माओवादी–एमाले संयुक्त पत्रकार सम्मेलन : नारायणकाजी निदाए, माधव नेपाल जाममा परे !
काठमाडौं – राजधानीको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा आज विहिबार साँझ ४ नबज्दै खचाखच भरिईसकेको थियो । माओवादी केन्द्र र नेकपा एमालेका अध्यक्षले संयुक्त रुपमा आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा पत्रकार भन्दा दुई पार्टीका नेता–कार्यकर्ताको उपस्थिति बाक्लो देखिन्थ्यो ।
एमाले नेता केपी ओलीभन्दा केही समय अगाडि नै बानेश्वर पुगिसकेका थिए, माओवादी अध्यक्ष प्रचण्ड । तर पत्रकार सम्मेलन हुने हलमा भने दुवै अध्यक्ष एकैपटक प्रवेश गरेर मजबुद एकताको सन्देश दिए ।
सर्वोच्च अदालतले दुईओटा मत्रपत्र छाप्नेबारे रिट निवेदनले मागेभन्दा पनि अगाडी बढेर ब्याख्या गरेकोमा प्रचण्ड र ओली दुवैले निर्वाचन सार्ने षड्यन्त्रको रुपमा ब्याख्या गरेका छन् । सत्तापक्षको सह महामन्त्रीले सर्वोच्चमा निवेदन दिएको रिट निवेदनले सर्वोच्चको मानहानी भएकोबारे कुरा उठाए पनि अदालतले अन्य कुराको ब्याख्या गरेको भन्दै केपी ओलीले अदालतले ‘झस्काएको’ शब्द प्रयोग गरेका छन् भने प्रचण्डले ‘चिसो पसेको’ भन्दै निर्वाचन सार्न खोजिए संसद ब्युताउने चेतावनी दिए ।
माधव नेपाल ट्राफिक जाममा !
दुई पार्टीका अध्यक्षहरु प्रधानमन्त्री शेर बहादुर देउवालाई घुमाउरो तरिकाबाट निर्वाचन सार्न खोजिए नराम्रो हुने चेतावनी दिँदै गर्दा पूर्व प्रधानमन्त्री माधव नेपाल भने ढिलोगरी आइपुगे । एमाले बरिष्ठ नेता नेपाललाई प्रचण्डले सोधे, ‘तपाई किन ढिलो ?’ नेपालले हाँस्दै भने, ‘जाम थियो !’
एमालेका अर्का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालभन्दा केही ढिलो पत्रकार सम्मेलन स्थलमा पुगेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने निदाइरहेका थिए । माओवादी नेतृ पम्फा भुसालले दुई अध्यक्षले हस्ताक्षर गरेको संयुक्त प्रेस विज्ञप्ति पढ्दा नै निदाएका श्रेष्ठ लगभग सम्मेलन अवधिभर नै निदाइरहेका देखिन्थे । धेरैले सामाजिक सञ्जालमा लाइभ गरेको भिडियोमा कतिपय दर्शकले ‘नारायणकाजी निदाए’ भन्दै कमेन्ट गरेका थिए ।
ओली बोल्दा झड्का
पत्रकार ऋषि धमला र अर्का एक पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै केपी ओलीले लोकतान्त्रिक प्रणालीलाई कसैले बिथोल्न खोजे सह्य नहुने चेतावनी दिँदै थिए ।
त्यस्तैमा एमाले नेता कृष्णगोपाल श्रेष्ठ मञ्चबाट तल झर्दा माइकको तारमा अल्झिए, माइक उछिट्टियो । उछिट्टिएर पर पुगेको माइक सुरक्षाकर्मीले ल्याएर अघिल्तिर राखेपछि एक पत्रकारले भने, ‘माइकले पनि आन्दोलन गरेजस्तो छ ।’
ओलीले ठट्यौली पारामा भनिहाले, ‘यस्तै खालको बिचमा झड्का नहोस् !, जनता सार्वभौम छन्, जनताले विपरित दिशाका प्रयासहरु स्वीकार्दैनन् ।’
भुँईमा पत्रकार, कार्यकर्तालाई कुर्सी
बाम गठबन्धको पत्रकार सम्मेलनमा अधिकांश पत्रकार भुइँमा बसेर रिपोर्टिङ गर्न बाध्य भए । अल्फाबिटाको हलमा भएका अधिकांश कुर्सी एमाले र माओवादीका नेता कार्यकर्ताले कब्जा गरेको सहन नसकेर पत्रकार अशोक दाहालले ब्यंग्य गर्दै भने, ‘भुँईमा बसेर रिपोर्टिङ गर्ने अवसर जुराईदिनुभएकोमा धन्यवाद !’
एमाले नेता कृष्ण गोपाल श्रेष्ठले बाम गठनबन्धका नेता कार्यकर्तालाई पटक–पटक कुर्सी छाड्न आग्रह गरेका थिए ।
संसदको आयु माघ ७ सम्म !
मंसिर १० र २१ गते तोकिएको निर्वाचन प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको सहयोगमा सार्न खोजेको स्पष्ट पार्दै बाम गठबन्धले त्यस्तो भएमा संसद ब्युताउने चेतावनी दिएको छ । ‘सभामुखले संसद स्थगित मात्रै भन्नुभएको छ’ माओवादी अध्यक्ष प्रचण्डले प्रम देउवातर्फ संकेत गर्दै भने, ‘हेक्का रहोस यो संसदको आयु माघ ७ गतेसम्म छ, अहिले मनोनय भैसकेको हुनाले संसद स्थगित गरिएको मात्र हो !’
यसरी सत्ताको बागडोर सम्हालीरहेका शेरबहादुर देउवा र सर्वोच्चको कुर्सीमा बिराजमान न्यायमूर्तिहरुलाई ‘चुनाव सार्ने हिम्मत नगर्न’ चेतावनी दिँदै बाम गठबन्धको पत्रकार सम्मेलन सकियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘किसान र माटोसँग घुलमिल नभई नयाँ नवप्रवर्तन सम्भव छैन’
-
आयोगका सिफारिस कार्यान्वयन नगर्नु मानवअधिकार हनन् हो : थापा
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण