अन्तरवार्ता

‘उपेन्द्र, महन्थ र राजेन्द्र महतो मधेस आन्दोलनका घुसपैठिया हुन्’

​भाग्यनाथ गुप्ता, अध्यक्ष, मधेसी जनअधिकार फोरम (मधेस)

person explore access_timeभदौ २७, २०७८ chat_bubble_outline0

 

नेपाल सद्भावना परिषद्का संस्थापक भाग्यनाथ गुप्ता अझै मधेसका लागि लडिरहेका छन् । सद्भावना परिषद्का संस्थापकमध्येका नेता सायदै सक्रिय राजनीतिमा बाँकी छन् । त्यतिमात्र होइन, सामाजिक संस्थाको रुपमा गठन भएको तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका पनि उनी संस्थापक हुन् । उनी फोरमका वरिष्ठ उपाध्यक्ष थिए । उपेन्द्र यादवसँग १०–११ वर्ष निरन्तर काम गरेका उनी पहिलो मधेस आन्दोलनमा उपेन्द्र यादवले सरकारसँग २२ बुँदे सम्झौता गरेपछि असन्तुष्ट हुँदै मधेसी जनअधिकार फोरम नेपालबाट २०६४ सालमा अलग भए । उनले मधेसी जनअधिकार फोरम (मधेस) गठन गरेर मधेसका मुद्दा उठाउँदै निरन्तर संघर्ष गरिरहेका छन् ।

६७ वर्षीय गुप्ताले इतिहासमा ‘मास्टर्स’ गरेका छन् । मास्टर्स गरेपछि २८ वर्षसम्म उनले क्याम्पसमा पढाए । तर २०७० मा तेस्रो मधेस आन्दोलनमा लागेको भन्दै उनको जागिर गयो । जागिर गए पनि उनी आत्तिएनन्, राजनीतिक संघर्षबाट पछाडि हटेनन् । उनका साथमा पुराना र अनुभवी नेताहरु छन्, उनीहरुले यही अवस्थामा चुनावको राजनीति नगर्ने अठोट लिएका छन् । मधेसले अधिकार नपाएसम्म संघर्ष जारी राख्ने अठोट लिएका भाग्यनाथ गुप्ता एमसीसीको विरोध गर्न आफ्ना नेता तथा कार्यकर्ताका साथ काठमाडौं आएका छन् । प्रस्तुत छ, सोही मौकामा मधेस आन्दोलन, मधेसको मागलगायत समसामयिक राजनीतिक विषयमा उनीसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंशः

लामो अन्तरालमा तपाईं काठमाडौं आउनु भयो, किन ?

हो, झण्डै डेढ वर्षपछि म काठमाडौं आएको छु । हाम्रो गतिविधि प्रायः मधेसमै हुन्छ । मधेसको अधिकार र पहिचानका लागि हामी संघर्ष गरिरहेका छौं । मधेस र देश अलग अलग होइन, एउटै हो । यो देशलाई आफ्नो गुलाम बनाउन अमेरिकाले एमसीसी ल्याएको छ, त्यसको विरोध गर्न हामी काठमाडौं आएका छौं । मधेसी जनता मधेसको मात्र होइन, देशकै रक्षा गर्ने ल्याकत राख्छ । मधेसी जनता बिनाबर्दी नेपाल–भारत सीमा बसेर देशको रक्षा गरिरहेको छ । अहिले एमसीसीका कारण देश संकटमा पर्न लागेको छ । त्यसलाई जोगाउन पनि मधेसी तयार छ, त्यो कुराको सन्देश दिनका लागि हामी काठमाडौँ आएका हौं ।

काठमाडौं एउटा विभेदीकरणको सेन्टर हो भन्ने नजरले मधेस हेरिरहेको छ, जसले गैर मधेसी समुदायलाई अवसरबाट बन्चित गरेको छ । बारम्बार मधेसलाई कमजोर गर्ने षड्यन्त्र गरेको छ । मधेस पहिला २२ जिल्लामा थियो, त्यही समग्र २२ जिल्लाका लागि आन्दोलन भएको थियो ।

मधेसका नाममा राजनीति गर्नेहरु काठमाडौंमै केन्द्रित हुने गरेको समयमा तपाईं भने काठमाडौंसँग दुरी बनाइरहनु भएको देखिन्छ, किन ?

काठमाडौंलाई मधेस चाहिन्छ तर मधेसी चाहिँदैन । मधेसी जनतामाथि काठमाडौंले विभेद गरेको छ तर मधेसमाथि विभेद गरेको छैन । पृथ्वीनारायण शाहले विस्तारवादी तरिकाले नेपाल बनाउनु भयो त्यो बेलादेखि नै मधेसीसँग सामुदायिक विभेद सुरु भएको हो । पृथ्वीनारायण शाहले त्यतिबेला भन्नुभएको थियो कि ‘देशी मधेसी सन्यासीहरुलाई केरुङको बाटो भएर तिब्बत जान नदिनु’ । त्यही बेलादेखि मधेसमाथि विभेद हुँदै आएको हो । काठमाडौंले त्यही बेलादेखि मधेसमाथि घृणा गरिरहेको छ ।

त्यही कारण तपाईं काठमाडौं आउन छाड्नु भएको हो ?

होइन, म त यहीँ पढे लेखेको, हुर्केको मान्छे हुँ । राजनीतिक यहीँ गरेको हुँ । यहीँबाट राजनीतिक सिकेको हुँ । यहाँ नआउने कुरै हुँदैन तर यसपाली अलि बढी नै ग्याप भएको जस्तो मलाई पनि लाग्यो । पहिला म उपेन्द्र यादवबाला मधेसी जनअधिकार फोरम हुँदा अधिकांश समय यहीँ बस्थेँ । ठूलो पार्टी थियो, गतिविधि पनि धेरै हुन्थ्यो । तर अहिले मेरो पार्टी अलि सानो छ । मधेस केन्द्रित आन्दोलन गरेको कारण काठमाडौंको खासै काम पर्दैन, त्यही भएर त्यति आउँदिनँ ।

अर्को कुरा, हाम्रो पार्टी आर्थिक रुपले त्यति सम्पन्न पनि होइन कि पटक पटक बिना काम पनि काठमाडौं आइरहुँ । काठमाडौं आउँदा निकै खर्च हुन्छ त्यो कारण आउने इच्छा भए पनि आउँदिन ।

तपाईं मधेसमा काम गरिरहनु भएको छ, मधेसले काठमाडौंलाई कसरी हेरिरहेको छ ?

काठमाडौं एउटा विभेदीकरणको सेन्टर हो भन्ने नजरले मधेस हेरिरहेको छ, जसले गैर मधेसी समुदायलाई अवसरबाट बन्चित गरेको छ । बारम्बार मधेसलाई कमजोर गर्ने षड्यन्त्र गरेको छ । मधेस पहिला २२ जिल्लामा थियो, त्यही समग्र २२ जिल्लाका लागि आन्दोलन भएको थियो । अहिले काठमाडौंका शासकहरुले त्यसलाई २४ जिल्ला बनाइदिएको छ । पहिला ७५ जिल्ला थियो, अहिले ७७ जिल्ला बनाइदिएको छ । अर्थात् यी जे–जति काम भएको छ, त्यसले मधेसलाई विभाजन र कमजोर गर्ने काम गरेको छ । काठमाडौंले मधेससँग विभेद र घृणा गरेकै हो । र यसका लागि कतै न कतै मधेसवादी दल पनि दोषी देखिन्छन् । मधेसी जनअधिकार फोरमले २०६३–०६४ मा आन्दोलन गरेको थियो । त्यो आन्दोलन एकनाशले गएको भए आज काठमाडौं र मधेसको यस्तो दुरी बढ्ने थिएन तर उपेन्द्र यादवले तत्कालीन शासकसँग २२ बुँदे सम्झौता गरेर काठमाडौंसँग आत्मसमर्पण गर्नुभयो । र आज मधेसको यस्तो हालत भएको छ ।

तपाईं डेढ वर्षपछि काठमाडौं आउनु भयो, तपाईंले काठमाडौंलाई कस्तो पाउनुभयो ?

काठमाडौं अहिले पनि मधेसप्रति त्यति सकारात्मक छैन । तर पहिलाभन्दा अलि केही सुधार भएको छ । मधेस आन्दोलनले नै अलिअलि भए पनि काठमाडौंलाई परिवर्तन हुन बाध्य पारेको छ । नत्र पहिला धोती, मधिसे, काले, भइया भनेर हेप्थ्यो । तर अहिले त्यस्तो छैन । अहिले शासकीय विभेद छ । खस शासकले सिधै मधेससँग विभेद गरिरहेको छ । काठमाडौंमा अधिकार दिन चाहेको छैन । अहिले काठमाडौंवासीले केही नबोले पनि मधेसीहरु आउँदा केही लिनकै लागि आएको हो जस्तो उनीहरुलाई लाग्न थालेको छ । काठमाडौंले मधेसमाथि आफ्नो दाबी गरेको छ तर काठमाडौं पनि मधेसीको हो भन्ने मान्न तयार छैन ।

तपाईं त्यस्तो भन्नुहुन्छ, अहिले जताततै मधेसी देखिन्छन्, मधेसवादी दलले सिंहदरबार कब्जा गरेका छन्, तपाईं हरेक अफिसमा जानुभयो भने मधेसी अनुहार पाउनुहुन्छ, काठमाडौंको हरेक गल्लीमा मधेसीको घर पाउनु हुन्छ अनि काठमाडौंले मधेसलाई केही नदिएको भए यस्तो हुन्थ्यो त ?

हो, यो कुरा म मान्छु । मैले अघि नै भनेको थिएँ कि मधेस आन्दोलनका कारण काठमाडौंको सोचमा केही परिवर्तन आएको छ । घरमा बस्न दिएको छ तर त्यसको मालिक बन्न दिएको छैन । सिंहदरबार पस्न दिएको छ तर त्यसको स्वामित्वबाट अलग राखेको छ । हरेक सरकारी कार्यालयमा मधेसीहरु छन् तर ती मधेसीहरु नोकरी गर्छन्, उनीहरुलाई अधिकार दिएको छैन । मधेसी दललाई किन सरकारमा लिन्छ भने कुरा तपाईंबाट लुकेको छैन । जबजब काँग्रेस, माओवादी केन्द्र र एमालेलाई मधेसी अनुहारको खाँचो पर्छ, उसलाई संख्याको आवश्यकता पर्छ अनिमात्र सरकारमा आउन दिन्छन् नत्र उनीहरुको आफ्नै बहुमत पुगेको छ भने मधेसी दललाई कसैले सोध्दा पनि सोध्दैनन् । त्यसैले काठमाडौंको सोचमा परिवर्तन आएको छैन । मधेसलाई हेर्ने दृष्टिकोण अझै त्यही छ ।

अलिकति भए पनि जसरी मधेसलाई हेर्ने काठमाडौंको नजरिया परिवर्तन भएको छ, त्यसरी नै काठमाडौंलाई हेर्ने मधेसको नजरिया परिवर्तन भएको छ कि छैन ?

होइन, मधेसले अहिले पनि काठमाडौंलाई त्यही नजरले हेरेको छ । काठमाडौंले मधेसलाई विभेद र घृणा गरिरहेकै छ । त्यस कारण मधेसको नजर र सोचमा पनि परिवर्तन आएको छैन । अहिले पनि मधेसीलाई लाग्छ कि हाम्रो अहिलेको अवस्था हुनुको मुख्य दोषी काठमाडौं नै हो । काठमाडौंले विकासबाट बन्चित ग–यो, अधिकारबाट बन्चित ग–यो, शिक्षा, स्वास्थ्य र रोजगारबाट बन्चित ग–यो । त्यही भएर हाम्रो यो अवस्था भएको हो भन्ने बुझाई मधेसको छ । काठमाडौंलाई हेर्ने मधेसको नजरियामा परिवर्तन आएको छैन ।

संघीयता आयो तर कस्तो संघीयता, त्यसलाई कसले स्वीकार गरेको छ ? जबर्जस्ती लादिएको छ, तीन दलका नेताले लादेको हो । आदिवासी जनजाति, मधेसी, मुस्लिम, पिछडिएकाहरुले यो खालको संघीयतालाई स्वीकार गरेको छैन । राज्य पुनःसंरचनाको कुरा गर्ने हो भने त्यसलाई पनि स्वीकार गरिएको छैन । ठाउँ ठाउँमा त्यसको विरोध भइरहेको छ ।

२०७२ मा संविधान आयो, त्यो संविधानमा मधेसलाई अधिकारबाट बन्चित गरेको छ । २२ जिल्लाको मधेसलाई ८ जिल्लामा सीमित गरेको छ । नागरिकताबाट बन्चित गरेको छ । मधेसलाई बन्दुकको नालमाथि राखेर काठमाडौंले संविधान जारी गरेको हो । अहिले पनि मधेसी जनताले संविधानलाई स्वीकार गरेको छैन । त्यसमा संशोधनको माग गर्दै आन्दोलन गरिरहेका छन् । अर्थात्, मधेसमा जेजति भएको छ ती सबै काठमाडौंले गरेको हो भन्ने बुझाई मधेसको छ । अहिले पनि मधेसी जनताले समग्र मधेस एक स्वायत्त प्रदेश आत्मनिर्णयको अधिकारसहित माग गरिरहेको छ, यो माग पूरा भयो भनेमात्र काठमाडौं र मधेसबीचको दुरी घट्न सक्छ ।

तपाईं २०४० देखि निरन्तर मधेसका लागि संघर्ष गर्दै आउनु भएको छ, त्यो बेला मधेसका लागि उठेको माग अझै पूरा भएको छैन त ?

छैन, कुनै माग पूरा भएको छैन । बरु मधेसलाई कमजोर गरेको छ, मधेसलाई विखण्डन गरेको छ तर अधिकार दिएको छैन । आठ जिल्लाको प्रदेश बनेको छ तर आजसम्म त्यसको नाम पनि राख्न सकिएको छैन । देश समावेशी समानुपातिक प्रणालीमा चलिरहेको छैन । निर्वाचन क्षेत्र निर्धारण गर्दा मधेसीलाई कमजोर गरिएको छ । नागरिकताको प्रावधानलाई झन् झन्झटिलो बनाइएको छ । अन्तरिम संविधानमा नागरिकताको प्रावधान के थियो, आज के के भइसक्यो । अर्थात् मधेस झन् गिजोलिएको छ । मधेसलाई कमजोर बनाएको छ । हुँदाहुँदै अहिले मधेस शब्द पनि हराउँदै गइरहेको छ । संसदीय राजनीतिक दलबाट त मधेस शब्दा हराई नै सक्यो, अब देशबाट नै हराउने अवस्था आउँदैछ ।

२०४०/०४१ मा उठेको संघीयता, राज्यपुनःसंरचना, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिकलगायतका कुरा त आएको छ नि, केही नै प्राप्त भएको छैन भनि कसरी भन्नुहुन्छ ?

संघीयता आयो तर कस्तो संघीयता, त्यसलाई कसले स्वीकार गरेको छ ? जबर्जस्ती लादिएको छ, तीन दलका नेताले लादेको हो । आदिवासी जनजाति, मधेसी, मुस्लिम, पिछडिएकाहरुले यो खालको संघीयतालाई स्वीकार गरेको छैन । राज्य पुनःसंरचनाको कुरा गर्ने हो भने त्यसलाई पनि स्वीकार गरिएको छैन । ठाउँ ठाउँमा त्यसको विरोध भइरहेको छ । यो कस्तो धर्मनिरपेक्षता हो । एउटा धर्मलाई दबाउने र अर्को धर्मलाई उठाउने धर्म निरपेक्षता हो । देशमा संघीता नहुँदा क्रिश्चियनहरु औंलामा गन्न सकिन्थ्यो तर अहिले घरघर हुँदैछन् । यो धर्मनिरपेक्षता हो त ? स्थानीय तह बनाइएको छ तर शासन अझै पनि केन्द्रले नै गरेको छ । प्रदेश बनाइएको छ तर अधिकार दिएको छैन । यो कस्तो गणतन्त्र हो ? जनताले पनि अनुभूति गर्नुप–यो नि । यस्तो गणतान्त्रिक देश भयो जहाँ एमसीसीका लागि लडाइँ भइरहेको छ । एकथरीले देश नै अरुलाई सुम्पिदिउँ जस्तो गरिरहेका छन् । विदेशीहरुको चलखेल बढेको छ । नेपाल जहिल्यै स्वतन्त्र राष्ट्र थियो तर अहिले हामी कसैको नियन्त्रणमा छौं जस्तो लाग्न थालेको छ ।

हामीले मधेसलाई जागृत गरेका छौं । मधेसको मुद्दालाई बचाइराखेका छौं । सरकारलाई खबरदारी गरिरहेका छौं । मधेसी जनतालाई चेतना दिइरहेका छौं । हामीले दिने यति हो ।

अहिलेको संविधानमा बुँदागत रुपमा भन्ने हो भने तपाईंलाई कुनकुन कुरामा चित्त बुझेको छैन ?

हामीलाई कुनै कुरामा चित्त बुझेको छैन । संविधान पुनर्लेखन गर्नुपर्छ भनेर हामीले भन्दै आएका छौं । समतामुलक संविधान चाहिन्छ भनेका छौं । राज्य पुनःसंरचना, नागरिकता, भाषा, समावेशी समानुपातिक, अधिकारको बाँडफाँट, प्रशासनिक ढाँचालगायतका कुरामा हामीलाई चित्त बुझेको छैन । भाषा भनेको आत्माको अभिव्यक्ति हो । नेपालीहरु एक अर्कासँग जोडिनका लागि कुन भाषा सजिलो हुन्छ, त्यो भाषा हुनुपर्छ । त्यसका लागि हिन्दी उपयुक्त हुन्छ । हिन्दी भाषा तराई समतल भूमिदेखि हिमालको टुप्पोसम्म बोलिएको छ र सबैले बुझिरहेका छन् । त्यसलाई मान्यता दिनुपर्छ जस्तो लाग्छ ।

तपाईंका यी विचार जसपा, लोसपासँग पनि मिल्छ । सबैका एजेण्डा समान छन्, अनि एक ठाउँ भएर किन संघर्ष गर्नुहुन्न ?

यो कुरा त उहाँहरुलाई सोध्नु होला । एक ठाउँ उभिएर २०६३÷०६४ को मधेस आन्दोलन भएको हो । एउटै ब्यानरमा पूरै मधेस अटाएको थियो । सबैजना एक ठाउँमा थिए तर हुँदाहुँदै मधेस यति टुक्रामा विभाजन भयो कि त्यसलाई सम्हाल्न मुस्किल भयो । मधेसी जनअधिकार फोरमले आन्दोलन गरेको थियो । तर उपेन्द्र यादवले सरकारसँग जबर्जस्ती २२ बुँदे सम्झौता गरेर त्यसलाई खण्डित गर्नुभयो । तमलोपा जन्मियो, त्यो पनि खण्डित भयो । सद्भावना बन्यो, त्यो पनि खण्डित भयो । खण्डखण्डमा मधेसका दल पुगे । पछि फेरि एक ठाउँमा आएका थिए तर अहिले फेरि विभाजन भएको छ । अर्थात् मधेसवादी दलका केही नेताका कारण यो संगठित हुने सम्भावना देख्दिनँ । अहिलेसम्म उहाँहरुले सत्ताको राजनीति गरिरहनु भएको छ । सत्ताका लागि उहाँहरु पटकपटक विभाजनमा जानुभयो । सत्तामा गएपछि विभाजन हुन्छ । सत्ताबाट बाहिरिएपछि क्रान्तिको कुरा गर्छन् ।

२०६४ मा उपेन्द्र यादवबाट तपाईं अलग हुनुभयो, त्यो बेलादेखि तपाईं निरन्तर संघर्ष गरिरहनु भएको छ, तपाईंमार्फत् मधेसले के पायो त ?

हामीले मधेसलाई जागृत गरेका छौं । मधेसको मुद्दालाई बचाइराखेका छौं । सरकारलाई खबरदारी गरिरहेका छौं । मधेसी जनतालाई चेतना दिइरहेका छौं । हामीले दिने यति हो । हामीले सडक बनाउन सक्दैनौं, हामीले मन्दिर बनाउन सक्दैनौं, हामीले प्लेनको टिकट दिन सक्दैनौं, हामीले होटलमा राख्न सक्दैनौं । हामीले रकम बाँड्न सक्दैनौं । हामी जनजागरणमा छौंँ । मधेसको मुद्दा र चेतनालाई अहिलेसम्म जीवन्त राखेका छौं त्यही नै ठूलो कुरा हो ।

अहिले नै हेर्नुस् न, एमसीसीको बारेमा मधेसका कोही पनि बोल्न चाहेका छैनन्, न राजनीतिक दलका नेता बोल्छन्, न कोही बुद्धिजिवीहरु खुलेर धारणा राख्छन् । हामी वीरगञ्जबाट आएर काठमाडौंमा मधेसको प्रतिनिधित्व गरेका छौं । मधेस पनि एमसीसीको विरोधमा छ भन्ने जानकारी काठमाडौंलाई गराएका छौं । हामीले गर्ने यही नै हो । हामी निःस्वार्थ भावले मधेसको सेवामा लागेका छौं, हामीलाई कुनै स्वार्थ छैन । हामी कुनै पदमा जाँदैनौं, हामी चुनावको राजनीतिक गर्दैनौं । हामी मधेसमा जति पनि काम गरेका छौ, कसैसँग एक पैसा लिएका छैनौं । हामीले आफ्नै गोजीबाट खर्च गरेका छौं । यदि हामीले कसैको पैसा लियौं भनि उसको भाषा बोल्नुपर्छ । कसैको खायौँ भने उसको नुनको सोझो गर्नुपर्छ । हामी केवल जनताका लागि काम गरिरहेका छौं । त्यसका हामी कति सफल भयौं, कति असफल भयौं, त्यो मूल्यांकन गर्ने काम जनताको हो । जनताले हामीबाट कति फाइदा लिए, त्यो जनताले मूल्यांकन गर्ने हो । हामी एमसीसीको विरोध गर्न काठमाडौं आउँदा उतैबाट ब्यानर र झण्डा, प्लेकार्ड बनाएर ल्याएका छौं । यदि चाहेको भए यहाँ काठमाडौंमा कसैलाई भनेर बनाउन लगाउन सकिन्थ्यो, तर त्यसो गरेनौं । यदि कसैबाट ब्यानर र झण्डा बनाउन लगाएको भए उसको अनुसार चल्नु पथ्र्यो । त्यसैले हामी निःस्वार्थ भागले सेवा गरिरहेका छौं ।

सिधै भन्नुपर्दा उपेन्द्र यादव र तपाईंमा फरक के छ ?

उहाँ मुद्दाको व्यापार गर्नुहुन्छ, म मुद्दालाई बचाउँछु । उहाँ सत्ताको राजनीति गर्नु हुन्छ, म जनताको बीचमा राजनीति गर्छु । यही फरक छ । यदि त्यस्तो नभएको भए उहाँ पटकपटक पावरमा जानुभयो, मधेसको माग किन पूरा भएन त ? पूरा नहुनुको कारण भनेकै उहाँ मुद्दाको व्यापार गर्नुहुन्छ । उहाँ मधेस आन्दोलनको घुसपैठिया हुनुहुन्छ । पहिलो मधेस आन्दोलन हुँदा म त्यसको संयोजक थिए । मधेसमा आन्दोलन हुँदा उहाँ भारतको पटनामा गएर बस्नु भएको थियो । तपाईं उपेन्द्र यादवलाई गएर नै यो कुरा सोध्नुस् । डरले उहाँ नेपाल आइरहनु भएको थिएन । हामीले आन्दोलन गरिरहेका थियौं । उपेन्द्र यादव को हो भन्ने कसैलाई त्यो बेला थाहा थिएन । आन्दोलन चलिरहेको बेला उहाँ वीरगञ्ज आउँदा मैले नै उहाँको परिचय गराएको थिएँ । मधेसका जिल्लाहरुमा डुलाएको थिएँ । तर रातारात उहाँ सरकारसँग २२ बुँदे सम्झौता गर्न काठमाडौं आउनु भएको थियो । उहाँले सुरुदेखि नै मधेसी जनतालाई धोका दिँदै आउनु भएको छ । दोस्रो मधेस आन्दोलनमा पनि वीरगञ्जबाट हेलिकप्टर चढेर रातारात बालुवाटार गएर आठ बुँदे सम्झौता उहाँले नै गर्नुभएको हो । तेस्रो मधेस आन्दोलन कसरी समाप्त पारियो भन्ने कुरा सबैसँग छर्लङ्गै छ । तर म जहाँ थिएँ, त्यहीँ छु । मधेसका लागि जे गरिरहेको थिएँ, त्यही गरिरहेको छु । मलाई अवसर नआएको होइन, मलाई प्रलोभन नआएको होइन । उपेन्द्र यादव स्वयंले मलाई राष्ट्रपति बनाउने प्रस्ताव गर्नुभएको थियो । उहाँ आफैले नगरे पनि आफ्ना नेताहरूबाट प्रस्ताव राख्नु भएको थियो । केपी शर्मा ओलीदेखि माधवकुमार नेपाल, प्रचण्डदेखि गिरिजाप्रसाद कोइरालासम्मले मलाई पार्टीमा आउन आग्रह गर्नुभएको हो तर म मधेसलाई छाडेर कतै जान सक्दिनँ भनेर बसेँ । पशुपतिमा गएर मधेसका लागि कसम खाएको व्यक्ति हुँ म । मधेसका लागि लड्छु र यही मर्छु भनेर पशुपतिमा गएर कसम खाएको छु । त्यसैले म मधेसको राजनीति छाडेर कहीँ जानेवाला छैन ।

मधेसले अहिलेसम्म जे जति पाएको छ, त्यो उपेन्द्र यादव, महन्थ ठाकुरको कारणले पाएको हो कि भाग्यनाथ गुप्ताका कारणले पाएको हो ?

न भाग्यनाथ गुप्ताका कारणले पाएको हो न उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोका कारणले पाएको हो । मधेसले केही पाएको छ भने त्यो मधेसी जनताका कारणले पाएको हो । मधेसी जनताले आफै आन्दोलन गरेर आफ्नो अधिकार लिएको हो । यसमा कसैले दाबी गर्न मिल्दैन । आफैले आफैलाई मसिहा भनेर हुँदैन । मधेसी जनताले सहादत दिएको छ, त्यसमा ती नेताका कुन छोराछोरीले गोली खाएका छन् ? कुन परिवारका सदस्यले गोली खाएका छन् ? छैन । उनीहरु आन्दोलनका घुसपैठिया हुन् । उपेन्द्र यादव पटनामा बस्दा उहाँलाई महिनाको पाँच सय रुपैयाँ म पठाउँथे । उहाँको आर्थिक अवस्था राम्रो थिएन । घरपरिवारको हालत पनि त्यस्तै थियो । म उहाँको घरमा गएको थिएँ, उहाँको श्रीमतीको अवस्था हेरेको छु । तर आज उपेन्द्र यादवको अवस्था हेर्नुस्, अर्बपति बन्नु भएको छ, कहाँबाट आयो यत्रो सम्पत्ति ? उहाँको बिजनेस के छ ? के उहाँको खेतीपाती छ ? के उहाँ जागिर गर्नुहुन्छ ? छैन भने उहाँसँग यत्रो सम्पत्ति कहाँबाट आयो ? खोजविन गर्नुप–यो । म सुरुदेखि जागिर गरेको मान्छे हुँ । म बेरोजगार कहिल्यै थिइनँ । यही मधेस आन्दोलनमा लागेको कारणले मेरो जागिर गएको हो । म प्राध्यापक थिएँ, तर आन्दोलनमा लागेको भन्दै बर्खास्त ग–यो । अहिलेसम्म पेन्सन दिएको छैन । मुद्दा चलिरहेको छ । जुन मान्छेले उपेन्द्र यादवलाई पालेको थियो, आज त्यो मान्छे कहाँ छ र उपेन्द्र यादव कहाँ छन्, हेर्नुस् !

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।