बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?

बिहीबार, ०७ साउन २०८३, १३ : २७
बिहीबार, ०७ साउन २०८३

सारांश

  • अमेरिका-इरानबीचको सैन्य तनाव, स्ट्रेट अफ होर्मुज र बाब अल-मन्दब जलमार्गमा सुरक्षा संकट तथा तेल ट्याङ्करमाथिको आक्रमणले कच्चा तेलको मूल्य लगातार पाँचौँ दिन बढेको छ ।
  • ब्रेन्ट क्रुडको भाउ प्रति ब्यारेल ९६ डलर ४९ सेन्ट र वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) क्रुडको भाउ प्रति ब्यारेल ८८ डलर ४२ अमेरिकी डलर पुगेको छ ।
  • यमनका हुथी विद्रोहीहरूले बाब अल-मन्दब जलडमरूमध्यमा साउदी अरबको तेल ढुवानी गर्ने जहाजहरूलाई लक्षित गर्दै नयाँ समुद्री नाकाबन्दी सुरु गरेका छन् ।

न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । अमेरिका–इरानबीचको बढ्दो सैन्य तनाव, स्ट्रेट अफ होर्मुज र बाब अल–मन्दब जलमार्गमा सिर्जना भएको सुरक्षा संकट तथा तेल ट्याङ्करमाथि भएका आक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार पाँचौँ दिन पनि बढेको हो । 

अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कच्चा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ कच्चा तेलको मूल्य बिहीबार २ दशमलव ६ प्रतिशतले बढेर प्रति ब्यारेल ९६ डलर ४९ सेन्टमा पुगेको छ । यो मूल्य जुन ८ यताकै उच्च हो । अघिल्लो दिन लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा कारोबार बन्द हुँदा ब्रेन्ट क्रुडको भाउ  मूल्य तीन डलरभन्दा बढीले बढेर ९४ डलर शून्य ७ सेन्टमा पुगेको थियो ।

बिहिबार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) क्रुडको भाउ पनि १ दशमलव ८ प्रतिशतले बढेर प्रति ब्यारेल ८८ डलर ४२ अमेरिकी डलरमा पुगेको छ । 

अघिल्लो दिन डब्लुटीआईको मूल्य तीन प्रतिशतले बढेको थियो । तेल बजारमा मूल्य बढ्नुको मुख्य कारण इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले स्ट्रेट अफ होर्मुज आफ्नो नियन्त्रणमा रहेको र अमेरिकी सैन्य गतिविधि जारी रहेसम्म यो जलमार्ग पूर्ण रूपमा बन्द रहेको दाबी गर्नु हो । आईआरजीसीका अनुसार ओमानको तट नजिक बारुदी सुरुङ राखिएको मार्ग हुँदै जान खोजेको एउटा तेल ट्याङ्करमा विस्फोट भएपछि आगलागी भएको छ भने अन्य दुई ट्याङ्कर फर्किएका छन् ।

आईआरजीसीले इरानसँग समन्वय नगरी कुनै पनि तेल ट्याङ्करलाई स्ट्रेट अफ होर्मुज प्रवेश वा बाहिरिन नदिने चेतावनीसमेत दिएको छ । यद्यपि अमेरिकी सेनाको केन्द्रीय कमाण्डले यसअघि स्ट्रेट अफ होर्मुज अझै अन्तर्राष्ट्रिय जहाजहरूको आवतजावतका लागि खुला रहेको जनाएको थियो । 

यसैबीच इरान समर्थित यमनका हुथी विद्रोहीहरूले बाब अल–मन्दब जलडमरूमध्यमा साउदी अरबको तेल ढुवानी गर्ने जहाजहरूलाई लक्षित गर्दै नयाँ समुद्री नाकाबन्दी सुरु गरेका छन् । हुथीहरूले दुईवटा साउदी तेल ट्याङ्करमाथि आक्रमण गरेको दाबी गरेका छन् । समुद्री सुरक्षा निकायहरूले पनि साउदी झण्डा बोकेको एन्सेलिया नामक तेल ट्याङ्कर लाल सागरमा आक्रमणमा परेको पुष्टि गरेका छन् ।

चेतावनी दिएपछि करिब १० वटा जहाज आफ्नो गन्तव्य परिवर्तन गरेर फर्किएको दाबी हुथीहरूले गरेका छन् । यद्यपि यो दाबी स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको रोयटर्सले समाचारमा भनेको छ । ऊर्जा बजारका विश्लेषकहरूका अनुसार अहिले विश्व तेल बजारले एकै समयमा दुई महत्वपूर्ण समुद्री मार्गमा जोखिम सामना गरिरहेको छ । 

फिलिप नोभाकी वरिष्ठ बजार विश्लेषक प्रियंका सचदेवाले भू–राजनीतिक तनावका कारण तेलको मूल्यमा जोखिम प्रिमियम फेरि बढ्न थालेको बताएकी छन् । उनका अनुसार मूल्य अझै लामो समय उच्च रहनका लागि समुद्री ढुवानीमा निरन्तर अवरोध वा तेल आपूर्तिमा वास्तविक कमी देखिन आवश्यक हुनेछ ।

बाब अल–मन्दब स्टे«टमा सिर्जना भएको नयाँ संकटले प्रतिदिन करिब ५० लाख ब्यारेल तेल आपूर्तिमा असर पार्न सक्ने एमएसटी मार्कीका ऊर्जा अनुसन्धान प्रमुख साउल काभोनिक भन्छन् । यो मार्ग स्ट्रेट अफ होर्मुजलाई वैकल्पिक रूपमा प्रयोग गरिने खाडी क्षेत्रको प्रमुख तेल ढुवानी मार्गमध्ये एक हो ।

 यसैबीच अमेरिकी सेनाले इरानमाथि लगातार १२औँ रात पनि हवाई आक्रमण सम्पन्न गरेको जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुजमा जहाजमाथि प्रत्येक आक्रमण गरे अमेरिकाले इरानका पुल वा विद्युत् केन्द्र ध्वस्त पार्ने चेतावनी दिएपछि क्षेत्रीय तनाव अझ चर्किएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप