बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

खोकु–छिन्ताङका सहिदको सम्झना गरिँदै, ओली सहभागी हुँदै

सोमबार, २९ कात्तिक २०७८, १२ : ०९
सोमबार, २९ कात्तिक २०७८

‘खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा,

मन सबको रुन्छ कि दुःख बिसाउँदा’

किशोर थुलुङको यो चर्चित गीत अहिले पनि छिन्ताङका जनताले घर घरमा गाउँछन्, बजाउँछन् । पञ्चायतकालमा तत्कालीन शासकको बर्बरताको एउटा नमूनाका रुपमा लिइने गरिन्छ खोकु–छिन्ताङ हत्याकाण्ड । प्रजातान्त्रिक आन्दोलनका क्रममा तत्कालीन शासकले बर्बरतापूर्वक गराएको सो हत्याकाण्डमा सहादत प्राप्त गर्नेको स्मरणमा कार्तिक २९ गते अर्थात् आजकै दिनलाई सरकारले सहिद दिवस घोषणासमेत गरेको छ ।

छिन्ताङ हत्याकाण्डका सहिदहरुलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल पौष २८ गते राष्ट्रिय सहिद घोषणा गरेको थियो । २०३६ साल कार्तिक अन्तिम साता छिन्ताङमा तत्कालीन सरकारले १६ जनाको हत्या गराएको थियो । हत्या भएको ३८ वर्षपछि सरकारले ती १६ जनालाई राष्ट्रिय सहिद घोषणा गरेको थियो । छिन्ताङमा हरेक वर्ष कार्तिक २९ गते सहिद दिवस मनाउने गरिन्छ ।

खोकु–छिन्ताङ–आँखिसल्ला हत्याकाण्डका सहिद परिवारले ४० वर्षपछि राज्यको तर्फबाट राहत प्राप्त गरेका थिए । प्रदेश १ सरकारले सहिदभूमि गाउँपालिकाको खोकु–छिन्ताङ्ग र आँखिसल्लामा २०३६ सालमा हत्या गरिएका १६ जनाका परिवारलाई प्रति परिवार पाँच लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको हो ।

तत्कालीन पञ्चायती सरकारले त्यस क्षेत्रका १६ जना सर्वसाधारण नागरिकलाई राजनीतिक आस्थाको आधारमा गोली हानेर निर्मम हत्या गरेको थियो । कम्युनिष्ट पार्टीमा आस्था राखेको आरोपमा खाल्सा क्षेत्रका तीन दिनको सुत्केरीसहित १६ जना सर्वसाधारण नागरिकको हत्या भएको थियो । २०३६ साल कार्तिक २७, २८ र २९ गते भएको सो हत्याकाण्डमा कोहीलाई भीरबाट लडाएर, कोहीलाई गोली हानेर र केहीलाई नदीमा बगाएर हत्या गरिएको थियो ।

प्रजातान्त्रिक आन्दोलनका क्रममा २०३६ साल कार्तिक २६ गते सहिदभूमि गाउँपालिका–१ का पुत्रमान थुलुङ राई, कार्तिक २७ गते सहिभूमि गाउँपालिका–३ का गोपाल आनन्द राई, रणध्वज पुमा राई, लाखमान साधु राई, गम्भीरमान दमाई, टंकबहादुर विश्वकर्मा, धनवीर दर्जी, गंगाबहादुर तुप्रिहाङ राई, चन्द्रबहादुर दर्जी, रामकुमारी राईको हत्या भएको थियो ।

त्यस्तै सोही गाउँपालिका–१ का भैरबबहादुर खालिङ राई, बलबहादुर खत्रीको पनि कार्तिक २७ गते नै हत्या गरिएको थियो । पञ्चायती सरकारले सहिदभूमि गाउँपालिका–६ का केशरमान राई, गणेशबहादुर विश्वकर्मालाई भने कार्तिक २८ गते र सहिदभूमि गाउँपालिका–३ की श्रीमाया राई (हाङखिमा साईली) को कार्तिक २९ गते हत्या गरेको थियो । सहिदभूमि गाउँपालिका–६ का झगेन्द्र राईको भने माघ १८ गते हत्या भएको थियो ।

गाउँपालिकाले दियो सार्वजनिक बिदा

धनकुटाको सहिदभूमि गाउँपालिकाले सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । सहिद दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए ।

गाउँ कार्यपालिकाको शुक्रबार गरेको निर्णय अनुसार छिन्ताङ हत्याकाण्डमा सहादत प्राप्त गरेका सहिदहरूको सम्मान र सम्झनामा मनाइने ४३ औँ सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाले हरेक वर्ष सहिद दिवसमा सार्वजनिक बिदा दिँदै आएको जनाएको छ ।

ओली छिन्ताङ जाँदै

छिन्ताङमा हरेक वर्ष कार्तिक २९ गते सहिद दिवस मनाउने गरिन्छ । सोही कार्यक्रममा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छिन्ताङ जाने भएका छन् । सहिद दिवसको अवसरमा नेकपा एमाले धनकुटा जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन ओली आउने कार्यक्रम रहेको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए ।

ओली  हेलिकप्टरमार्फत सिधै छिन्ताङमा जाने कार्यक्रम छ । यता प्रदेश सरकारले. भने सहिद दिवसको अवसरमा छिन्ताङमा छुट्टै कुनै पनि कार्यक्रम नरहेको जनाएको छ । मुख्यमन्त्री राजेन्द्र राईका स्वकीय सचिव सन्दीप राईले प्रदेश सरकारको तर्फबाट सहिद दिवसको अवसरमा छिन्ताङमा कुनै पनि कार्यक्रम प्रदेश सरकारबाट आयोजना नगरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप