बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गुन्गुनाउँदै आए चालीस कटेसी रमाउँला, सोचेका थिएनन् बाटोमै श्रीमती गुमाउँला...

आइतबार, ०६ चैत २०७८, १७ : ५९
आइतबार, ०६ चैत २०७८

गायक हेमन्त रानाको एउटा चर्चित गीत छ, ‘सुन साइली, चालीस कटेसी रमाउँला ।’ देवदह नगरपालिका–३ सूर्यपुरा टोलका ४२ बर्षीय मणिराम पाण्डे तीन बर्ष पछि विदेशबाट आइरहेका थिए, गायक रानाको गीत गुन्गुनाउँदै । उनले विदेशबाटै श्रीमती माया देवी पाण्डेलाई फोन गरेका थिए, ‘म घर आउँदैछु , तिमी मलाई काठमाडौं एयरपोर्टसम्म लिन आउनु ।  त्यसपछि सँगै घर जाउँला ।’ फोनको खबरले हर्षविभोर हुँदै गत फागुन ३० गते माया काठमाडौं हिँडिन् ।

 तर दुर्भाग्य  त्यो हर्ष खुशी, क्षणभरमै रोदन र चित्कारमा परिणत भयो । पूर्व नवलपरासीको देवचुली नगरपालिका प्रगति नगर र लोकाह खोलको बीच सडकमा गाडी दुर्घटना भयो । बुटवल तर्फबाट आउँदै गरेको ना ६ ख १७ २१ नम्वरको ट्रकसँग पाण्डे दम्पत्ति चढेको लु २ ख ४३१९ नम्वरको नाईटबस बस  विहान करिव साढे पाँच बजेतिर एकापसमा ठोक्कियो  । चैत्त २ गते विहानको सो घटनामा श्रीमान पाण्डेसहित बसका सबै यात्रु सकुशल रहे तर श्रीमती मायाले सदाका लागि ज्यान गुमाइन् । जबकि उनीहरु घर पुग्न करिव २ घण्टा मात्र बाँकी थियो ।

   पीडित पाण्डे भन्छन्, ‘डाइभरकै पछाडिको सिटमा हामी बूढाबूढी बसेका थियौं । एक्कासी ट्रक बसमा ठोक्कियो, अगाडि बसेका ड्राईभरलाई केही भएन । मलाई पनि सामान्य धक्का मात्रै लाग्यो । तर सँगै बसेकी मेरी श्रीमतीलाई ताकेरै हाने जस्तो भयो  । उनी मेरो काखमा ढलिन् । भरतपुरको सिएमसी अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरे ।’

  भयो यस्तो विधाताले भन्न लगाए जस्तो

 उनीहरु चढेको बस धादिङको गल्छी भन्ने स्थानमा खान खान रोकियो । पाण्डे दम्पतीले पनि खान खाए । खान खाई सकेपछि ड्राइभरले ढिला गरेकोले श्रीमान पाण्डेले भित्र नियाले । मोबाइलबाट भिडियो खिच्दै भने, ‘ड्राइभर बियर पिएर बसेका छन् । यस्तै हो भने त घर पुराउँदैनन् क्यारे ।’ त्यो भिडियो हेरेका नेकपा एमाले  देवदह नगर कमिटी सचिव तथा मृतकका छिमेकी  विष्णुप्रसाद अर्याल  भन्छन्, ‘गाउँबासी अत्यन्तै मर्माहत भएका छौं, उहाँको मृत्यु भएको होला भनेर अझै पनि पत्यार लाग्न सकेको छैन ।’  अर्का छिमेकी भानुभक्त खनाल  र लक्ष्मण गैरेले यस्तो विरलै घट्ने घटना मध्येको एक भएको बताए ।

 पाण्डेकी १५ बर्षीया कान्छी छोरी  प्रकृति पाण्डे भन्छिन्,‘आमाले काठमाडौं पुग्दा र फर्किदा फोन गर्नु भएको थियो । आमा बाबा सँगै खुशीमा रमाउँला भनेको, खुशी बीच बाटोमै खोसियो ।’ पाण्डेका १८ बर्षीया जेठी छोरी आकृति पाण्डेले प्लस टु पढ्दै छिन् । कक्षा ७ मा पढ्ने १३ बर्षीय छोरा प्रशान्त पाण्डे यतिबेला आमाको काजकिरियाको कुुनोमा छन् ।

 पाण्डे परिवारको पुख्र्यौली घर स्याङ्जाको वालिङ मिर्दीखोला हो  । उनका बाबु आमाहरु २०३५ सालतिरै सुूर्यपुुुरामा बसाइँ सराई गरेका थिए ।  देवदह–८ बङ्गालीटोल निवासी मायासँग मणिराजले  २० बर्ष अघि मागी विवाह गरेका थिए । एक दशक भन्दा बढी समय भारतमा विभिन्न मजदुरी गरेका उनी  पछि खाडी मुुलुकमा पुगे । साउदी, वहराईन कतार गरी खाडी मुुलुकमा १५ बर्ष भन्दा बढी समय बिताए ।

‘१५ बर्ष भन्दा बढी समय विदेशमा बिताए पनि आर्थिक अवस्था सुध्रिन सकेको छैन । कमाइको पैसा श्रीमती, छोरा छोरी पाल्न र पढाउनमै ठिक्क भयो । टिनको छाना भएको सानो घर छ । यही घरवास मात्र जमिन हा,े’   पाण्डे भन्छन्,  ‘चालीस कटेसी रमाउँला.. भन्ने  गीत मेरा लागि जुरेन ।’

फेरि विदेश जाने कि यतै बस्ने  ? भन्ने प्रश्नमा पाण्डेले भने, ‘फेरि नगएर के गरुँ, यी छोरा छोरीलाई हुर्काउनै पर्यो, पढाउनै पर्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप