मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘मैले टिकट लिएँ, ज्योतिषीले ग्रहदशा राम्रो छैन भने’

राजनीतिमा नआएको भए प्रधानन्यायाधीश हुन सक्थेँ : पुष्पा भुसाल
शनिबार, ०६ कात्तिक २०७८, १० : २९
शनिबार, ०६ कात्तिक २०७८

पुष्पा भुसाल (गौतम) विद्यार्थी राजनीतिबाट उदाएकी नेपाली काँग्रेसकी नेतृ हुन् । राजनीति पृष्ठभूमिमा हुर्किएकी भुसालले काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गरेकी थिइन् । उनी काँग्रेसको महिला विभाग, ट्रेड युनियन काँंग्रेस र महिला सङ्घको महामन्त्री हुँदै राष्ट्रिय राजनीतिमा होमिएकी हुन् ।

काँग्रेस निकट डीएलएमा १० वर्ष कानुनी सल्लाहकार रहेकी उनी केही समय वकालत पेसामा समेत आबद्ध थिइन् । कानुन क्षेत्र छोडेर पूर्णकालीन राजनीतिमा होमिएकी उनी काँग्रेसको १२ औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा छन् । संसदीय राजनीतिको यात्रामा उतारचढाव भोगेकी उनी यतिबेला काँग्रेस संसदीय दलमा सचेतकको भूमिकामा छिन् ।

काँग्रेसको राजनीतिबाट देशका उच्च ओहदामा पुग्ने लक्ष्य राखेकी भुसालसँग रातोपाटीको ‘मेरो जीवन’ स्तम्भका लागि गरिएको कुराकानी उनकै शब्दमा

मन्त्री पदको आशा

राजनीतिक परिवारमा जन्मिएकाले मैले सानैदेखि राजनीति बुझ्ने, नियाल्ने आवसर पाएँ । सानैबाट नेपाली काँग्रेसको झण्डा बोकियो । बुबा विसं २०१५ मा नेपाली काँग्रेसको गुल्मीबाट निर्वाचित सांसद हुँदै स्वास्थ तथा स्थानीय स्वयत्त मन्त्री हुनुभएको थियो । राजा महेन्द्रले कू गर्दा उहाँ अमेरिका भ्रमणमा हुनुहुन्थ्यो । महेन्द्रको कूका कारण उहाँ अमेरिकाबाट भारत लाग्नुभयो । त्यसैले राजनीतिका कारण सानैमा परिवारसँगै मैले पनि १२, १३ निर्वासमा बस्नुपर्यो । सोही कारण म सानैदेखि स्वतन्त्र र राजनीतिक लडाइँमा होमिएँ । काँग्रेसप्रति समेत लगाव बढ्यो ।

आधिकारिक रूपमा भने २०३६ मा नेपाल ल क्याम्पसको नेविसङ्घबाट राजनीति सुरु गरेँ । त्यसपछि काँग्रेस निकट डीएलएमा १० वर्ष कानुनी सल्लाहकार, महिला विभाग, ट्रेड युनियन काँग्रेस हुँदै नेपाल महिला सङ्घको दुई पटक महामन्त्री चलाएँ । काँग्रेसको १२औँ महाधिवेशनबाट पहिलो पटक केन्द्रीय सदस्य भएको म अहिले पनि केन्द्रीय कार्यसमितिमा छु ।

०५६ मा अर्घाखाँचीबाट पहिलो पटक सांसद् लडेको थिएँ । सो समय पराजित भए पनि ०६४ मा सोही स्थानबाट निर्वाचित भए । २०७० फेरि उक्त ठाउँबाट फेरि पराजित भएपछि पछिल्लो निर्वाचनमा समानुपातिकबाट सांसद बने । अहिले नेपाली काँग्रेसको सचेतकको जिम्मेवारीसमेत बहन गरिरहेकी छु ।

नेपाली काँग्रेसको राजनीतिमा पहिले महिलालाई पछि पारिन्थ्यो । समाजले समेत महिलाको नेतृत्व सजिलै स्वीकार गर्दैन थियो । अहिले कानुनले सहभागिता निश्चित गरेको छ । अब हरेक तहमा महिलालाई नेतृत्वमा स्थापित गर्नतिर लाग्नुपर्छ ।

२०६४ मा चुनाव जितेपछि मैले मन्त्रीको आशा गरेकी थिए तर पाइनँ । मेरो बुझाइमा मन्त्री, सरकार भनेको पावर पोलिटिक्स रहेछ । नेतृत्वमा स्थापित हुन पावर पोलिटिक्समा स्थापित हुनु जरुरी छ । मन्त्री पद भनेको सुख, सुविधा लिन मात्र होइन, म पनि गर्न सक्छु भनेर देखाउन क्याबिनेटमा जानु जरुरी रहेछ । राजनीतिमा आफ्नो नेतृत्व स्थापित गर्ने एउटा महत्त्वपूर्ण बाटो क्याबिनेट पनि हो ।

सीधा भाषण

भाषण विषयवस्तुमा केन्द्रित रहेर सीधा तरिकाले गरेको मन पर्छ । म पनि त्यस्तै गर्छु । त्यसका लागि केहीअगाडि तयारी गर्छु । समय र ठाउँ अनुसार, सकभर सिम्पल, नदोर्याई र नयाँ कुरा दिने र अरूको अलोचना नगरीकन भाषण गर्न रुचाउँछु । कतिपय आफ्नो भाषणको कमिकमजोरी औल्याउँदा रिसाउँछन् । म त खुसी हुन्छु । कमिकमजोरी थाहा पाएपछि सुध्रिन सकिन्छ ।

सपना राज्यको उच्च पदको

राजनीतिमा लामो समय बिताएँ । तीन पटक प्रत्यक्ष चुनाव पनि लडेँ । फेरि पनि इच्छा त छ । हेरौँ के हुन्छ । भोलिको दिनमा महिलाहरू राजनीति आउँदा आफ्नो जित्नसक्ने क्षेत्र बनाएर अगाडि आउनुपर्छ भन्ने बुझाएर त्यहीअनुसारको वातावरण तयार गर्न मन छ । राजनीतिबाट राज्यको उच्च ओहदामा पुगेर राष्ट्रका लागि केही गर्ने सपना छ ।

राजनीतिका दुःख

राजनीतिमा सधैँ सुख खोजेर, पद पाउनुपर्छ भन्ने अपेक्षा राखियो भने सधैँ दुःख महसुस हुन्छ, नत्र हँुदैन । राजनीतिमा अहिले नयाँ दर्शन प्रवेश भएको छ । त्यो हो काम गरेपछि मैले पाउनुपर्छ भन्ने । राजनीतिमा आफ्नो त्यागअनुसारको अधिकारको लडाइँ लडिएन भने प्राप्ति पनि हुँदो रहनेछ ।

खराब बानी

समय म्यानेज नगर्ने, हतारमा सबै काम गर्न पाए हुन्थ्यो भन्ने, सबैतिर आफ्नो प्रभुत्व जमाउन खोज्ने मेरो खराब बानी हो । योबाट म बाहिर निस्कनुपर्छ ।

एरेन्ज म्यारिज

विसं २०४४ मा मैले एरेन्ज म्यारिज गरेकी हुँ । मेरो दुलाह दाइले खोजिदिनु भएको हो । विवाहपछि श्रीमान्सँगै प्रेम बस्यो । त्यो प्रेम अहिले पनि जारी छ । एरेन्ज म्यारिज हाम्रो देशको रीतिरिवाज पनि हो । त्यो बेलाको समय विवाह अगाडि प्रेम गर्ने चलन थिएन । मेरा साथीहरू त धेरै थिए । प्रेम भने कसैसँग भएन ।

तीतो कुरा मन पर्दैन

मन पर्ने खानेकुरा दूध, दही, गुन्द्रुक, तामा र आलुको अचार हो । रोटी तरकारी पनि मन पर्छ । धेरै तीतो कुरो मन पर्दैन । माछा मासु सामान्य खान्छु ।

समयको अभावले पकाउन रुचि भए पनि अहिले भ्याएकी छैन । रेस्टुरेन्ट साथीभाइ, जिल्लाका कार्यकर्ता भेटघाट र मिटिङका लागि पनि गइन्छ । रेस्टुरेन्टको बढी मनपर्ने रोटी तरकारी हो ।

योग गर्छु

फिट्नेसमा सजग छु । घरमा नियमित एक घण्टा वाक र त्यसपछि योग गर्छु । वाकका लागि घरमै सिँढीमा तलमाथि गर्छु भने योगका केही आसन नियमित गर्छु । एक्सरसाइजका लागि पहिले क्लब जन्थेँ, अहिले जान्नँ । घरमा एक्सरसाइजका सामान पनि छन् । तर म प्रयोग गर्दिनँ ।

सारी मनपर्छ

आफूलाई फिट हुने ट्राउजर, कुर्थासुरुवाल मनपर्ने पहिरन हुन् । तर विशेष कार्यक्रम, पार्टी र धेरैजसो समय सारी नै प्रयोग गर्छु । पिङ्क, ब्ल्यक, सेतो र कालो कलरका पहिरन पहिलेदेखि नै मनपर्छ ।

पहिरनको सेटअप मिलाएर लगाउनुपर्छ भन्ने मेरो धारणा पनि हो । पहिरन व्यक्तित्वसँग जोडिएको कुरा भएकाले यसमा हरेकले विशेष ध्यान दिनु आवश्यक छ । म आफू टिपटप भएर हिँड्न रुचाउँछु । पहिरन ब्रान्डेडभन्दा पनि मनपरेको र राम्रो देखिने किन्छु ।

अध्ययन

अध्ययनमा रुचि छ । समय भयो भने पहिले पढेका पुस्तक दोहोर्याएर पनि पढ्छु । पहिले पुस्तकहरू बढी पढ्थेँ । अहिले समयको अभावले लेख, रचना, देशविदेशका समाचार पढ्छु । राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीति, घटनाक्रममा आफूलाई अपडेट राख्छु ।

पढ्न भने बायोग्राफी खालका पुस्तक मनपर्छ । बीपी, इन्दिरा गान्धी, नेसनल मन्डेला लगायतका बायोग्राफी पढ्छु । अरूको बायोग्राफी अध्ययनले जीवनमा अगाडि बढ्ने ऊर्जा मिल्छ ।

घुमघाममा रुचि

घुमघाममा रुचि भए पनि समय अभावका कारण पछिल्लो समय भ्याएकी छैन । सौन्दर्यले भरिएको ठाउँ, ऐतिहासिक सम्पदा, निकुञ्ज, हिमाल घुम्न मनपर्छ । परिवार, साथीभाइ सबैसँग घुम्ने र आन्तरिक पर्यटनमा विकास गर्ने गर्नुपर्छ भन्ने मेरो धारणा छ ।

देशका अधिकांश जिल्ला पुगे पनि पर्यटकीय हिसाबले त्यहाँको प्राकृतिक सौन्दर्य नियालेर रमाउन पाएकी छैन । जति जिल्ला पुगेँ ती धेरैजसो कामको सिलसिलामा पुगेकी हुँ । विदेशका करिब २५ राष्ट्र टेकेँ होला ।

फुर्सद हुँदैन

समस्याको विषय यही नै हो । फुर्सद कहिलै हँुदैन । घर पनि हेर्नुपर्ने, घरभित्रको वातावरण पनि राम्रो बनाउनुपर्ने र बाहिर राजनीतिक जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने भएकाले फुर्सद छँदैछैन । राजनीतिमा भएकाले घरपरिवारलाई भनेजति समय दिन त भ्याउँदिनँ ।

फुटबल खेल्थेँ

खेलकुदमा धेरै ठूलो रुचि त होइन । सानोमा भने फुटबल, ब्याडमिन्टन, भलिबललगायतका धेरै खेल खेल्थेँ । अहिले शारीर र समयले खेल्न दिँदैन । अहिले भनेको हेर्ने हो । फुटबल, क्रिकेट लगायतका खेलका राष्ट्रिय, अन्तर्राष्ट्रिय भ्याएसम्म सबै हेर्छु ।

मोबाइल एउटा बोक्छु

मसँग अहिले सामसुङ ब्रान्डको एउटा मोबाइल छ । त्यसको अलवा ट्याब्लेट पनि बोक्छु । मोबाइल फोनका लागि मात्र प्रयोग गर्छु । सामाजिक सञ्जालदेखि अन्य प्रयोजनका लागि ट्याब्लेट र कम्प्युटर नै प्रयोग गर्छु ।

जिल्लाबाट राजनीतिक कार्यकर्ता, नेता, पत्रकारलगायत धेरैका फोन आउँछन् । फोन उठेन भने गुनासो गर्छन् । त्यसैले मोबाइलमा सामाजिक सञ्जाल चलाउँदिनँ ।

फिल्म हेर्छु

टीभी हेर्छु । टीभीमा कहिलेकाहीँ त फिल्म पनि हेर्छु । सातामा एउटा फिल्म हेर्ने गर्छु । भारतमा हुर्किएको हुनाले फिल्मप्रति रुचि छ । फिल्म नेपाली, हिन्दी र कहिलेकाहीँ अङ्ग्रेजी पनि हेर्छु ।

आर्ट फिल्म, फ्यामिली ड्रामाले भरिएका फिल्म बढी मनपर्छ । पछिल्लो समय हेरेको फिल्म ‘आनन्द’ लगायत केही छन् । समय अभावका कारण हलमा गएर फिल्म हेर्न भ्याउँदिनँ । हलमा फिल्म नहेरेको वर्षांै भयो ।

सङ्गीत मनपर्छ

गीतसङ्गीत मनपर्छ र सुन्छु । पुरानादेखि नयाँ गीतसम्म सबैखालका गीत सङ्गीतलाई महत्त्व दिन्छु । नारायण गोपालदेखि अहिले नयाँ पुस्ताका गायक गायिकाको गीत, लोक गीत, हाम्रो संस्कृति झल्काउने, मनलाई आनन्दित गर्ने गीत सुन्छु । लोकगीत र दोहोरी गीत मेरो फेबरेट पनि हो । हिन्दीमा पुरानादेखि नयाँ, भजन र सङ्गीत मात्र पनि मनपर्छ ।

भूल सुधार्दा व्यक्तित्व बढ्छ

भूलहरू जानेर नजानेर धेरै भएका होलान् । कहिले कसैको मन दुखाउने कुरो, काम पनि भयो होला । त्यो मेरो भूल हो । भूल सुधार्न सकेँभने आफ्नो व्यक्तित्व अझै बढ्थ्यो । कतिपयले म राजनीतिमा आउनु भूल हो भन्छन् । मलाई त्यस्तो लाग्दैन । राजनीतिलाई चुनौती र अवसरको रूपमा लिएकी छु ।

वकालत पेसा छोडेर म राजनीतिमा आएकी हुँ । त्यो नछोडेको भए प्रधानन्यायाधीश पनि हुनसक्थेँ । धेरैले यसै भन्छन् । राजनीतिमा आएर गल्ती गरेजस्तो लाग्दैन । राजनीतिमा नआएको भए प्रधानन्यायाधीश हुनसक्थेँ ।

मापसे

मापसे गर्दिनँ ।

रोग देखियो

पहिले ग्यास्टिकको समस्या थियो । त्यो अहिले छैन । अहिले हल्का कोलेस्ट्रोल, सुगर, प्रेसरका सङ्केत देखिन थालेको छ । त्यसका लागि औषधि खान थालेको छु ।

मेरो राशि ‘धनु’

मेरो राशि ‘धनु’ हो । ग्रहदशामा विश्वास लाग्छ । हेराउने जुराउने पनि कहिलेकाहीँ गर्छु । २०७० को चुनावमा मैले टिकट लिएपछि ज्योतिषीले ग्रहदशा राम्रो छैन, चुनाव नलड्नु भनेका थिए । त्यो समय जित्नुपर्ने स्थानमा म पराजित भएँ । त्यो समयदेखि कहिलेकाहीँ ग्रहदशाले पनि काम गर्छ कि भन्ने लाग्यो ।

मृत्यु जीवनको सत्य

मृत्यु जीवनको सत्य हो । मृत्यु अगाडिको समय सदुपयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ । मृत्यु कुनै पनि बेला हुनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप