शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो मृत्युपछि पनि अरूलाई यसरी बचाउन सकिन्छ

शनिबार, २१ फागुन २०७८, १५ : १९
शनिबार, २१ फागुन २०७८

मृत्युपछि मानिसको शरीर खरानी हुने वा माटोमा मिल्ने गर्दछ । तर मृत्यु लगत्तै शरीरका केही अंग अरूलाई दिइएको खण्डमा एउटा मृत शरीरबाट अन्य केही बिरामीले नयाँ जीवन पाउन सक्छन् ।

धर्मभक्त राष्ट्रिय प्रत्योपण केन्द्रका निर्देशक तथा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठ मृत्यु भइसकेपछि खरानी बन्ने अनि माटोमा गल्ने अंगले जीवन र मरणको दोसाँधमा रहेका धेरै मानिसलाई नयाँ जीवन दिएर पुण्य कमाउन सकिने बताउँछन् ।

जब मानिसको मृत्यु हुन्छ, तब सबैभन्दा पहिला मस्तिष्कले काम गर्न छोड्ने विशेषज्ञ डा. श्रेष्ठको भनाइ छ । उनका अनुसार मस्तिष्कको उपचार फेल भएमा अर्थात् मस्तिष्कले गर्ने सम्पूर्ण कार्य बन्द भई रिसिभ अनि रेस्पोन्स गर्न नसकेको अवस्थामा पनि शरीरका अन्य अंगले केही समय काम गरिरहेका हुन्छन् । यसरी मस्तिष्कले काम नगरेको अवस्थामा पनि शरीरका केही अंगले काम गरिरहेको अवस्थालाई मस्तिष्कको मृत्यु अर्थात् ‘ब्रेन डेथ’ भनिने उनले बताए ।

‘ब्रेन डेथ’ भएको केही समयसम्म पनि दुई वटा मिर्गौला, दुई वटा फोक्सो, कलेजो, प्यानक्रियाज, सानो तथा ठूलो आन्द्राले काम गरिरहन्छ । त्यसपछि विस्तारै ती अंगले पनि काम गर्न छाड्ने डा. श्रेष्ठ बताउँछन् ।

मस्तिष्कको मृत्यु भइसकेपछि अन्य अंगले काम गर्न नछाड्दै तिनलाई अरुको शरीरमा प्रत्यारोपण गर्न सकेमा जीवन मरणको दोसाँधमा परेका व्यक्तिले नयाँ जीवन पाउन सक्ने उनले बताए ।

‘ब्रेन डेथ’ भएका मानिसको मृत्युपछि करिब आठ घण्टाभित्र शल्यक्रिया गरी अन्य रोगीलाई अंग प्रत्यारोपण गर्न सकिने डा. श्रेष्ठको भनाइ छ । उनका अनुसार एक जना ‘ब्रेन डेथ’ भएको व्यक्तिबाट आठ जनाले पुनर्जीवन पाउन सक्छन् ।

‘ब्रेन डेथ’ भई मृत्युको नजिक पुगेका मानिसको अंग प्रत्यारोपण गर्न मिल्ने डा. श्रेष्ठको भनाइ छ । नेपालमा वार्षिक रुपमा करिब २२ सय जनासम्मको दुर्घटना हुने गर्छ । जसमा करिब एक हजार जनाको ‘ब्रेन डेथ’ हुने अनुमान गरिएको छ । मस्तिष्कको मृत्यु भएका एक हजार जनामध्ये कम्तीमा २ सय जनाको मात्र मिर्गाैला अरूलाई प्रत्यारोपण गर्न सकेको खण्डमा ४०० जनाको ज्यान जोगाउन सकिने निर्देशक डा. श्रेष्ठको भनाइ छ ।

यस्तै मस्तिष्कको मृत्यु भएका ती दुई सय जनाबाट कम्तीमा अन्य एक हजारलाई विभिन्न अंग दान गरेर जोगाउन सकिने उनले बताए । नेपालको सन्दर्भमा मिर्गौला प्रत्यारोपण गरिँदै आएकोमा पछिल्लो समय कजेलो प्रत्यारोपण पनि भइरहेको उनको भनाइ छ ।

विशेषज्ञ डा.श्रेष्ठका अनुसार प्रत्येक वर्ष तीन हजारभन्दा बढीको मिर्गौला फेल हुने गर्छ । ५५ सय भन्दा धेरैले डायलासिस गर्छन् । यस्तो अवस्था ‘ब्रेन डेथ’ भएका व्यक्तिबाट मिर्गौला प्रत्यारोपण गर्न सकेको खण्डमा डायलासिस गर्नेलाई ठूलो राहत मिल्ने उनको भनाइ छ ।

९९ प्रतिशतमा अंग दानसम्बन्धी जानकारी छैन

नेपालमा मिर्गौला प्रत्यारोपण हुँदै आए पनि अन्य अंग प्रत्यारोपण सम्बन्धमा चेतनाको विस्तार नभएको विशेषज्ञ निर्देशक डा. श्रेष्ठको भनाइ छ । मिर्गौला प्रत्यारोपण झैँ अन्य अंग प्रत्यारोपणलाई पनि प्राथमिकता दिनुपर्ने उनले बताए । समुदायमा अंग दानको महत्त्वबारे जनचेतना फैलाउनुपर्नेमा जोड दिँदै उनले जीवनमा साँच्चै नै पूजनीय कार्य गर्ने हो भने परिवारको कुनै सदस्यको निधन भएको खण्डमा बिना शंका अंगदान गर्ने वातावरण सिर्जना गर्नुपर्ने उनले बताए ।

‘अंगदानको फाइदा समाजमा बुझाउनु पर्छ,’ उनले भने, ‘परिवारका सदस्यको मृत्यु भएमा अंगदान गरेर अरूलाई बचाउन सकिन्छ भन्ने सोचको विकास गर्नुपर्छ ।’

समाजमा अंग दानसम्बन्धी जनचेतना ज्यादँ कम भएकाले मानिसहरुले अंग दानमा इच्छा नदेखाउने गरेको उनले बताए । अंग दान सम्बन्धी चेतना फैलाउन सकेमा नेपाल अंग दानमा आत्मनिर्भर बन्न सक्ने उनको भनाइ छ ।

सरकारले ‘ब्रेन डेथ’सम्बन्धी जनचेनता र अवधारणालाई प्राथमिकतामा राखेर अगाडि बढाउन सकेको खण्डमा मिर्गौला रोगी तथा अन्य रोगीहरुले उपचारकै क्रममा मृत्युको मुखमा पुग्नुपर्ने बाध्यता टर्ने उनले बताए ।

मस्तिष्क मृत्यु भएका दुई जनाले गरे अंगदान

धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म मस्तिष्क मृत्यु भएका दुई जनाको अंग प्रत्यारोपण गरिएको छ । अस्पतालका निर्देशक तथा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. श्रेष्ठका अनुसार मस्तिष्क मृत्यु भएका दुई जनाको मिर्गौला एक जनाको कलेजो अन्य बिरामीलाई प्रत्यारोपण गरिएको हो । प्रत्यारोपण केन्द्रले २०७३ साल वैशाखमा मस्तिष्क मृत्यु भएका दुई जना व्यक्तिबाट मिर्गौला र कलेजो प्रत्यारोपण गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप