिखेर ओलीको नेतृत्वबाट निर्वाचन नहुने देखिसक्या थियौं । त्यसो भएर अर्को सहमति बनाउनुपर्यो । अब केपी ओलीबाट हुँदैन है, चिजहरु उल्टो जान थाल्यो भनेपछि हामीले नयाँ ढंगले सोच्नुपर्ने स्थिति आयो, हामीले निर्वाचन गरायौं । त्यतिबेला मेरो र शेरबहादुर देउवाको ध्यान आफ्नो गुटलाई मात्रै गर्ने भन्ने थियो कि संविधान कार्यान्वयनका निम्ति लोकतान्त्रिक ढंगले निर्वाचन सम्पन्न गरौं भन्नेमा थियो ? त्यो गर्ने र यसलाई सिध्याउन खोज्ने कसरी उस्तै–उस्तै भयो ? मैलेचाहिँ बुझिनँ क्या ! उस्तै–उस्तै हो त ?

निर्वाचनका बेला मैले सोचें, वाम जनमत धेरै छ नेपालमा । वाम गठबन्धन गरेर र जनतालाई मन छुने प्रतिवद्धता गरेर सवै वर्ग र तह तप्कालाई सामाजिक न्याय दिने, आर्थिक समद्धि दिने, विधि विधानअनुसार चल्ने आधारमा गठबन्धन गर्यो भने देशमा राजनीतिक स्थायित्व होला भनेर सोचेर सहमति गरें । पाएको प्रधानमन्त्री छोडेको छु मैले । तपाईहरुले बुझेर पनि भन्न नरुचाउनुभएको हो कि ? भन्यो भने प्रचण्डको समर्थन गरेको देखिन्छ भन्ने ठान्नुभएको छ कि ? मैले त चुनावपछि पनि पाँचै वर्ष प्रधानमन्त्री पाउनेवाला थिएँ । मैले होस् जनताका अगाडि गरेको प्रतिवद्धता भुल्नुहुँदैन, प्रधानमन्त्री ठूलो कुरा होइन ।  प्रधानमन्त्री पद त आउँछ, जान्छ भन्नु र भएको सहमति लत्याएर कुर्सीका निम्ति जे पनि गर्ने केपी ओली उस्तै–उस्तै हो त भन्या ? तपाईहरुले पनि उस्तै उस्तै भन्दिनुभो भने हामी त साह्रै ठूलो अन्यायमा पर्ने भइयो ।

अब हामीभन्दा राम्रा नेता ल्याउन सकिन्छ भने त हामी छोड्न तयार छौं । ल भन्न्नुहोस् आजै । ह्या तिमीहरुले सकेनौ, हामी गर्छौं भन्नुहुन्छ भने  पनि ठीकै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप