बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बौद्धमा बरामद ‘युरेनियम’ भारतीय नागरिकले गयाबाट काठमाडौँ ल्याएका थिए

काँग्रेस नेताको बयान–‘३४ करोडको लोभमा फसेँ’
सोमबार, ०९ फागुन २०७८, १३ : २२
सोमबार, ०९ फागुन २०७८

काठमाडौँ । नेपालमा १ वर्षको अवधिमा दोस्रोपटक ‘युरेनियम’​ बरामद गरिएको छ । फागुन २ मा बौद्धस्थित ह्यात रिजेन्सी होटलको पार्किङबाट प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले २ केजी ८ सय ग्राम युरेनियम बरामद गरेका हुन् । सो युरेनियम कारोबारी बारे महानगरीय प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । 

यसअघि २०७७ फागुनमा काठमाडौँ महानगरपालिका–६ बौद्धबाट महानगरीय प्रहरी कार्यालयको टोलीले साढे २ किलो युरेनियम बरामद गरेको थियो ।  बरामद गरिएको बस्तुमा युरेनियमको मात्र कत्ति छ भन्ने यकिन भैसकेको छैन । युरेनियमको मात्रा परीक्षणका लागी खानी तथा भूगर्भ विभागमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । 

युरेनियम कारोबार गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । तिनै ८ जना मध्येका हुन्, भारतको बिहार प्रदेशस्थित गया जिल्ला घर भएका ६३ वर्षीय उपेन्द्र कुमार मिश्र । मिश्रले गयाबाट युरेनियम नेपाल ल्याएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

प्रहरीले पक्राउ गर्नुभन्दा २३ दिनअघि सडक मार्ग हुँदै युरेनियम लिएर काठमाडौँ आएका मिश्र नारायणटार स्थित ‘एसएमजी’ होटलमा बसे । नेपालका एक जना एजेन्टमार्फत मिश्रसँग ललितपुरका काँग्रेस नेता ६० वर्षीय नवराज महतसहित ७ जनासँग सम्पर्क भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

सो युरेनियम प्रतिकिलो ३५ करोडमा बेच्ने गरी डिल गरेको सुराक पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक उपेन्द्र कुमार मिश्र, ललितपुर महानगरपालिका–१४ घर भएका नवराज महत, सिराहा घर भएका गोपीलाल दास, सिन्धुपाल्चोक घर भएका रामकृष्ण लामिछाने र भूपेन्द्र खड्का तथा सिराहाका जिवछ नारायण यादव  छन् । महोत्तरी घर भएका ३८ वर्षीय सुरेन्द्र प्रसाद चौधरी र ४४ वर्षका राजु ठाकुरलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूमाथि रेडियोधर्मी पदार्थ उपयोग तथा नियमन ऐन–२०७७ अनुसार जिल्ला अदालत काठमाडौँबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी मैनालीले बताए ।  आरोपीहरूको बिचमा ४ महिनादेखि सो युरेनियम बारे कुरा भइरहेको थियो । उनीहरूले काठमाडौँका विभिन्न होटलमा त्यसबारे ‘मिटिङ’ गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

काँग्रेस नेताको बयान–लोभमा फसेँ

आरोपीहरूले सो युरेनियम प्रतिकिलो ३५ करोडमा बेच्ने गरी डिल गर्दै थिए । डिल गर्ने मध्येका एक जना थिए, नवराज महत । महत ललितपुर क्षेत्र नम्बर–३ (१) बाट गएको प्रदेश सभाको निर्वाचनमा उम्मेदवार थिए । बा ५ च ८२०९ नम्बरको कार चढेर उनी ह्यात रिजेन्सीको पार्किङमा युरेनियम खोज्ने ग्राहकसँग डिल गर्न पुगेका बेला पक्राउ परेका हुन् । 

उनी र अरू ७ जना कारोबारीलाई युरेनियमको बारेमा कुनै जानकारी थिएन । अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृत भन्छन्–‘युरेनियम र यसको उपयोगिताबारे सबै अनभिज्ञ देखिन्छन्, सबैलाई एउटै कुरा थाहा थियो–बेच्न सकेमा करोडौँ आउँछ ।’ 

भारतबाट युरेनियम लिएर आउने मिश्र र नवराज महतहरूसँग सम्पर्क गराउने एक जना एजेन्ट फरार छन् । युरेनियम बेच्दा जत्ति आउँछ सो रकम बराबर बाँड्ने उनीहरूको बिचमा सहमति थियो । 

‘डिल’ गर्न सिपालु भएको हुनाले काँग्रेस नेता महत सो गिरोहमा जोडिएका हुन् । युरेनियमको उपयोगिता आफूलाई थाहा नभएको बताएका महतले प्रहरीसँग भनेका छन्–‘लोभमा फसेँ ।’ 

पक्राउ गरिएका सबैको भूमिका ग्राहक खोज्ने र डिल गर्ने देखिएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृत भन्छन्–‘करोडौँ कमाउने लोभमा उनीहरूले सो कारोबार गरेको देखिन्छ ।’ 

किन रोजे ह्यातको पार्किङ ? 

कारोबारीहरूले युरेनियम डिल गर्नका लागी ह्यातको पार्किङ रोजेका थिए । किन उनीहरूले सो होटलको पार्किङ रोजे भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरेको छ । 

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ घर भई बुढानीलकण्ठ बस्ने ३४ वर्षीय भूपेन्द्र खड्का एकेडेमी अफ वीर गोर्खा सर्भिसेजका सुरक्षा गार्ड ‘कमाण्डर’ हुन् । उनी चाबहिल भन्दा माथिल्लो क्षेत्रका इन्चार्ज पनि हुन् । ह्यात होटलमा पनि सो कम्पनीले सुरक्षा गार्ड सप्लाई गरिरहेको छ । 

सो कम्पनीको तर्फबाट बौद्ध क्षेत्र हेर्ने भएको हुनाले खड्काले ह्यातको पार्किङलाई सुरक्षित देखे । उनकै योजना अनुसार कारोबारीहरू ह्यातको पार्किङमा युरेनियम बोकेर गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

नेपाल ल्याएपछि केही दिन मिश्रले नारायणटार स्थित ‘एसएमजी’ होटलमा राखेर सिन्धुपाल्चोकका रामकृष्ण लामिछानेलाई राख्न दिएका थिए । मिश्र, रामकृष्ण र भूपेन्द्र बाहेक अरू ५ जना कारोबारीले सो युरेनियम देखेका थिएनन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप