बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यका यी हुन् ६ प्रतिस्पर्धी

बिहीबार, २२ पुस २०७८, १५ : २५
बिहीबार, २२ पुस २०७८

सुदूरपश्चिम प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्य पदका लागि तीन सीटमा हुन गइरहेको निर्वाचनमा ६ जना प्रतिस्पर्धी मैदानमा उत्रिएका छन् । यहाँ सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीच तीन सीटका लागि प्रतिस्पर्धा हुन लागेको हो ।

सत्तारुढ गठबन्धनका तर्फबाट तीन सीटका लागि नेपाली काँग्रेसका नारायणदत्त मिश्र, नेकपा माओवादी केन्द्रका जगत पार्की र नेकपा एकीकृत समाजवादी पार्टीका गरिमा शाह उम्मेदवार बनेका छन् । यस्तै, नेकपा एमालेले तीन सीटका लागि डिल्लीराज भट्ट, नरेश कुमार विक र सन्तोष शर्मा थापालाई उम्मेदवार बनाएको छ ।

१. नारायण दत्त मिश्र

नेपाली काँग्रेसको तर्फबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनेका नारायण दत्त मिश्रले २०२८ सालमा नेविसंघबाट राजनीतिक जीवन सुरु गरेका थिए । उनी करिब पाँच दर्जन पटक जेल परेका छन् । २०३२ सालमा ग्य्राजुएसन गरेका उनी कैलालीको जोशीपुर गाउँपालिका–६ को लोखरीमा बसोबास गर्दै आएका छन् । उनी सबै लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा बसेर काम गरे । २०३३ सालमा बीपी नेपाल फर्कदा थुप्रै कार्यक्रममा सरिक भए । २०५४ सालमा पार्टीको तर्फबाट जिल्ला विकास समिति कैलालीको सभापतिमा विजयी भएका उनी २०७० सालको संविधानसभाको चुनावमा ११ सय मतान्तरले पराजित भए । उनले २०४८ सालदेखि हालसम्म नेपाली काँग्रेसको महासमिति सदस्य रही काम गरेका छन् ।

२. जगत पार्की

नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यका उम्मेदवार बनेका जगत पार्कीको घर डडेल्धुरा, आलीताल गाउँपालिका–७, मेलगाजा हो । उनी हाल डडेल्धुरामै बसोबास गर्दै आएका छन् । २०४६ सालमा अनेरास्ववियुबाट राजनीतिमा लागेका पार्की २०५३÷५४ सालमा नेपाल उत्पीडन दलित जातीय मुक्ति समाजको जिल्ला सचिव भएर काम गरेका उनले २०५४ मै संयुक्त जनमोर्चा नेपालको जिल्ला सचिव र ०५७ सालमा जिल्ला अध्यक्ष भएर काम गरे ।

२०५७ मा अखिल नेपाल जनवादी युवा लिगको केन्द्रीय सदस्य, २०५८ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य भएका उनी २०६४ मा नेकपा एकता केन्द्रको केन्द्रीय सदस्य भएर काम गरे । २०६५ मा नेकपा माओवादी र नेकपा एकता केन्द्रबीच पार्टी एकीकरण भई नेकपा माओवादी केन्द्र हुँदा पार्की केन्द्रीय सदस्य नै भए । २०७० सालमा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य हुँदै हाल उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

३. गरिमा शाह

नेकपा एकीकृत समाजवादीका तर्फबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनेकी गरिमा शाहको पुर्ख्यौली घर बाजुरा हो भने उनको जन्म अछामको कालीमाटीस्थित मावली घरमा भएको हो । हाल कैलालीको टीकापुर नगरपालिका–२ मा बसोबास गर्दै आएकी उनी २०४६ सालमा नेकपा एमालेको संगठित सदस्य हुँदै अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको २ कार्यकाल महासचिव बनिन् ।

प्रवासी आन्दोलनमा जोडिएकी शाह २०५४ सालमा पार्टी विभाजन हुँदा पार्टीको राष्ट्रिय परिषदमा रही काम गरिन् । २०५७ सालमा नेपाल फर्के लगत्तै पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको केन्द्रीय सदस्य भएकी उनी सोही संगठनको केन्द्रीय उपाध्यक्ष हुँदै पार्टीको आठौं र नवौं महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य बनिन् ।

२०६४ सालमा कैलाली क्षेत्र नं १ बाट संविधानसभाको चुनावमा पराजित भएकी उनी २०७० मा समानुपातिकबाट संविधानसभा सदस्य बनिन् । संविधान मस्यौदा समितिको सदस्य हुँदै अर्थ समितिको सदस्य भएकी उनी २०७४ सालमा पुनः कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार भए पनि पराजित भइन् । पार्टीमा अन्तरसङ्घर्ष हुँदै पार्टी नै विभाजन हुँदा उनी नेकपा एकीकृत समाजवादीमा लागिन् र केन्द्रीय सचिव तथा सुदूरपश्चिम ईन्चार्ज भएकी छन् । अखिल नेपाल महिला समाजवादीको केन्द्रीय सचिव र प्रशिक्षण विभाग प्रमुख भएर उनले काम गरिरहेकी छन् ।

४. डिल्लीराज भट्ट

सुदूरपश्चिमबाट राष्टियसभा सदस्य पदमा नेकपा एमालेले पुराना बामपन्थी नेता डिल्लीराज भट्टलाई उम्मेदवार बनाएको छ । उनको पुर्ख्यौली घर डोटीको जोरायल गाउँपालिका हो । हाल उनी कैलालीको धनगढी उपमहानगरपालिका–४ मा बसोबास गर्दै आएका छन् ।

उनी २०२६ सालतिर नेपाली काँग्रेसको जिल्ला कार्य समिति सदस्यमा रही काम गर्थे । २०२६ माघ १६ गते सहिद दिवसका दिन उनी गिरफ्तार भए । जेलबाट मुक्त भएपछि उनलाई माला अबिरले स्वागत गरियो । आफूलाई यसरी स्वागत गर्नेमा बामपन्थी पृष्ठभूमि भएका ब्यक्ति रहेको उनी बताउँछन् । तिनै व्यक्ति २०२६ माघ १८ गते आफ्नो घरमा आएर आफूलाई कम्युनिस्ट राजनीतिमा लाग्न प्रस्ताव गरेको उनले बताए ।

उनीबाट प्रभावित भएर २०२८ सालमा आफूले कम्युनिष्ट पार्टीको सदस्यता लिएको उनले बताए । शिक्षण पेसामा रहेका भट्ट २०४७ सालमा नेकपा एमाले पार्टीबाट डोटी जिल्ला कमिटीको संयोजक भएर काम गर्न थाले । पार्टीको पहिलो अधिवेशनबाट उनी डोटी पार्टी कमिटीको उपसचिवमा निर्वाचित भए भने दोस्रो अधिवेशनमा सचिवमा निर्वाचित भए ।

राजनीतिमा सक्रियता बढेपछि उनले शिक्षण पेसाबाट अवकाश लिएर निरन्तर पार्टीको काममा सक्रिय भए । उनी २०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकार हुँदा सुकुम्बासी आयोगको सदस्य भए । २०५६ मा पार्टी विभाजन हुँदा उनले नेकपा एमालेको स्कुलिङ विभागको सदस्य भएर काम गरे । जब माओवादी केन्द्र र नेकपा एमालेबीच एकीरण भयो, उनी सुदूरपश्चिम प्रदेशको अनुशासन आयोगको अध्यक्ष बने । तत्कालीन नेकपा विघटन भएपछि उनले एमाले नै रोजे र अहिले पार्टीको केन्द्रीय सल्लाहकार परिषदको सदस्यमा रहेर काम गरिरहेका छन् ।

५.  नरेश कुमार विक

नेकपा एमालेकै तर्फबाट राष्ट्रियसभा सदस्यका उम्मेदवार बनेका नरेश कुमार विकले नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुमा रहेर लामो समय काम गरेका छन् । पाटन नगरपालिका, बैतडीमा बसोबास गर्दै आएका उनले अनेरास्ववियुमा २ कार्यकाल जिल्ला अध्यक्ष र एक कार्यकाल अखिलकै राष्ट्रिय परिषद सदस्य भएर काम गरेका छन् । त्यस्तै मुक्ति समाज नेपालको जिल्ला अध्यक्ष भएर दुई कार्यकाल र सोही समाजको दुई कार्यकाल केन्द्रीय सदस्य सचिवालयमा रही उनले काम गरेका छन् ।

उनी पार्टीको निर्वाचन क्षेत्रीय कमिटीको अध्यक्ष भए भने ३ कार्यकाल पार्टीको जिल्ला कमिटी सदस्यमा रही काम गरे । पार्टीको अञ्चल कमिटी सदस्य समेत बनिसकेका विक हाल पार्टीको प्रदेश कमिटी सदस्य छन् । उनी ०७७ सालमा भूमि सम्बन्धी समस्या समाधान आयोग बैतडीको अध्यक्ष र २०६७ मा उपेक्षित उत्पीडित वर्ग जिल्ला समन्वय समिती बैतडीको उपाध्यक्षमा दुई कार्यकालसम्म काम गरे । त्यस्तै २०६८ देखि २०७५ सालसम्म पाटन बहुमुखी क्याम्पस बैतडीको सञ्चालक समिति अध्यक्ष पनि उनी रहे । २०७४ सालको स्थानीय तह निर्वाचनमा पाटन नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका उनी पराजित भएका थिए ।

६.  सन्तोष शर्मा थापा

नेकपा एमालेका तर्फबाट राष्ट्रियसभा सदस्यका उम्मेदवार बनेका सन्तोष शर्मा थापाको पुर्ख्यौली घर बाजुरा हो भने हाल उनी धनगढी उपमहानगरपालिका–५, हसनपुरमा बसोबास गर्दै आएकी छन् । २०४५ सालदेखि महिला विकास कार्यालयमा २१ वर्ष काम गरेकी थापा २०४८ सालमा नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध भइन् । कर्मचारी हुँदा नै २०५६÷०५७ सालमा अछामको तत्कालीन चण्डिका गाविसमा उनले आफ्नो भूमिगत नाम छायाँ थापा राखेर पार्टी गतिविधिमा पनि सक्रियता जनाएकी थिइन् ।

२०५३ सालमा भएको नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय सम्मेलनमा सुदूरपश्चिम विकास क्षेत्रबाट उनी महिला प्रतिनिधिमा छनौट भएकी थिइन् । उनले अखिल नेपाल महिला संघको नगर कमिटी, जिल्ला कमिटीमा रहेरसमेत काम गरेकी छन् । पार्टीको महिला विभागको ईन्चार्ज, अन्तर्पार्टी महिला सञ्जालको जिल्ला अध्यक्ष रहेर पनि उनले जिम्मेवारी सम्हालेकी छन् ।

हाल उनी अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य र पार्टीको १० औ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भइ पार्टीको जिम्मेवारीमा रहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप