सिनामंगलबाट १ किलो ८६६ ग्राम सुनसहित ३ जना पक्राउ
बुधबार, २० साउन २०७८, २० : ०९

काठमाडौंको सिनामंगलबाट प्रहरीले १ किलो ८ सय ६६ ग्राम सुनसहित ३ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–९ स्थित सिनामंगलमा रहेको मिर्चैया मल्हनिया गेष्ट हाउसबाट सुनसहित ३ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ पर्नेमा भारत घर भएका २४ वर्षीय प्यार मोहम्मद, २७ वर्षीय साकिर अली र २८ वर्षका अब्दुल सतार छन् । गेस्ट हाउसको २०२ नम्बरको कोठामा बसेका भारतीय युवाहरु विदेशबाट भरियामार्फत आएको सुन संकलन गर्ने समूहका सदस्य भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । वैदेशिक रोजगारीबाट फर्कनेहरूलाई विदेशबाट सुन कारोबारीले पठाएको सिल्भर रंगको पोलिस गरेको सुन उनीहरुले संकलन गरेका थिए ।