बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपामा युवा भर्सेस बुढा : ओलीको नाम लिँदै तीन अध्यक्षमाथि कटाक्ष !

घोषित कमिटीमा नाम भएका आउट, नभएका इन !
बिहीबार, १० असार २०७८, २१ : ५२
बिहीबार, १० असार २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवगठित निर्देशन समितिको बैठकमा नेतृत्वको कार्यशैलीको आलोचना भएको छ । राजधानीमा बुधबार र बिहीबार बसेको बैठकमा बोल्ने सदस्यहरुले नेतृत्वको कार्यशैलीका कारण पार्टी एकपछि अर्को सङ्कटमा फस्दै गएको भन्दै त्यसका लागि युवापुस्तालाई नेतृत्व हस्तान्तरण गरिनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा सहभागी निर्देशन समिति सदस्य दीलनाथ गिरीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम लिँदै ओलीले संविधान नमान्दा देश र सिङ्गो उनी नेतृत्वको पार्टी नै संकटमा परेजस्तै राप्रपामा पनि सोही बाटोतर्फ रहेको भन्दै कटाक्ष गरेका थिए । पार्टी विधि र पद्धतिमा चल्नुपर्ने भएपनि नेतृत्वको कार्यशैली चित्तबुझ्दो नहुँदा नेता कार्यकर्तामा चरम निराशा छाएको उनको भनाइ थियो । पार्टीले गठन गरेको विशेष समितिलाई विधानले नचिन्ने भन्दै यसले पार्टीमा विवाद निम्त्याएको पनि बैठकमा धारणा राखेका थिए । ‘पार्टीले गठन गरेको विशेष समितिलाई विधानले चिन्दैन । यो खारेज गरिनुपर्छ’, उनले बिहीबारको बैठकमा भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नमान्दा देश र उनकाे सिंगो पार्टी नै गम्भीर संकटमा पुगेको छ । राप्रपामा त्यो हुन नदिन विधान कार्यान्वयनमा जोड दिइनु पर्छ । यस्तै उनले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि आगामी कात्तिकसम्ममा जिल्ला अधिवेशन गरिसक्ने गरी तयारी गरिनुपर्नेमा जोड दिए ।

उनले पार्टीले गत शुक्रबार गठन गरेको निर्देशन र विशेष समितिमा युवाका साथै समानुपातिक–समावेशी प्रतिनिधित्व नभएको पनि बताए । ‘निर्देशन र  विशेष समिति दुबैमा युवाहरुको प्रतिनिधित्व देखिएन । विगतमा तपाईहरुले युवा अवस्थामा नै पार्टी चलाउनु भएको थियो । अहिले बुढो भइसकेको अवस्थामा पार्टीलाई जीवन्त बनाउन युवा चाहिँदैन ?’, उनको प्रश्न थियो ।

उनले अहिले नेतृत्वमा रहेका कमल थापा, डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाबाट पार्टीलाई गति दिन नसकिने धारणा समेत राखेका थिए । गिरीले बैठकमा भनेका थिए, ‘१५ वर्ष पशुपति शमशेर राणा, १२ वर्ष कमल थापा र १ वर्ष डा लोहनीले गर्नुभयो । तर सुरुमा तेस्रो र त्यसपछि चौथो शक्तिमा आयौं । ७४ को चुनावबाट थप खुम्चियौँ ।’ अहिलेकै अवस्थामा अघि बढे पार्टी थप अधोगतितिर जाने उनको जिकिर थियो ।

बैठकमा गिरीसहित निर्देशन समिति सदस्य तोरण बहादुर गुरुङ, कुन्ती शाही, भरत गिरी, भोला यादव र मुकुन्द श्याम गिरीले आ–आफ्नो धारणा राखेका थिए । तोरण बहादुर गुरुङले नेता धवल शमशेर राणाले पार्टीको विषयमा रातोपाटीलाई दिएको अन्तवार्ताबारे आपत्ति जनाएको एक नेताले बताए । ती नेताका अनुसार पार्टीको विषयमा पार्टीकै फोरमहरुमा बोल्नुपर्ने भएपनि राणाले मिडियामा अनावश्यक रुपमा बोलेको उनको आरोप थियो ।

यता, कुन्ती शाहीले भने कमल थापाको विकल्प नभएको भन्दै उनकै नेतृत्वमा पार्टीलाई गति दिन सकिने धारणा राखेकी थिइन् । तर भरत गिरी, भोला यादव र मुकुन्द श्याम गिरीले भने युवा नेतृत्वमा जोड दिएपनि सन्तुलित धारणा राखेका थिए ।

यसअघि बिहीबारको बैठकमा अध्यक्ष कमल थापाले बैठकबारे जानकारी दिँदै पार्टीको आगामी रणनीति र पार्टीको पछिल्लाे अवस्थाबारे आफ्नो धारणा राखेका थिए । पशुपति शमशेर राणाको अध्यक्षतामा बसेको बैठकमा आज नेताहरुले धारण राखेसँगै कुनै निर्णय नगरी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

लिस्टमा नाम भएका आउन नभएका इन !

राप्रपाका तीन अध्यक्षको सहमतिमा गठन गरिएको भनिएको विशेष र निर्देशन समितिप्रति पार्टीभित्र तीव्र असन्तुष्टि भइरहेको बेला निर्देशन समितिको बैठकमा अर्को ट्वीस्ट पनि बाहिर आएको छ । शुक्रबार सार्वजनिक विशेष समितिको ५५ जनाको सूचीमा धनुषाका रामनरेश यादवको नाम समावेश गरिएको थियो तर बिहीबारसम्म आइपुग्दा उनलाई तपाईँको नाम भूलवश परेछ भनेर नआउन जानकारी गराइएको एक नेताले बताए । यादवलाई यसरी जानकारी गराउने काम अध्यक्ष कमल थापाले नै गरेको बताइएको छ । सो जानकारी पनि आफूमाथि अपमान भएको भन्दै यादव आक्रोशित भएका छन् ।

समितिमा नरहेका दीलनाथ गिरीलाई भने बैठकमा बोलाइएको थियो । ‘तपाईँको नाम लिस्टमा थियो, टाइप गर्ने बेला भूलवश छुट भएको हो । बैठकमा आउनु भनेपछि म सहभागी भएको हुँ’, यसबारे जिज्ञासा राख्दा गिरीले भने, ‘बैठकमा मैले आज आफ्नो धारणा राखेको छु ।’

समितिको बैठकमा राजेन्द्र लिङ्देन, धवल शमशेर राणा, रामकुमार सुब्बा, हरिबहादुर बस्नेत, जयन्त चन्दलगायत सहभागी नभएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । पार्टीबाट संघीय संसदमा लिङ्देनको प्रतिनिधित्व रहेको छ भने नेपालगन्ज उपमहानगरपालिकाको मेयर राणा हुन् । उनीहरु दुबैले पार्टी नयाँ पुस्ताले चलाउनुपर्ने लबिङ गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप