शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : विपक्षी गठबन्धनका सांसदहरू होटलमा, सर्वोच्चको निर्णय कुर्दै सत्तापक्ष

मङ्गलबार, २६ साउन २०७८, १३ : ४६
मङ्गलबार, २६ साउन २०७८

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बुधबारका लागि आह्वान भएपछि विपक्षी गठबन्धनका सांसदहरू होटलमा एकीकृत भएका छन् । बुधबार प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने भएपछि विपक्षी गठबन्धनका सांसदहरू होटलमा एकीकृत भएका हुन् । विपक्षी गठबन्धनमा रहेका नेपाली काँग्रेस, माओवादी केन्द्र,जसपा र जनमोर्चा गरी ४१ जना सांसदलाई लुम्बिनी होटल बुद्ध गार्डेनमा राख्न लागिएको हो ।

 माओवादी केन्द्रका सांसदहरू आइतबारदेखि नै कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ३ स्थित राजापानी रिसोर्टमा जम्मा भएका थिए भने जसपाका ३ जना सांसदहरु पनि कपिलवस्तुको अर्को होटलमा बसेका थिए ।

आजदेखि भने सबै सांसदलाई बुद्ध गार्डेनमा एकीकृत गरेर राख्न लागिएको सत्ता गठबन्धनका एक प्रदेश सभा सदस्यले रातोपाटीलाई बताए ।

बुधबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने भएकाले रणनीतिबारे बनाउन विपक्षी ४१ जना सांसद होटलमा एकीकृत भएको ती प्रदेशसभा सदस्यले जानकारी दिए । प्रदेशसभाबाट अविश्वास प्रस्तावको टुङ्गो नलाग्दासम्म गठबन्धनका सांसदहरू होटलमै बस्ने बताइएको छ । सत्तापक्षले सांसदलाई फकाएर आफ्नो पक्षमा पार्न सक्ने आँकलन गर्दै गठबन्धनले सम्पूर्ण सांसदलाई होटलमा राख्ने नीति अख्तियार गरेको हो ।

 दुई हप्ताअघि जसपा सांसद पुर्मती ढेंगा सम्पर्कविहीन भएकी थिइन् भने माओवादी केन्द्रकी सांसद विमला वली हप्ता दिन सम्पर्कविहीन थिइन् । उनले मुख्यमन्त्री शंकर पोखरेलको निवासमा आफूलाई ‘बन्धक’ बनाएर राखेको सार्वजनिक गरेकी थिइन् ।

सर्वोच्च कुर्दै सत्तापक्ष

सत्ता पक्षमा रहेको एमालेको पक्षमा ३८ जना सांसदहरु  रहेका छन् ।  एमालेलाई साथ दिएका जसपा ३ जना मन्त्रीहरूको सांसद पद गुमेपछि एमाले अल्पमतमा रहेको हो ।

संसद्को  विशेष अधिवेशन  भोलि भएपनि विपक्षी गठबन्धनले जस्तो  एमालेले सांसदलाई एकै ठाउँमा  अहिलेसम्म राखेको छैन । तर सबै सांसदहरू सम्पर्कमा रहेको एमालेको भनाइ छ । यद्यपि ३८ मध्ये खासगरी माधव कुमार नेपाल पक्षधरको रूपमा चिनिएका दुई सांसद भने पछिल्ला दिनहरू मौन जस्तै देखिएका छन् ।  सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री बैजनाथ चौधरीले  एमाले संसदीय दलको बैठक भोलि बिहान बस्ने रातोपाटीलाई बताए  । उनले  भने, ‘हाम्रा सांसद सम्पर्कमा रहेका छन् । मुख्यमन्त्री  पनि बुटवल आइसक्नुभएको छ । उहाँहरूले (विपक्षी)जस्तो सांसदलाई हामीले होटलमा राख्नुपर्ने अवस्था छैन ।’ उनले आफूहरूले सर्वोच्चको आदेश कुरिरहेको पनि बताए ।

आज सत्तापक्षकी  एमाले सांसद लिला गिरीले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनवाइ हुँदैछ । त्यो आएपछि थप रणनीति तय गरिने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप