शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनएका तीन उम्मेदवारले भने– संस्थाको विभाजनमा साक्षी बस्न सक्दैनौं

सोमबार, २७ मङ्सिर २०७८, १७ : १९
सोमबार, २७ मङ्सिर २०७८

गैरआवासीय नेपाल संघ (एनआरएनए) का तीन जना उम्मेदवारले निर्वाचनका लागि मात्र गरिने निर्वाचनमा सहभागी हुनु र नहुनुको तात्विक भिन्नता नरहने प्रस्ट पारेका छन् । उनीहरुले वर्तमान अवस्थामा अधिकांश राष्ट्रिय समन्वय परिषदको असन्तुष्टि र विरोध देखिएको भन्दै संघको केन्द्रीय महाधिवेशन तथा निर्वाचन प्रक्रिया स्वाभाविक रुपमा अघि बढ्न नसक्ने ठहरसमेत गरेका छन् ।

एनआरएनएका एशिया प्रशान्त क्षेत्रको संयोजक पदमा उम्मेदवारी दिएका विनोद कुँवर, एशिया प्रशान्त क्षेत्रको उपसंयोजक पदमा उम्मेदवारी दिएका विश्व राई र दिलिप सिंह गुरुङले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरु लामो समयदेखि दुःख गरेको निर्माण गरेको संस्थाको विभाजनमा साक्षी बस्न नसकिने प्रस्ट पारेका छन् । उनीहरुले सबै पक्षलाई समेटेर सहमतिका साथ निर्वाचनको वातावरण बनेमा मात्र निर्वाचन प्रक्रियामा सहभागी हुने पनि जनाएका छन् ।

उनीहरुले विज्ञप्तिमा भनेका छन्, ‘अहिले गैर आवासीय नेपाली संघमा देखिएको डेलिकेट्स चयन लगायतका विवादहरुलाई समाधान गरेर सौहार्द्रपूर्ण रुपमा महाधिवेशनको वातावरण निर्माणका लागि केन्द्रीय नेतृत्व साथै सम्बन्धित सम्पूर्ण व्यक्तिहरुलाई अनुरोध गर्न चाहन्छौं ।’ अहिलेको विवाद समाधान नगरी असमझदारीबीच गरिने निर्वाचनले समाधान दिनुको साटो उल्टै समस्या थप जटिल हुने र संस्था विभाजनसम्मको रेखा कोर्ने उनीहरुको भनाइ छ ।

संस्थाको अधिवेशनको कुनै विकल्प नरहेको र यथाशीघ्र अधिवेशनमार्फत नेतृत्व हस्तान्तरण प्रक्रियामा जानुपर्ने भन्दै उनीहरुले वर्तमान अवस्थामा गर्न खोजिएकोजस्तो एक पक्षीय अधिवेशनको कुनै अर्थ नरहने पनि उनीहरुले प्रस्ट पारेका छन् ।

‘संस्थामा आएको समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान गर्नु नेतृत्वको जिम्मेवारी भएता पनि वर्तमान नेतृत्व र सम्बन्धित साथीहरु मुद्दा मामिलातिर लाग्नु दुःखद् छ र यस्ता कार्यहरुले संस्थालाई अहितमात्र गर्दैन कि भविष्यका लागि नराम्रो नजिर बस्न जान्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसकारण मुद्दा, मामिला, वकिल, अदालततिर लाग्नुभन्दा सम्पूर्ण अग्रज र अभियन्ता साथीहरुलाई समेटेर आन्तरिक संवादमार्फत समाधानको बाटो तत्काल खोजिनु पर्दछ ।’

विभिन्न व्यक्तिवादी स्वार्थका कारण गैर आवासीय नेपाली संघ इतिहासकै सबैभन्दा कठिन र जटिल मोडमा पुगेको भन्दै उनीहरुले संस्थापक अध्यक्षदेखि पूर्व अध्यक्षहरु, संस्थाका सल्लाहकारहरु, स्थापनाकालदेखि नै अनवरत रुपमा लागेका अभियन्ताहरु लगायतको सल्लाह, सुझावलाई ग्रहण नगरी एकलौटी रुपमा नेतृत्व हिँडेका कारण आज यो अवस्था सिर्जना भएको उनीहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप