शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनको मिति घोषणा नगरेसम्म विश्वास गरिहाल्ने अवस्था छैन : शेरबहादुर तामाङ

आइतबार, १६ माघ २०७८, १७ : ०९
आइतबार, १६ माघ २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले सत्ता गठबन्धनले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने भनेर भनेपनि सरकारले निर्वाचनको मिति घोषणा नगरेसम्म विश्वास गरिहाल्ने अवस्था नभएको टिप्पणी गरेका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘सत्तापक्षीय गठबन्धनले जेठभित्र निर्वाचन सम्पन्न गने भन्ने कुरा सुन्यौं, कानूनले के भन्छ भने दलीय गठबन्धनले गरेर निर्णय गरेर हुँदैन । सरकारको मन्त्रिपरिषदले घोषणा गर्नुपर्छ । मन्त्रिपरिषदले निर्णय गरेको छैन । त्यसैले अहिले नै हामी उत्साही हुने अवस्था छैन् । यो सरकार निर्वाचन नगर्ने तर्फ नै उद्धत छ । अहिले पनि कानून संशोधन गर्ने कुरा गठबन्धनले गरेको छ । संविधान र स्थानीय तह ऐनमा कहीँकतै द्विविधा छैन ।’

सत्तापक्षीय गठबन्धनले संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी ऐन बाझिएको भनेर गलत तर्क गरेको पनि उनको आरोप छ । उनले भने, ‘संविधानको धारा २२५ ले स्पष्ट पारेको छ । सरकार पक्षले गलत व्याख्या गरेको छ । वैशाखभित्रै निर्वाचन गर्नुपर्ने थियो । अहिले उहाँहरुले जेठमा गर्ने कुरा गर्नुभएको छ । अब जेठमा नगरेर असोजको कुरा गर्ने पनि खतरा होला । हामी भन्छौं कि वैशाखभित्रै निर्वाचन हुनुपर्छ । सरकारले मिति घोषणा गर्नुपर्छ । सरकारको नेतृत्व काँग्रेसले गरेको छ । गठबन्धनको नाममा काँग्रेसले निर्वाचन सार्ने काम नगरोस् । वैशाखभित्रै निर्वाचन गर्नुपर्छ ।’

उनले निर्वाचनको तयारी गर्न कुनै बाधा नभएको भन्दै बैशाखमै निर्वाचन गराउन सकिने सुनाए । उनले भने, ‘यो सरकारसँग प्रशस्त समय छ । समयको हिसाबले पनि कुनै प्रेसर छैन । हामी त त्यसको माग गरिरहेका छौं । यो संविधानसँग कानून बाझियो भनेर बैशाखबाट जेठमा लैजाने भनेको पनि यो निर्वाचन सार्ने कुरा नै हो । निर्वाचन सारेर निर्वाचनमार्फत आफ्नो जनप्रतिनिधि चयन गर्ने जनताको अधिकार कुण्ठित गर्न मिल्दैन । उहाँहरुले ऐन संशोधन गर्न खोजेको हो भने पार्लियामेन्टमा कसरी आउनुहुन्छ ? संविधानको धारा र स्थानीय तहको ऐन कुनैपनि हालतमा बाझिएको छैन । बाझियो भन्ने कुरा नै निर्वाचन सार्ने कुरा हो ।’ 

सत्तापक्षीय गठबन्धन अझैपनि निर्वाचनको विषयमा शंकाको घेरामा रहेको उनको भनाई छ । उनले भने, ‘गठबन्धनको निर्णयले निर्वाचनको तिथि घोषणा हुँदैन । त्यसैले क्याविनेटले मिति घोषणा गर्नुपर्छ । संसद् चल्न नदिएको होइन, अहिलेको गबठन्धनले नै सार्दै सार्दै आएको छ । सत्तापक्षीय र प्रतिपक्षीबीच वार्ता हुनुपर्छ । हामी सधैं यसको लागि तयार छौं ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप