बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एमसीसीका शर्त अन्य वैदेशिक सहायताका शर्तभन्दा पारदर्शी छन् : सञ्चारमन्त्री कार्की

शुक्रबार, २७ फागुन २०७८, १५ : २९
शुक्रबार, २७ फागुन २०७८

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीका शर्तहरु अन्य वैदेशिक सहायताको शर्तभन्दा पारदर्शी र खुकुला रहेको दाबी गरेका छन् । शुक्रवार काठमाडौंमा परशुराम सकुन्तला स्मृति सेवा प्रतिष्ठानले आयोजना गरेको सम्मान समारोहमा बोल्दै मन्त्री कार्कीले एमसीसीका शर्तहरु अन्य वैदेशिक सहायताको शर्तभन्दा पारदर्शी र खुकुला रहेको दाबी गरेका हुन् । उनले एमसीसीले नेपालको गरिबी निवारण र दिगो आर्थिक विकासको लक्ष्य राखेको पनि बताए ।

मन्त्री कार्कीले एमसीसी सम्झौता समयमै सम्पन्न गरेर सरकार देश विकास र गरिबी निवारणप्रति गम्भीर छ भन्ने कुराको प्रमाण दिनुपर्ने बताए । उनले गरिबी, पछौटेपन, विभेदजस्ता कुरालाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुराको बारेमा सोच्नुपर्ने बेला आएको बताए ।

मन्त्री कार्कीले भने, ‘एमसीसी राष्ट्रिय हितमा छ । एमसीसी यो मुलुकको गरिबी निवारण र दिगो आर्थिक विकास यसको लक्ष्य छ । यसका सबै शर्तहरु अरु वैदेशिक सहायताका भन्दा पारदर्शी र खुकुला छन् । तथापि पनि यसलाई हामीले यति नेगेटिभिटिजम बढाएर यति नेगेटिभमा गयौँ कि यो त राष्ट्रघातको काम हुनेछ भनेर समाजमा एउटा तस्बिर खडा गर्‍यौं । तर आज करिब करिब नेपाली जनताले निर्वाचित गरेको सार्वभौम संसदले करिब करिब एकमतले पारित गरेको छ । र अब यसलाई समयमै हामीले सम्पन्न गरेर ३१५ किलोमिटर ट्रान्समिसन लाइन, ७७ किलोमिटर सडक थप राष्ट्रिय स्तरको सडक निर्माण गरेर हामी विकासप्रति जिम्मेवार छौँ र यो विकासले, यो अनुदानले मुलुकको गरिबी निवारण र दिगो आर्थिक विकासमा ठूलो महत्व राख्छ भन्ने कुराको जवाफ यो सम्पन्न गरेर दिनुपर्नेछ । अब हामीले गरिबी, पछौटेपन, विभेद छ भन्ने कुरा मात्रै होइन त्यो विभेदलाई कसरी हटाउने भन्ने दिशामा अब हामीले विलम्ब नगरिकन अघि बढ्नुपर्छ ।’

मन्त्री कार्कीले दिगो विकास, सुशासन, सभ्य र समृद्ध नेपाल बनाउने सपनालाई पूरा गरेर अबको पुस्तालाई धनी पुस्ताको रुपमा संसारमा चिनाउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप