रुकुम पूर्व पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
रुकुम (पूर्व) लाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै बालबालिकाले पूर्ण रुपमा नियमित खोप पाएपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । बुधबार सिस्ने गाउँपालिकाको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले रुकुम पूर्वलाई पूर्ण खोप जिल्ला घोषणा गरेका हुन् ।
सभामुख घर्तीले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरी आजदेखि जिल्ला पूर्ण खोप सुनिश्चित भएको घोषणा गरेका हुन् । जन्मेदेखि १५ महिनासम्मका एक हजार ३०० बालबालिका र १६ देखि २३ महिनासम्मका ९३४ जना बालबालिकाले पूर्ण रुपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । यसअघि जिल्लाका ३ वटै गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन् ।
तीनवटै पालिकापछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य कार्यालय रुकुम पूर्वका प्रमुख गौरव ढकालले जानकारी दिए । रुकुम पूर्व पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएसँगै लुम्बिनी प्रदेशका १२ वटै जिल्ला पूर्ण खोप सुनिश्चित भएका छन् । यसअघि ११ वटा जिल्लाका सबै बालबालिकाले नियमित खोप पाएपछि पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो ।
अब नेपालमा पूर्ण खोप जिल्ला घोषणा भएको संख्या ६२ पुगेको छ । नेपाललाई पूर्ण खोप सुनिश्चित देश घोषणा गर्ने प्रतिबद्धता अनुसार हालसम्म ६२ जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य सेवा विभागका खोप शाखाका वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार देशका झन्डै ९० प्रतिशत पालिका पूर्ण खोप सुनिश्चित पालिका भएका छन् । बाल मृत्युदर कम गर्नका लागि २०६६ सालदेखि जन्मदेखि २३ महिना सम्मका बालबालिकालाई नियमित खोप लगाउन थालिएको उनले बताए । खोप लगाउन थालेदेखि नेपालमा बाल मृत्यु दरमा पनि निकै कमी आएको श्रेष्ठको भनाइ छ ।
पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रममा प्रदेशसभाका सदस्य तेजबहादुर ओली, स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव विकास देवकोटा, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाका बसन्त श्रेष्ठ, स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका खोप अधिकृत दिवाकर महर्जन, युनिसेफका शिव सुवेदी लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
-
नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक
-
नारायणीमा एक वर्षमा साढे छ किलोमिटर तटबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण