बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

संसदमा प्रदीप ज्ञवालीको टिप्पणी : रेफ्री आफैले गोल हानेर विजयी घोषणा गरिदिए

आइतबार, ०३ साउन २०७८, १९ : १६
आइतबार, ०३ साउन २०७८

नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले न्यायाधीशहरू आफै रेफ्री बनेर आफैले गोल हानिदिएको र कसैलाई विजयी घोषणा गरिदिएको आरोप लगाएका छन् । आइतबार नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव पेस गरेपछि बोल्दै एमाले नेता नेपालले अदालत रेफ्री भए पनि उ आफैले गोल गरेर कसैलाई विजयी बनाइदिएको आरोप लगाएका हुन् । 

पहिले २०५९ सालमा राजाले शासन सत्ता हातमा लिएको र २०६१ मा संसद् फिर्ता गरेपछि न्याय मिलेको प्रतिक्रिया दिएकोप्रति व्यङ्ग्य गर्दै त्यसपछि माघ १९ मा के भयो भन्ने ज्ञवालीले प्रतिप्रश्न गरेका छन् । पहिले श्री ५ ले शेरबहादुरलाई न्याय मिलेको भन्दै अहिले श्रीमान् पाँचबाट न्याय मिलेको भए पनि त्यो लोकतान्त्रिक अभ्यास नभएको उहाँको टिप्पणी छ । संसदमा ज्ञवालीले गरेका सम्बोधनको केही अंश यस्तो छ । 

सभामुख महोदय, 

प्रश्न को सत्तामा गयो र को गएन भन्ने होइन, प्रश्न गेम फेयर भयो कि भएन भन्ने हो । र, आज हामीलाई सरकारबाट बाहिरिएको कुरामा होइन प्रणाली भत्किँदै गरेको सन्दर्भमा चिन्ता छ । प्रधानमन्त्रीबाट हट्नुपर्यो भन्ने कुरामा पनि चिन्ता होइन ।

लोकप्रिय प्रधानमन्त्री मनमोहन अधिकारी जो ९ महिना प्रधानमन्त्री बन्नुभयो, उहाँ नेपाली जनताको जिब्रो जिब्रोमा हुनुहुन्छ, मनमनमा हुनुहुन्छ र मुटुमुटुमा हुनुहुन्छ । त्यसपछि हामीले झन्डै दुईतिहाई ल्याएको कुरा त सदनलाई जानकारी नै छ । त्यस कारणले प्रश्न हामी सरकारबाट हट्दैछौँ, प्रधानमन्त्रीबाट हट्दैछौँ भन्ने कुरा होइन, हामीले कुन विधि अवलम्बन गरिरहेका छौँ भन्ने हो । 

नेकपा एमाले विधिको शासनमा विश्वास गर्छ । संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार शक्ति पृथकीकरण, जनताको बहुदलीय जनवादका अविभाज्य अङ्गहरू हुन् । कसैले कर गरेर, लडाई जित्न नसकेर हारेपछि बाध्य भएर स्वीकार गरेका विषयहरू होइनन् यी, यी त हाम्रा कन्भिक्सनका कुराहरू हुन् । 

जतिसुकै अप्रिय होस्, हामी सम्मानित सर्वोच्च अदालतका फैसलाहरूलाई मान्छौ, ती कुराहरूलाई स्वीकार गर्छौँ । तर हामीलाई चिन्ता लोकतन्त्र अडिएका पिल्लरहरु खलबलिन थाले भन्ने कुरामा छ । लोकतन्त्रका पिलरभित्र एउटा महत्त्वपूर्ण पिलर शक्ति पृथकीकरणको सिद्धान्त अर्थात् नियन्त्रण र सन्तुलन हो । कुनै पनि लोकतान्त्रिक प्रणालीले सर्वोच्च अदालतले सिधै प्रधानमन्त्री तोक्ने कुराको कल्पना गर्दैन, अपेक्षा गर्दैन । 

२०६१ साल जेठमा होला सम्भवतः, माननीय शेरबहादुर देउवा राजाबाट प्रधानमन्त्री नियुक्त हुनुभयो, त्योभन्दा अगाडि २०५९ असोजमा उहाँलाई बर्खास्त गरिएको थियो । त्यतिबेला उहाँले भन्नुभएको कुरा म सम्झन्छु, ‘मैले आज श्री ५ बाट न्याय पाएँ ।’ श्री ५ ले दिनुभएको त्यो न्याय माघ १९ मा गएपछि कहाँ पुग्यो, हामी सबैले देख्यौँ । 

आजको इतिहास, ५ जना श्रीमानहरूबाट माननीय शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको छ । उति बेला श्री ५ अहिले श्रीमान् ५ । त्यसकारण हाम्रो चिन्ता प्रणालीप्रति हो । 

ल एक छिनलाई मानौँ कि प्रतिनिधिसभा विघटन गलत नै थियो । तर त्यतिबेला अदालतले सर्लक्क भकुन्डो ल्याएर ल खेलाडी तिमीहरू नै हौ सत्तापक्ष र प्रतिपक्ष । फलानाले फल गर्‍यो, जहाँबाट फल भएको थियो, त्यहीँबाट पाउडर छर्केर, मार्क लगाएर बल त्यहीँ लगेर फ्रि किक दिनुपर्ने हो कि पेनाल्टी दिनुपर्ने हो, त्यही गर्नुपर्ने होइन र ? तर हाम्रोमा त के भयो भने, रेफ्रीले आफै गोल हानिदिनु भयो, विजेता घोषणा गरिदिनुभयो । चिन्ता यहाँनेर हो । रेफ्रीले हानेको गोलबाट विजयी हुनुभएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप