शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटार बैठकको निष्कर्ष : काँग्रेस-एमाले मिलौँ, देशलाई निकास दिऔँ

काँग्रेसले अब वर्तमान गठबन्धनलाई नबोक्ने, नयाँ गठबन्धन बनाउने
बिहीबार, १२ फागुन २०७८, २२ : ४२
बिहीबार, १२ फागुन २०७८

सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच बिहीबार बसेको दुई चरणको बैठकमा ठोस सहमति नभएपनि छलफल सकारात्मक ढंगले अघि बढेको दुवै पक्षका नेताहरूले बताएका छन् । बैठकमा सहभागी नेताका अनुसार देशको गिजोलिएको राजनीतिलाई निकास दिन काँग्रेस र एमाले फेरि एकै ठाउँमा उभिनुपर्ने बेला आएको दुवै पार्टीका नेताहरूले निष्कर्ष निकालेका हुन् । दुई पार्टी मिल्दा संविधान जारी भएको इतिहासलाई स्मरण गर्दै मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्ने विषयमा देखिएको अन्योल हटाउन पनि दुई दलले फेरि सहकार्य गर्नुपर्ने अवस्था आएको निष्कर्ष दुवै दलका नेताहरूले निकालेका छन् । 

बिहीबार साँझ बसेको बैठकमा नेपाली काँग्रेसको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए भने नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ रहेका थिए । बालुवाटारमा दुई पक्षीय छलफलका साथै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच करिब २० मिनेट वान टु वान वार्ता पनि भएको थियो ।

बैठकमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग एमसीसी पारित गर्नका लागि सहयोग मागेका थिए । बैठकमा सहभागी एक नेताले प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै रातोपाटीलाई भने, 'हामी सरकारमा हुँदा होस् या प्रतिपक्षमा बस्दा होस्, एमसीसीबारे हाम्रो धारणा एउटै छ । तपाईंको सरकार हुँदा पनि मेरो कुरा यही नै थियो । अहिले पनि यही छ । यो केवल आर्थिक सहयोगको कुरा मात्र होइन । अन्तर्राष्ट्रिय सम्बन्धको विषय पनि हो । नेपालले यस्तो विषयमा खेल्नु हुँदैन । तर यहाँ फोहोरी खेल भयो । मैले प्रचण्डजीलाई पनि यही कुरा भनेको छु ।'

अब यस्तो राष्ट्रिय महत्त्वका विषयमा काँग्रेस र एमाले एकै ठाउँमा उभिनुपर्ने देउवाको भनाइ थियो । दुई पार्टी नमिल्दा अरुले आफूहरूलाई प्रयोग गरेको भन्दै अब 'मिल्दा पनि काँग्रेस–एमाले मिल्नुपर्ने र लड्दा पनि काँग्रेस–एमाले नै लड्नुपर्ने' कुरा देउवाले राखेका थिए ।  देउवाको भनाइ पछि एमाले अध्यक्ष ओलीले पनि सोही सेरोफेरोमा नै आफ्ना धारणा राखेका थिए ।

यता, अरू काँग्रेस नेताहरूले संसद्मा एमालेको पोजिसनको विषयमा कुरा उठाएका थिए । एमसीसी पारित गर्ने विषयमा काँग्रेस र एमाले एकै ठाउँमा भए पनि अहिलेकै अवस्थामा एमालेले हामी संसदीय प्रक्रियामा सामेल छैनौँ भन्ने तर भोलि मतदानका क्रममा संसद्मा एमाले उपस्थित छ भनेर यो फेल हुने अवस्था आउन सक्ने कुरामा काँग्रेस नेताहरूले चासो व्यक्त गरेका थिए ।

त्यसपछि दुई पार्टीका अध्यक्षबीच छुट्टै वान टु वान छलफल भएको थियो । दुई नेताबीचको छलफलपछि फेरि संयुक्त बैठक बसेको थियो । बैठकमा सहभागी नेताका अनुसार त्यसपछिको छलफल निकै सौहार्दपूर्ण वातावरणमा अघि बढेको थियो । 'छलफलमा यो गठबन्धनलाई अब नबोक्ने र नयाँ गठबन्धन बनाएर अघि जाने कुरामा दुवै पार्टीका नेताहरु सहमत देखिए,' ती नेताले रातोपाटीलाई भने, 'तर कसरी अघि बढ्ने विषयमा चाहिँ ठोस सहमति हुन सकेन । अब भोलि फेरि बैठक बसेर यो विषय टुङ्ग्याउने कुरा भएको छ ।'​

काँग्रेस एमाले एउटै लाइनमा : नेम्वाङ

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पनि नेपाली काँग्रेससँगको छलफल सकारात्मक रुपमा अघि बढेको बताए । नेम्वाङले रातोपाटीसँग कुरा गर्दै एमसीसी पारित गर्ने र संसद् अवरोध खुलाउने विषयमा दुई पार्टी बीचको छलफल सकारात्मक ढङ्गले अघि बढेको जानकारी दिए । 

‘आज साँझ पनि दिउँसो छलफल भएकै विषय आसपास कुराकानी भयो । संसद्को अवरोध खुलाउने र एमसीसी पारित गर्ने विषयमा काँग्रेस र एमालेको एउटै लाइन देखिएको छ,' उनले भने । यद्यपि, आजको बैठकमा ठोस सहमति नभएकाले भोलि बिहान संसद् बैठक अघि बसेर फेरि छलफल गरिने उनले जानकारी दिए ।

यता बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले काँग्रेस–एमालेबीच भएको छलफलमा ठोस निष्कर्ष निस्कन नसकेको बताए ।  कार्कीका अनुसार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई ‘हामी संसद्मा प्रवेश गर्न नसकेको कारण तपाईंलाई पनि थाहा छ, त्यो समस्या निराकरण नभएसम्म संसद्मा आएर आफ्ना विचार राख्न कठिनाइ छ’ भनेका थिए । मन्त्री कार्कीले संसद्लाई व्यवस्थित र प्रभावकारी बनाउन यो वार्ता जारी रहने पनि बताए । सार्वभौम संसद्को गरिमालाई स्थापित गर्न सकेनौँ भने जनतामा नैराश्यता आउन सक्ने भन्दै उनले वार्ता जारी रहने जानकारी दिए । मन्त्री कार्कीले भने, ‘संसद्लाई प्रभावकारी बनाउन, संसद् सञ्चालन गर्न भूमिका निर्वाह गर्नुस् भने प्रधानमन्त्रीले अधिकतम प्रयत्न गरिरहनु भएको छ । तर उहाँहरू (एमाले नेताहरू)ले प्रतिबद्धता जनाउनु भएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप