कम्युनिस्ट पार्टीहरूबिच तत्काल एकता सम्भव छैन : माधव नेपाल
सारांश
- माधव नेपालले तत्काल कम्युनिस्ट पार्टीहरूबीच एकता सम्भव नभएको बताएका छन् ।
- उनले केपी शर्मा ओलीको भनाइ उद्धृत गर्दै एकता अहिले सम्भव नभएको र कार्यकर्तालाई संगठन सुदृढीकरणमा लाग्न निर्देशन दिए ।
- नेता नेपालले पार्टीभित्र लोकतान्त्रिक अभ्यास, सल्लाह र कार्यकर्ताको रुचिलाई ध्यान दिनुपर्नेमा जोड दिए ।
पोखरा । नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधवकुमार नेपालले तत्काल कम्युनिस्ट पार्टीहरू बिचको एकता कल्पना नगर्न सुझाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट एकता नहुने वक्तव्य दिएका कारण एकता अहिले सम्भव नभएको बताएका हुन् ।
पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कम्युनिस्ट पार्टीहरू बिचको एकताबारे भ्रममा नपरी पहिले आफ्नै सङ्गठन सुदृढीकरणमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।
‘अहिले कम्युनिस्ट पार्टीको बिचमा एकता गर्न सम्भव छैन भनेर महामहिम केपी शर्मा ओलीजीले भन्नुभएको छ,’ उनले भने, ‘त्यसैले तत्काल कम्युनिस्ट पार्टीहरूबिच एकता हुन्छ भनेर कसैले पनि कल्पना नगरे हुन्छ । पहिले आफू बलियो बनौँ । हाम्रो पार्टी बलियो भएपछि मात्र अरूमा आशा जाग्छ र ध्यान आकर्षित हुन्छ ।’
नेता नेपालले पार्टीभित्र लोकतान्त्रिक अभ्यास र सल्लाहको वातावरण हुनुपर्नेमा जोड दिए । कमिटीहरू गठन गर्दा कार्यकर्ताहरूको चाहना र रुचिलाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।
‘पहिले–पहिले हामी फारम भराउने गर्थ्यौँ । तपाईंको रुचि भएको क्षेत्र कुन हो भनेर विकल्प रोज्न लगाउँथ्यौँ,’ उनले अघि भने, ‘सकेसम्म पहिलो, नभए दोस्रो–तेस्रो विकल्पको जिम्मेवारी दिँदा कसैको गुनासो रहँदैनथ्यो । अब पनि त्यस्तो गर्नुपर्छ ।’
गण्डकी प्रदेश कमिटीको आकार ठुलो भएको भन्दै ठुलो सङ्गठन भन्दा चुस्त बनाउन उनको सुझाव छ । ‘चीनको केन्द्रीय कमिटीमा थोरै सङ्ख्या छ, तर उनीहरूले ठुलो जनसङ्ख्याको सफल नेतृत्व गरिरहेका छन्,’ नेपालले भने, ‘हामीकहाँ कमिटी मात्र ठुलो बनाउने तर कार्यकर्ताको स्पष्ट तथ्याङ्क र सक्रियता नहुने समस्या छ ।’
नेता नेपालले मार्क्सवाद र क्रान्तिकारी विचारप्रति निष्ठा कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गरे । केही कम्युनिस्ट नेताहरूले वैचारिक धार छाडेर पलायनवादी बाटो रोजेको भन्दै उनले पार्टीभित्र नियमित प्रशिक्षणको आवश्यकता औँल्याए ।
‘हाम्रो पार्टीसँग सिद्धान्त छैन भन्ने भ्रम फैलाउन खोजिएको छ, तर हामी मार्क्सवादी–लेनिनवादी क्रान्तिकारी विचारबाट विचलित हुनु हुँदैन । यसका लागि केन्द्र, प्रदेश र जिल्ला तहसम्म प्रशिक्षण अभियान चलाउनुपर्छ,’ उनले भने । नेपालले जनताका दैनिक समस्याहरूसँग जोडिन उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
-
म्यानमार द्वन्द्वमा मृतकको संख्या एक लाख नाघ्यो
-
लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी
-
रास्वपाका निर्वाचित ९९ केन्द्रीय सदस्य, को कता ?
-
पूर्वाधार विकास, पर्यटन र शिक्षा बागलुङ नगरपालिकाको प्राथमिकतामा
-
कलेजो बिग्रँदा खुट्टामा देखिने यी लक्षणहरूको कहिल्यै गर्नु हुँदैन बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण