सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारबाट बाहिरिएसँगै महन्थ ठाकुर समूहमा तीव्र असन्तुष्टि

शुक्रबार, ११ असार २०७८, २१ : १४
शुक्रबार, ११ असार २०७८

जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षमा असन्तुष्टि सुरु भएको छ । अध्यक्ष महन्थ ठाकुरले पार्टीका इमानदार नेता–कार्यकर्तालाई पाखा लगाएर नेताहरुको आसपासमा रहनेलाई मात्र मौका दिएको भन्दै असन्तुष्टि बढेको हो ।

अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटनमा सघाएको, सरकारमा सामेल भएको, कार्यकारिणी समिति हेरफेर गरेको लगायतका विषयमा सो पक्षकै कयौं नेता असन्तुष्ट देखिएका हुन् ।

पछिल्लो समय अध्यक्ष ठाकुरप्रति कार्यकारिणी समितिका सदस्यहरु शरतसिंंह भण्डारी, राजकिशोर यादव, राष्ट्रियसभाका सदस्य शेखर सिंह, विघटित प्रतिनिधिसभाका सदस्यहरु प्रमोद साह, अमृता अग्रहरी, नेता गोविन्द चौधरीलगायत असन्तुष्ट देखिएका छन् । उल्लेखनीय छ, उनीहरु सबैले जसपाभित्र ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीचको शक्ति संघर्षमा ठाकुरलाई नै साथ दिँदै आएका थिए ।

ठाकुरले हालै कार्यकारिणी समिति फेरबदल गर्दा नेता भण्डारी र यादवको एकजना पनि मान्छे राखिएको छैन । त्यसबाट यी दुवै नेता असन्तुष्ट देखिएका छन् । पार्टीमा अन्तरिक विवाद भएको कारण भण्डारीले व्यक्तिगत असन्तुष्टिका कुरा बाहिर ल्याएका छैनन् तर आफ्ना निकट नेताहरुसँग भने उनले असन्तुष्टि जाहेर गर्दै आएका छन् ।

पार्टीमा पहिलादेखि नै विवाद रहेको र पछिल्लो समय महन्थ ठाकुरले गरेका काम तथा कतिपय निर्णयप्रति आफ्नो विमतिका बाबजुद पनि विवाद थप नबढोस् भनेर आफू चुप लागेको भण्डारीले आफ्ना निकट नेता–कार्यकर्तासँग भन्ने गरेका छन् ।

सुरुमा भण्डारी उपेन्द्र यादवको पक्षमा थिए तर सरकारमा सहभागी हुने चर्चा चलेपछि उनी महन्थ ठाकुरको पक्षमा लागेका थिए । उनी निकट एक नेता भन्छन्, ‘शरत् दादा महन्थ ठाकुरको क्रियाकलापबाट सन्तुष्ट हुनुहुन्न तर उहाँलाई साथ दिनु दादाको बाध्यता छ ।’

पूर्व राजपाका अध्यक्षमण्डल सदस्यमध्येका राजकिशोर यादव पनि पछिल्लो समय पार्टीमा पाखा लगाइएका व्यक्ति हुन् । महन्थ ठाकुर, राजेन्द्र महतो, अनिकुमार झालगायतका नेताले उनलाई किनारा लगाउँदै आएको देखिन्छ । पार्टीका कार्यकारिणी सदस्य एवं विघटित प्रतिनिधिसभाका सदस्य यादव पछिल्लो समय पार्टी कार्यालय र महन्थ ठाकुरले बोलाउने बैठकहरुमा पनि जान छाडेका छन् । पार्टीमा कुनै निर्णय हुँदा उनलाई जानकारी नदिने, बैठकहरुमा नबोलाउने जस्ता कार्यले उनी असन्तुष्ट छन् ।

महन्थ ठाकुरले ओली नेतृत्वको सरकारमा सामेल हुने नामावली पठाउँदा आफ्नो पक्षका सबै शीर्ष नेताको नाम पठाएका थिए । तर अन्तिममा राजकिशोर यादवको नाम काटिएको थियो । त्यसैले सुरुमा उनी सरकारमा सामेल भएनन् । तर पछि पार्टीमा विवाद बढ्ने भएपछि बाध्य भएर उनलाई पनि मन्त्री बनाइएको थियो ।

राष्ट्रियसभाका सदस्य शेखर सिंह पनि अध्यक्ष ठाकुरप्रति असन्तुष्ट छन् । पछिल्लो समयमा ठाकुरले मन्त्री बनाउँदा होस् वा कार्यकारिणी समिति विस्तार गर्दा होस्, उनलाई सोधखोज गरिएको छैन । त्यसले गर्दा उनी असन्तुष्ट देखिएका हुन् । मृगेन्द्रकुमार सिंह यादवले उपेन्द्र यादवलाई साथ दिएपछि ठाकुर पक्षले मृगेन्द्रलाई आफ्नो पक्षमा ल्याउन रुपैयाँदेखि मन्त्रीसम्मको अफर दिएको तर आफू ठाकुरकै साथमा रहँदासमेत सोधखोज नभएको सिंहको गुनासो रहेको उनी निकट नेता–कार्यकर्ताको भनाइ छ । कार्यकारिणीका समिति विस्तारमा पनि आफूलाई वास्ता नगरिएको भन्दै उनी ठाकुरप्रति असन्तुष्ट रहेको बताइन्छ ।

पछिल्लो समय उपेन्द्र यादव पक्षबाट आएका चारजनामध्ये तीनजनालाई त ठाकुरले मन्त्री नै बनाए । उनीहरुलाई कार्यकारिणी समितिमा समेत राखियो तर आफूलाई वास्ता नगरिएको सिंहको गुनासो छ ।

सिंह भन्छन्, ‘म पदको लोभी होइन र पार्टीप्रति मेरो कुनै असन्तुष्टि छैन ।’ उनले मन्त्री तथा ठूला पदका आफूले राजनीति नगरेको बताए । ‘मैले जनताका लागि राजनीति गरेको हो, जनतामै छु,’ उनले भने ।

महन्थ ठाकुर पक्षकै नेताका रुपमा चिनिने विघटित प्रतिनिधिसभाका सदस्य प्रमोद साह पनि सो समूहप्रति असन्तुष्ट छन् । जसपामा गुटबन्दीका कारण चिरा परेको अवस्थामा महन्थ ठाकुरकै गुटमा छुट्टै गुटबन्दी भइरहेको उनको आरोप छ । उनले भने, ‘महन्थ ठाकुर पक्षमा कुनै पनि कुरा विना भागवण्डाले हुँदैन, जे पनि उहाँहरु भागवण्डा गर्नुहुन्छ, पार्टीमा जनाधार भएका नेताको वास्ता गरिँदैन, आफ्ना आसेपासेलाई मात्र मौका दिइन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेको अवस्थामा समेत महन्थ ठाकुरहरुले ओलीलाई नै साथ दिइरहेको भन्दै उनले असन्तुष्टि जनाए । सरकारमा मन्त्री पठाउँदा पनि ठाकुरले पार्टीमा कुनै छलफल नगरी आफूखुशी निर्णय लिएको उनको भनाइ छ । ओलीले देशलाई अध्यादेशबाट चलाउन खोजेको र महन्थले ओलीको त्यो चाहनालाई साथ दिएकोमा उनको आपत्ति छ ।

उनले भने, ‘ओलीलाई साथ नदिएको भए पार्टी विभाजन हुने थिएन, तर उनीहरुले बरु पार्टी विभाजन भए होस् तर ओलीलाई नछाड्ने अडान लिएका कारण पार्टी यो अवस्थामा आएको हो ।’

जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि गलत गरेको बताउँदै उनले जसरी महन्थ ठाकुरहरुले ओलीका लागि अडान लिए, त्यसरी नै उपेन्द्र यादवले पनि प्रचण्डका लागि अडान लिएको प्रस्ट पारे । दुवैको अडानले गर्दा पार्टीको यो हालत भएको उनको भनाइ छ । ‘दुवैजना एकएक कदम पछाडि हटेको भए पार्टी विभाजनको अवस्थामा पुग्ने थिएन,’ उनले भने ।

त्यसो त, पार्टीलाई विभाजनबाट रोक्नका लागि सांसद प्रमोद साहले सांसदहरुको एउटा भेला गरेर शीर्ष नेतृत्वमाथि दबाब नै दिएका थिए । पार्टी कुनै पनि हालतमा नफुटोस् भनेर केही समय दबाब दिए पनि आफ्नो पक्षमा उभिएका सांसदहरु नै नेताहरुको पछि लाग्न थालेपछि आफूहरुको केही नचलेको उनले बताए ।

महन्थ ठाकुरलाई हमेसा साथ दिँदै आएका जसपाका केन्द्रीय सदस्य गोविन्द चौधरी पनि अहिले ठाकुरको क्रियाकलापप्रति असन्तुष्ट छन् । मधेस आन्दोलनदेखि पार्टीको हरेक गतिविधिमा योगदान दिँदै आएका चौधरी पछिल्लो समय पार्टीमा विस्तारै किनारा लाग्दै आएका हुन् । तत्कालीन राजपा नेपालका महामन्त्री रहेका उनी जसपा नेपालको कार्यकारिणी समितिमा पनि अटाएनन् ।

नेताहरुको आसपास हुनेले मात्र अवसर पाउन थालेपछि असन्तुष्ट भएका उनी हाल घरमै सीमित छन् । उनले जसपालाई प्रदेश २ मा मात्र केन्द्रित गरेको भन्दै आपत्ति जनाउँदै आएका थिए ।

चौधरीले रातोपाटीसँग भने, ‘म अहिले पार्टीको बारेमा केही कमेन्ट गर्दिनँ, पार्टीको गतिविधिलाई नजिकबाट नियालिरहेको छु, समय आएमा केही बोल्छु ।’ अध्यक्ष ठाकुरले पछिल्लो समय कार्यकारिणी समितिमा हेरफेर गर्दा आफ्नो नाम राख्न खोजेको तर आफूले नै नराख्न भनेको चौधरीको भनाइ छ । ‘अहिलेको हेरफेर विवादित काम हो, यस्तो विवादमा किन जाने भनेर म सामेल भइनँ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप